+
+

मुगुमा ४० चौंरी मर्नुका कारण अज्ञात, पशु स्वास्थ्यकर्मी पुग्नै चुनौती

चौंरीहरू कति मरे भन्ने यकिन भइसकेको छैन । गाउँलेहरू चौंरी लेकमै छाडेर बेँसी झरेकाले कति चर्न लेक गएर नआएको, केही मरेर नदेखेका पनि होलान्, फेरि यही बेला हिमपात पनि भएको छ । यहाँको वातावरण जटिल हुँदा अहिले केही गर्न नसकिएको स्थानीय बताउँछन् ।

अमृत चिमरिया अमृत चिमरिया
२०८१ पुष १० गते २०:२९

१० पुस, काठमाडौं । चीनसँग सिमाना जोडिएको मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकामा चौंरी मर्न थालेको २४ घण्टा नाघिसकेको छ ।

गाउँपालिकाको वडा नम्बर २ मा पर्ने ‘मुगु’ भन्ने गाउँका चौंरी अज्ञात रोगका कारण मर्न थाले पनि यसको कारण पत्ता लगाउन नसकिएको हो । यस्तै अहिलेसम्म चौंरीहरूको उपचार पनि हुन सकेको छैन ।

स्थानीयवासिन्दाले मुगु बेँसीमा पुगेका स्वास्थ्यकर्मीलाई दिएको जानकारी अनुसार श्वासप्रश्वासमा समस्या देखिने र पहिलो लक्षण देखिएको १२ घण्टाभित्र मर्ने गरेको छ ।

पशु सेवा कार्यालय मुगुका प्रमुख भीमचन्द्र बुढाका अनुसार जिल्ला सदरमुकामबाट गएका पशु स्वास्थ्यकर्मीहरूले मरेका ८ चौंरी भेटिसकेका छन् ।

‘हाम्रो टोलीलाई स्थानीयले ४० बढी मरिसकेको भनेका छन् । हिमपातका कारण पशु स्वास्थ्यकर्मीको टोली अहिलेसम्म माथि पुग्न सकेको छैन,’ बुढाले अनलाइनखबरसँग भने ।

‘मुगुको सदरमुकाम गमगढीबाट ९ जनाको पशु स्वास्थ्यकर्मी टोली गएकोमा २ जना हिमपातको कारण फर्केका छन भने ७ जना लेक जाने प्रयास गर्दैछन्,’ उनले भने ।

बुढाका अनुसार अहिलेसम्म आएको जानकारीमा चौंरीहरू माथि लेकमा चर्न गएका कारण उतै पनि धेरै मरेको हुन सक्छ । मुगुको सबैभन्दा धेरै चौंरी हुने क्षेत्र नै मुगुम कार्मारोङ हो ।

बुढाले उक्त क्षेत्रमा करिब ५ सय चौंरी रहेको अनुमान स्थानीयले गरे पनि जीवित र मरेको अवस्थाबारे भन्न नसक्ने बताए ।

‘चौंरीहरू कति मरे भन्ने यकिन भइसकेको छैन । गाउँलेहरू चौंरी लेकमै छाडेर बेँसी झरेकाले कति चर्न लेक गएर नआएको, केही मरेर नदेखेका पनि होलान्, फेरि यही बेला हिमपात पनि भएको छ । यहाँको  वातावरण जटिल हुँदा अहिले केही गर्न सकिएको छैन,’ बुढाले भने ।

निमोनिया अनुमान

जिल्ला पशु अस्पताल प्रमुख समेत रहेका बुढाका अनुसार मुगु जिल्लामै पहिलो पटक यस्तो घटना  भएको हो । ‘यहाँका चौंरी अलिअलि चिसोका कारण, लडेर मर्ने घटना त हुन्थे तर यसरी रोग नै लागेको थाहा थिएन । मृत चौंरीको अवस्था हेर्दा ‘एचएस’ र निमोनिया जस्तो देखिन्छ,’ उनले भने ।

ल्याब परीक्षणका लागि मृत चौंरीको  र्‍याल, रगत लगायत संकलन गरिएको उनले बताए ।

‘ल्याब रिपोर्टका लागि सम्भव हुनेसम्म  नमुना संकलन गरेर पठाएका छौं । रिपोर्ट नआइ यकिन भन्न सकिँदैन,’ बुढाले भने, ‘नाकबाट रगत निस्किने, शरीर फुट्ने, रगत सहितको दिसा पाइएको छ ।’

ह्याजिमा हुँदै चीनबाट रोग आएको शंका छ : अध्यक्ष लामा

मुगुम कार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङदेम्बे लामाले चीनबाट चौंरीलाई लाग्ने रोग आएको शंका गरे ।

‘चीनमा २/३ वर्ष अगाडि यस्तै भएको सुनिएको थियो । अहिले मुगु गाउँ र चीन जोडिएको सिमाना खुला जस्तै छ । हाम्रो यताका चौंरी उता चरेर पनि आउन सक्छ । ह्याजिमा भन्ने नाका जस्तै स्थान छ । त्यहाँबाट चौंरी क्रस गरेर आउजाउ गर्दा सरेको हुन सक्छ,’ उनले भने ।

अध्यक्ष लामाका अनुसार चीन तिब्बतको ढोड्वा काउन्टी (जिल्ला) अन्तर्गत ह्याजिमा नाका र मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका जोडिएको छ । जुन ‘ओपन बोर्डर’ झैं छ ।

‘अहिलेसम्म मुगुमा यसरी चौंरी मरेका थिएनन् । अहिले चिसो लागेर भन्दा पनि रोगकै कारण मरेको देखिन्छ,’ लामाले भने ।

‘गाउँमा चौंरी छोप्ने मान्छे छैनन्’

गाउँपालिका अध्यक्ष लामाले अहिले हिउँद लागेकाले गाउँमा चौंरी छोप्ने (समात्ने) मान्छे नहुँदा अहिले चौंरीको अवस्था अज्ञात छ । ‘हिउँदमा लेकमा चौंरी छाडा चराउने हो, गोठालो राखेर हेर्ने चलन हुँदैन । अहिले मुगु गाउँमा कोही मान्छे छैनन्, हुनेखाने काठमाडौं झरेका छन्, कोही सदरमुकाममा छन् । कोही बेँसी झरेका छन्,’ लामाले भने ।

उनले कसको कति चौंरी छ भन्ने समेत थाहा नभए पनि चौंरी ठूलो संख्यामा मरेको खबर पाएपछि स्थानीयलाई लेकमा जान भनेको उनले बताए ।

‘स्थानीय अगुवालाई लेकमा युवा गएर भेटेनेरी डाक्टरलाई सहयोग गर्न भनेका छौं । तर, अहिले गाउँमा कोही नहुँदा चौंरी छोपेर रोग परीक्षण गर्न समेत सकेको छैन,’ उनले भने ।

लामाका अनुसार प्रत्येक वर्ष हिउँदमा मुगु गाउँमा मान्छे नै बस्दैनन् । चौंरी छाडेर आउने गरिएको हुन्छ । हिउँद सकेर जाँदा आ–आफने चौंरीलाई लगाइएको पहिचान गोठ अनुसार पत्ता लगाउने गरिन्छ । आयको प्रमुख स्रोत  चौंरी मर्दा स्थानीय मर्कामा परेको गाउँपालिका अध्यक्ष लामाले बताए ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?