+

धेरै तनाव, चाँडै बुढ्यौली  

२०८१ पुष  ११ गते १३:५६ २०८१ पुष ११ गते १३:५६
धेरै तनाव, चाँडै बुढ्यौली  

हरेक वर्ष जन्मदिन मनाइरहँदा कति उमेर भयो भनेर याद गराउँछ । कति उमेर भयो भन्नुको अर्थ कति बूढो भइयो भन्ने हो ।

अंक गणितले मात्र होइन, हाम्रो छालाले पनि बुढ्यौली महसुस गराइरहेको हुन्छ । यो एक प्राकृतिक प्रक्रिया हो । जति उमेर बढ्यो त्यति बुढयौली लक्षण देखाउँछ । यी बुढ्यौलीको लक्षण देखिएको कसैलाई पनि मनपर्दैन होला ।

उमेरले मात्र होइन, जीवनशैलीका कारणले पनि बुढ्यौलीका लक्षण छिटो देखा पर्छन् । जसमध्ये एक प्रमुख कारण हो, तनाव ।

कसरी ?

मस्तिष्क र छालाबीच विशेष सम्बन्ध हुन्छ, जसलाई चिकित्सकीय भाषामा ‘न्युरोक्युटेनियस एक्सिस’ भन्ने गरिन्छ । यस्तोमा कुनै कुराको तनाव हुने बित्तिकै मस्तिष्कमा भएको हाइपोथलामस पिट्युटरी ग्रन्थीबाट संकेतसँगै कोर्टिसोल र एड्रिनालिन रसायनको उत्पादनमा वृद्धि गर्छ ।

यी रसायनले शरीरको प्रतिरोध कोषलाई उत्तेजित पार्ने गर्छ । जसले छाला सुन्नाउने, खटिरा आउने र चिलाउने जस्ता समस्या पैदा गरी केही न केही समस्या दिनहुँ ल्याउँछ ।

यससँगै लामो समयसम्म तनाव भइरहेमा शरीरमा ‘अक्सिडिएटिभ स्ट्रेस’  पैदा हुन्छ । शरीरसँग क्षति भएको कोष बनाउने संयन्त्र हुन्छ । अक्सिडिएटिभ स्ट्रेसले क्षति भएको कोष र तन्तुलाई मर्मत गर्ने ती संयन्त्रलाई असन्तुलित बनाउँछ । जसले फ्री र्‍याडिकलहरु बढी उत्पादन गर्छ । फलस्वरुप यसले छालालाई प्रत्यक्ष असर गर्छ । कोष, प्रोटिन र डीएनएलाई उत्तेजित पार्छ, जसले छाला चिलाउने, सुन्निने, संक्रमण हुने र घाउ भए ढिलो निको हुने समस्या आउँछ ।

चिल्लो निकाल्ने ग्रन्थीहरुले बढी चिल्लोपना निकालेर डण्डीफोर बढाउने गर्छ । एड्रिनालिनले रगत प्रवाहमा गडबडी ल्याउँछ र छाला सुक्खा देखिन्छ।

छालामा कोलाजन र इलासटिन भन्ने तन्तु हुन्छन्, जसले छालालाई कसिलो बनाइराख्छ । तनाव हर्मोनले ती तन्तुलाई पनि टुक्राउँछ । छाला झोलिने, खुकुलो हुने र चाउरी पर्ने सम्भावना बढाउँछ ।

त्यसैले जो तनावपूर्ण वातावरणमा बसेको छ, उसको अनुहारमा चमक कम हुन्छ । उनीहरु उमेर भन्दा पाको नै देखिन्छन् । तनावले छालाको रक्तसञ्चार कम गराई सुक्खा र पाको देखाउँछ ।

तनावले मात्र छाला होइन, कपालमा पनि असर गर्छ । लामो समयसम्म तनावमा रहँदा उमेर नपुग्दै कपाल झर्ने र फुल्ने समस्या तीव्र हुन्छ । यद्यपि, तनावलाई नियन्त्रण ल्याउन सक्यो भने पुनः छाला स्वस्थ हुँदै आउँछ । त्यसैले तनावलाई जति सक्दो चाँडो व्यवस्थापन गर्नुपर्छ ।

तनाव व्यवस्थापनका उपाय

योग र ध्यान जस्ता विधिलाई दैनिकी बनाउन सकियो भने तनाव कम हुनसक्छ । यसले रक्तसञ्चार सुधार गरी छालालाई कसिलो बनाउन सहयोग गर्छ ।

समय व्यवस्थापन गर्न नसक्दा पनि तनाव बढ्छ । उठ्ने, खाने, बस्ने र दिनभर गर्ने कामको सही तालिका बनाएर पनि तनाव घटाउन सकिन्छ । तनाव कम गर्न मनपर्ने गतिविधि पहिल्याउन सक्नुपर्छ । संगीत, चित्रकला वा कुनै रुचिको कामले मनलाई शान्त राख्छ ।

बुढ्यौलीको लक्षण छिटो देखाउने तनाव मात्र एक्लो कारण होइन । गलत खानपान, वंशाणुगत, छालाको हेरचाह भएन भने पनि छिटो छाला चाउरी पर्छ ।

खानपान : पोषणको कमीले छालामा चाउरी छिटो पर्छ । त्यस्तै, पर्याप्त पानी पिउने बानी छैन भने पनि छालाले पोषण पाउँदैन । जसले छाला फुस्रो हुने, फुट्ने र घाउ खटिरा आइरहने समस्या हुन्छ ।

वंशाणुगत प्रभाव : पारिवारिक इतिहासले पनि छालाको बुढ्यौलीमा भूमिका खेल्छ ।

छालाको स्याहारमा लापरवाही : प्रदूषण, सूर्यको विकिरणमा लगातार बस्ने र सरसफाइमा ध्यान नदिनुले पनि छालामा खराबी ल्याउँछ । फलस्वरुप छिटो बूढो देखिन्छ ।

उमेरसँगै आएको बुढयौली प्रक्रिया सुस्त बनाउन सकिन्छ ?

३० वर्ष उमेर पार गरेपछि हड्डीहरु पनि विस्तारै खिइन सुरु गर्छन् । यस्तोमा हड्डीमा जोडिएको तन्तुको संख्या घट्दै जान्छ । हड्डीले पनि बिस्तारै छालाको ठाउँ छाड्दै जाने र तन्तुहरु पनि क्षति हुँदै जान्छन् । जसकारण अनुहार पहिलेको भन्दा दिनानुदिन चाउरिएको देखिन्छ ।

उमेरसँगै छालामा आउने परिवर्तनलाई रोक्न नसकिने भए पनि यसलाई ढिलोचाँडो देखिने बनाउन भने हाम्रो जीवनशैली र स्याहारसुसारमा निर्भर रहन्छ । फाइबर, भिटामिनयुक्त, एन्टी-अक्सिडेन्ट खानेकुरा खाने, पर्याप्त सुत्ने, रक्तसञ्चार बढाउन व्यायाम गर्ने र पर्याप्त पानी पिउने बानी बसालेमा छाला स्वस्थ बनाउन सकिन्छ । एन्टी-अक्सिडेन्टयुक्त खानेकुराले शरीरमा हुने विषाक्त पदार्थलाई हटाएर छालालाई स्वस्थ राख्छ ।

त्यस्तै, छालालाई असर पार्ने बाह्य तत्व, सूर्यको विकिरणबाट बच्न घाममा धेरै समय नबस्ने, दिनको दुईपटक सनस्क्रिन लगाउने, मोइस्चराइजर लगाउने, प्रदूषणबाट बच्ने र सरसफाइमा ध्यान दिनुपर्छ ।

डा. मोहन भुसाल तनाव बुढ्यौली

धेरै कमेन्ट गरिएका

डा. मोहन भुसाल
लेखक
डा. मोहन भुसाल
छाला, यौन तथा सौन्दर्य विशेषज्ञ

डा. भुसाल काठमाडौंस्थित नेपाल मेडिकल कलेजमा कार्यरत छन् । उनी मिराकल स्किन एण्ड हेयर क्लिनिकका संस्थापक निर्देशक पनि हुन् । छाला तथा यौन रोगमा एमडी गरेका उनीसँग फेसियल एस्ठेटिक र कपाल प्रत्यारोपणको फेलोसिप छ । डा. भुसालको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर १३०७१ हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय