+
+
Shares

मधेश मुख्यमन्त्री कार्यालयमा सरुवा भएर आएका सहसचिव गौतम भोलिपल्टै राजीनामा दिएर काठमाडौं फिर्ता

उनको राजीनामा स्वीकृत भने भइसकेको छैन । सहसचिवको नियुक्ति, सरुवा, बढुवा र राजीनाको निर्णय केन्द्र सरकारको मन्त्रिपरिषदले गर्ने व्यवस्था छ ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८१ पुष १० गते १०:३७

१० पुस, जनकपुरधाम । केन्द्र सरकारको पर्यटन मन्त्रालय अन्तर्गतको राष्ट्रिय अभिलेखालयबाट सरुवा भएर मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा आएका सहसचिव दामोदर गौतम अचानक राजीनामा पत्र बुझाएर काठमाडौं फर्किएका छन् ।

गत पुस ४ गते मुख्यमन्त्री कार्यालयमा आएका सहसचिव गौतम भोलिपल्ट पुस ५ गते नै प्रमुख सचिव लोकनाथ पौडेललाई राजीनामा पत्र बुझाउँदै फर्किएका हुन् ।

उनले लेखेको राजीनामा पत्र मुख्यमन्त्री कार्यालयमा छ । सो पत्रमा प्रमुख सचिव लोकनाथ पौडेलले तोकसमेत लगाइदिएका छन् ।

उनको राजीनामा सरकारले स्वीकृत भने गरिसकेको छैन । सहसचिवको नियुक्ति, सरुवा, बढुवा र राजीनाको निर्णय केन्द्र सरकारको मन्त्रिपरिषदले गर्ने व्यवस्था छ ।

गत आइतबार बसेको मधेश मन्त्रिपरिषद बैठकले सहसचिव गौतमको पदस्थापन मधेश प्रदेश लोक सेवा आयोग कार्यालय सचिवको रुपमा गरेको छ । तर गौतम पदस्थापन भएको लोक सेवा आयोग कार्यालयमा पनि हाजिर भएका छैनन् ।

किन लेखे राजीनामा पत्र ?

सहसचिव गौतमले प्रमुख सचिव पौडेललाई सम्बोधन गरेको हस्तलिखित राजीनामा पत्रमा स्वास्थ्य प्रतिकुलताको कारण काम गर्न असमर्थ रहेको व्यहोरा उल्लेख छ । ‘…स्वास्थ्य प्रतिकुलताको कारण काम गर्न असमर्थ रहेको हुँदा राजीनामा गरेको हुँ…’ उनले लेखेका छन् । राजीनामा पत्रको तल उनले आफ्नो कर्मचारी संकेत नम्बर पनि उल्लेख गरेर हस्ताक्षर गरेका छन् ।

स्रोतका अनुसार पदस्थापनको विषयमा प्रमुख सचिव पौडेलसँग गौतमको विवाद भएको थियो । मुख्यमन्त्री कार्यालय स्रोतले भन्यो, ‘राजीनामा पत्र लेखेर बुझाउँदा उहाँ तनावमा जस्तो देखिनुहुन्थ्यो । प्रमुख सचिवको व्यवहारले आत्मसम्मानमा ठेस पुगेपछि उहाँले राजीनामा दिएको हुनसक्छ ।’

मुख्यमन्त्री सतिशकुमार सिंह उनको राजीनामाको विषयमा भने अनभिज्ञ छन् । ‘राजीनामाको विषय मलाई थाहा भएन । उहाँ कार्यालयमा आइसकेपछि मलाई प्रदेश लोक सेवा आयोगको सचिवमा पदस्थापन गरिदिन भन्नुभएको थियो । उहाँको इच्छा अनुसार नै आइतबारको क्याबिनेट बैठकबाट पदस्थापनको निर्णय गरेका छौं’ मुख्यमन्त्री सिंहले भने ।

राजीनामाबारे अनलाइनखबरको जिज्ञासामा सहसचिव गौतमले प्रतिक्रिया दिन मानेनन् । उनले यस विषयमा ‘काठमाडौंबाट फर्किएपछि मात्र कुरा गर्ने’ बताए ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?