काठमाडौं । नर्भिक इन्टरनेसनल अस्पतालमा टाउकोको पानी जम्ने समस्याको शल्यक्रिया गर्न ‘प्रोगामेबल शन्ट सिस्टम’ उपचार विधि सुरु गरिएको छ ।
टाउकोमा पानी जम्ने समस्या भएकाहरुलाई शन्ट शल्यक्रियामार्फत् पातलो पाइप टाउको पछाडिबाट छालामुनि हुँदै पेटमा लगेर पानी सोसाउने गरिन्छ । कहिलेकाहीं जति पानी निस्कनुपर्ने हो निस्कँदैन या पानी बढ्दै जाने हुन्छ । यस्ता बिरामीलाई पुनः शल्यक्रिया गर्नुको साटो छाला बाहिरबाटै टाउकोको पानीलाई नियन्त्रण गर्ने (बढी गर्ने या कम गर्ने) ‘प्रोग्रामेबल शन्ट सिस्टम’ विधिबाट नर्भिकमा उपचार सुरु भएको हो ।
अस्पतालका सिनियर कन्सल्टेन्ट न्युरोसर्जन प्रा. डा. राजीव झा नेतृत्वको टोलीले हालै यो शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो । ‘अहिलेसम्म यो समस्याको उपचारका लागि बिरामीहरु विदेश जानुपर्ने बाध्यता थियो,’ डा. झाले भने, ‘टाउकोको पानी बग्ने समस्यामा पटक–पटक पाइप फेर्ने झन्झटबाट मुक्तिका लागि प्रोगामेबल शन्ट सिस्टम सुरु गरेका हौं ।’
यो विधिअनुसार उपचार गर्दा पुनः शल्यक्रिया गर्नु नपर्ने र शन्ट सर्जरीका क्रममा राखिएका पाइपलाई पनि फेर्नु नपर्ने उनले बताए ।
के कारणले जम्छ टाउकोमा पानी ?
टाउकोमा पानी जम्ने समस्यालाई हाइड्रोसेफालस भनिन्छ । जन्मजात मष्तिष्कको समस्या अर्थात् कन्जनाइटल हाइड्रोसेफालस, टाउकोमा मेनिन्जाइटिस इन्सेफलाइटिसजस्ता संक्रमण, टाउकोमा चोटपटक लागेर (पोस्ट ट्रमाटिक हाइड्रोसेफालस), ब्रेन हेमरेज तथा ब्रेन ट्युमरजस्ता कारणले टाउकोमा पानी जम्न सक्छ ।
ट्युमरका कारण पानी जमेको छ भने ट्युमर निकालिसकेपछि पानी आफैं बग्छ ।
प्रतिक्रिया 4