११ पुस, काठमाडौं । स्थानीय स्तरमा फुटबलको प्रवर्द्धन र नयाँ प्रतिभाको पहिचानका लागि प्याब्सन बुढानिलकण्ठ र हिमालयन शेर्पा क्लब बीच ग्रासरुट फुटबल कार्यक्रम संचालन गर्न औपचारिक सम्झौता भएको छ।
सम्झौताअनुसार, बुढानिलकण्ठ नगरपालिकाभित्रका विद्यालयका बालबालिकालाई लक्षित गरी फुटबल प्रशिक्षण कार्यक्रमहरू संचालन गरिनेछ। यस पहलले स्थानीय प्रतिभाहरूलाई पहिचान गरी उनीहरूको खेलकुद कौशललाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ।
त्यसैगरी बालबालिकाहरूमा फुटबल खेलप्रति रुचि र सहभागिता बढाउने, विद्यालयस्तरमा फुटबल प्रशिक्षण कार्यक्रममार्फत युवा प्रतिभाको पहिचान र विकास गर्ने तथा आवश्यक खेल सामग्री र प्राविधिक सहयोग प्रदान गर्दै फुटबल संरचना सुदृढ बनाउने मुख्य उद्देश्यहरू भएको बताइएको छ ।
हिमालयन शेर्पा क्लबले अनुभवी प्रशिक्षकहरू उपलब्ध गराउनुका साथै स्थानीय समुदायमा प्रशिक्षक निकाल्न मद्दत गर्नेछ भने प्याब्सन बुढानिलकण्ठले नगरपालिकाभित्रका विद्यालयहरूमा कार्यक्रम संचालन गर्न समन्वय गर्नेछ । बालबालिकाहरूको खेलको स्तर वृद्धि गर्न विभिन्न प्रतिस्पर्धा र विकासमूलक गतिविधिहरूको आयोजना संयुक्त रूपमा गरिनेछ ।
प्याब्सन बुढानिलकण्ठका अध्यक्ष राधेश्याम श्रेष्ठले यो कार्यक्रम बालबालिकाको समग्र व्यक्तित्व विकास र समुदायमा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न महत्वपूर्ण हुने बताए ।
हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाले यस साझेदारीमार्फत नयाँ प्रतिभा पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको प्रतिक्रिया दिए ।
यस कार्यक्रमले स्थानीय स्तरमा फुटबलको विकास मात्र नभएर समुदायमा खेलकुदको महत्वलाई अझ प्रष्ट बनाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया 4