
९ पुस, धनगढी । कैलालीमा सुनचाँदीका गरगहनासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाजुराको बूढीगंगा नगरपालिका-१० बस्ने २५ वर्षीय सुजन शाही र कैलालीको लम्कीचुहा नगरपालिका-४ बस्ने ३४ वर्षीय रम्भा जैशी रहेका छन् ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टका अनुसार उनीहरूको गतिविधि आशंका लागेपछि गरिएको खानतलासीमा ५० ग्रामको चाँदीको सिक्का, पत्थर सहितको हिरा जस्तो देखिने दुईवटा औंठी, एउटा सुनको बेरुवा औंठी, एउटा सुनको सिक्री, सुनकै पानको पात जस्तो सिक्री, एक जोर झुम्का, सुनको एउटा औंठी, खुट्टाको औंलामा लगाउने दुईवटा बिछिया, एउटा नागिनी माला, एक जोर चारकुने टप बरामद भएको हो ।
यसैगरी कानमा लगाउने स्टार भएको एक थान झुम्का, सुनको एक जोर रिङ, सुनको सानो टुक्रा, १३ हजार नगद र एफजेड यमाहा कम्पनीको लुप्र. ०१-००३ प २२९९ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुर, जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टिकापुरको संयुक्त टोलीले बुधबार दिउँसो साढे १२ बजे टीकापुर नगरपालिका-१ बाट दुवै जना पक्राउ परेका छन् ।
स्थानीय गणेशपुर शिविरका २८ वर्षीय धर्मा जैसीको घरमा खाटमा कालो रंगको झोला राखेर बसिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4