
काठमाडौं । सन् २०२४ गायक सुशान्त केसीको लागि फलदायी वर्ष रह्यो । उनको सांगीतिक व्यवस्थापन कम्पनी ग्यारेज इन्टरटेनमेन्टले शुक्रबार विज्ञप्ति जारी गर्दै पछिल्लो वर्षका उपलब्धिबारे चर्चा गरेको छ ।
विज्ञप्तिमा सुशान्तलाई सन् २०२४ कै सर्वाधिक स्ट्रिमिङ हुने नेपाली संगीतकर्मीको रुपमा चिनाइएको छ । ‘आर एण्ड बी, पप र परम्परागत नेपाली लोक तत्वको निर्वाध मिश्रणको साथ, सुशान्तले डिजिटल प्लाटफर्ममा रेकर्ड–ब्रेक सफलता हासिल गर्दै नेपाली संगीतको विश्वव्यापी धारणालाई पुनः परिभाषित गर्नुभएको छ,’ विवरणमा भनिएको छ ।
सन् २०२४ मा स्पोटीफाइमा सुशान्तलाई १७६ मुलुकबाट ४४ मिलियन पटक सुनिएको उल्लेख छ । ‘यो उपलब्धिले नेपालको सबैभन्दा धेरै स्ट्रिम गरिएको कलाकारको रूपमा उनको हैसियतलाई पुष्टि गर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय मञ्चमा नेपाली संगीतको बढ्दो प्रभावलाई यसले प्रकाश पार्छ ।’
सुशान्तलाई युट्युबमा सब्सक्राइब गर्नेको संख्या २० लाख नाघेको र ५३ करोड ५० लाख पटक हेरिएको जनाइएको छ ।
‘आमा, साथी, र रिसाउने भए’जस्ता गीतले सामूहिक रूपमा लाखौं भ्युज जम्मा गरेका छन्, जसले च्यानललाई विश्वभरका संगीतप्रेमीहरूको लागि भ्रमण गर्नैपर्ने गन्तव्य बनाएको जनाइएको छ ।
सुशान्तको पछिल्लो गीत ‘बार्दली’ सन् २०२४ कै सांस्कृतिक परिघटना बनेको जनाइएको छ । यो गीतलाई रिलिजको पहिलो महिनामै दुई करोड पटक हेरिएको उल्लेख छ । यो गीतबाट झण्डै १० लाख टिकटक भिडियो बनेको जनाइएको छ ।
‘यो कीर्तिमानले सबै उमेर र सांस्कृतिक पृष्ठभूमिका दर्शकसँग प्रतिध्वनि गर्ने सुशान्तको क्षमतालाई प्रमाणित गर्छ । साथै, विश्वव्यापी नेपाली आइकनको रूपमा आफ्नो विरासतलाई थप बलियो बनाउँछ,’ ग्यारेजले भनेको छ ।
न्युयोर्कको टाइम्स स्क्वायरस्थित प्यालेडियम हलमा आयोजित ‘उडी उडी’ वर्ल्ड टुरले उनको कलालाई विश्वभरका दर्शकमाझ पुर्याएको जनाइएको छ । एकल उपलब्धिबाहेक सुशान्तले उदयीमान प्रतिभालाई उकास्ने कार्यलाई सन् २०२४ मा जारी राखेको समेत जनाइएको छ ।
‘द भ्वाइस अफ नेपाल किड्स’ रियालिटी शोका प्रशिक्षकका रूपमा उनले आफ्नो ज्ञान बाँडेका छन्, नयाँ पुस्ताका संगीतकारहरूलाई प्रेरित गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘नयाँ प्रोजेक्ट, सहकार्य र योजनासहित सुशान्त सन् २०२५ मा अझ ठूलो सफलता हासिल गर्न तयार छन् ।’
प्रतिक्रिया 4