+
+

नवीना सिलवाल ‘खुइली’को सिरिज ‘फूलमाया’मा सामाजिक विभेदको कथा

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १० गते १२:३४

काठमाडौं । नवीना सिलवाल ‘खुइली’ले आफ्नै निर्माण तथा निर्देशन रहेको वेब सिरिज ‘फूलमाया’को नयाँ एपिसोड ल्याएकी छिन् ।

सामाजिक विषयवस्तुको यो सिरिजको नयाँ एपिसोडमा अन्तरजातीय विवाह गर्दा संघर्षलाई देखाइएको छ । सिरिजकी शीर्ष पात्र फूलमाया विश्वकर्मा समुदायकी हुन्छिन् । उनले कथित उच्च जातको युवकसँग भागेर विवाह गर्दा भोग्नुपरेको जातीय र सामाजिक विभेदलाई यस एपिसोडमा उतारिएको निर्देशक सिलवालले अनलाइनखबरलाई बताइन् । फूलमायाको भूमिका सिलवाल आफैंले गरेकी छिन् ।

यस्तै यो एपिसोडमा महिला समलिङ्गी (लेस्बियन)को प्रेम सम्बन्धलाई पनि प्रस्तुत गरिएको उनले बताइन् । ‘समाजले समलिङ्गी प्रेम सम्बन्धलाई स्वीकारिसकेको पाइँदैन । यसमार्फत प्रेममा उनीहरुले भोग्ने पीडा उजागर गर्ने प्रयास गरेको छु,’ नवीनाले भनिन् ।

कमेडीमा ‘खुइली’ उपनामले चर्चित नवीना सिलवाल लोकदोहोरी गायनमा समेत चर्चित छिन् । थुप्रै दोहोरी गायन र हास्यव्यंग्य सिरियलमा काम गरेकी उनले आफ्नै लेखन तथा निर्देशनमा सामाजिक सिरिज ‘फूलमाया’ निर्माण गरेकी हुन् । यो सिरिज उनकै युट्युब च्यानल ‘नवीना खुइली’बाट सार्वजनिक हुँदै आएको छ ।

‘आफ्नै लेखन, निर्देशनमा सिरिज बनाउने मेरो सपना नै हो । पहिले कमेडी गर्थें, त्यसलाई सबैले रुचाइदिनुभयो । दोहोरी गायनमा पनि रुचाइदिनुभयो,’ उनले भनिन्, ‘सामाजिक विषयमा आफ्नै सोचअनुसारको सिरिज बनाउने सपना पछ्याउँदै जाँदा फूलमाया बनाएको हुँ ।’

नवीनाले ‘फूलमाया’ चरित्रबाट अवार्ड समेत पाइसकेकी छिन् । ‘फूलमाया’मा मुकुन्द थापा, रवि गिरी, विद्या कार्की, नवीना सिलवाल, सरोज दाहाल, मेलिना ठकुरी, आकृति न्यौपाने, रमेश सापकोटा, मीना जिसी, दिनेश तामाङ, राज तामाङ लगायतले अभिनय गरेका छन् । सिरिजमा प्रवेश पोखरेलको छायांकन, सन्दीप चौधरी र पूजा श्रेष्ठको सम्पादन, सुरेश श्रेष्ठको ग्राफिक्स र सुविन सेन्चुरीको पार्श्व संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?