+

जाडोमा बढ्छ दमको समस्या

२०८१ पुष  १२ गते १७:५३ २०८१ पुष १२ गते १७:५३
जाडोमा बढ्छ दमको समस्या

दम श्वासप्रश्वाससँग सम्बन्धित समस्या हो । दमलाई रोग भन्दा पनि एउटा लक्षणको रूपमा लिन सकिन्छ । यो समस्यामा श्वासनली वा वरिपरिको जोडिएको खण्ड सुन्निन्छ । जसकारण फोक्सोमा हावा जान कठिनाइ हुन्छ ।

जतिखेर एलर्जी उत्पन्न गर्ने कारक तत्त्व एलर्जन्स र अप्ठ्यारो उत्पन्न गर्ने तत्त्व इरिटेटस श्वासनलीको सम्पर्कमा आउँछन् । त्यसपछि सास फेर्न समस्या हुन थाल्नु नै दम हो । श्वासप्रश्वासको समस्याबाट मुख्यतः दुई प्रकारको दम हुन्छ, सीओपीडी (दीर्घ दमरोग) र ब्रोन्कियल आस्थामा (दमखोकी) ।

दमको कारण

दमको कारण फरक-फरक हुन्छ । सबैभन्दा बढी मात्रामा देखिने सीओपीडी दमको कारण धुम्रपान र वायु प्रदूषण हो । वंशाणुगत जोखिम र वातावरणीय प्रभावले दमखोकी हुने सम्भावना बढी हुन्छ । सामान्यता परिवारका कुनै सदस्यलाई दम छ भने अरूलाई पनि देखिन सक्छ । वातावरणीय प्रदूषणलाई पनि दम हुने कारण मानिन्छ । धुवाँधुलो र विभिन्न औषधि (जस्तै- एस्पिरिन) पनि दमका कारक हुन् ।

दम भइसकेकालाई घरभित्र एलर्जी गराउने (उपियाँ, उडुस, साङ्ला, कार्पेट वा सिरकको धुलो, धुवाँ, घरपालुवा जनावरका रौं आदि) कुराले झन् समस्या निम्त्याउँछ । यसैगरी धुम्रपान, वातावरणीय प्रदूषण र तनावले पनि दम बढाउँछ ।

लक्षण

दममा श्वासप्रश्वासका कोषिकाहरुले एक प्रकारको इन्जाइम उत्पादन गर्छन्, जसले फोक्सोको मांसपेशीहरूलाई खुम्च्याई श्वासनलीमा व्यवधान उत्पन्न गराउँछ । जसले सास फेर्न अप्ठेरो महसुस भई खोकी लाग्ने, स्वाँस्वाँ हुने, छाती कस्सिने, छातीबाट सिट्ठीको जस्तो आवाज निस्कने र छाती भारी हुनु यसका प्रमुख लक्षण हुन् ।

नाकबाट पानी बग्ने, नाक बन्द हुने, हाच्छ्युँ आइरहने, जीउमा डाबर देखिने आदि समस्या पनि देखिन सक्छ । यी लक्षण सबै एकसाथ देखा नपर्न पनि सक्छन् ।

जाडोमा किन बढ्छ दम ?

जाडोमा चिसो हावा लाग्ने हुँदा दमका बिरामीलाई छिटो असर गर्ने हुन्छ । जसले श्वासनलीको आकारलाई साँघुरो बनाउँछ र त्यसले दमको समस्या हुन्छ ।

जाडोमा लामो समयसम्म घरभित्र भेन्टिलेसन बन्द गरेर बस्दा एकबाट अर्कोमा संक्रमण सर्ने जोखिम हुन्छ । जाडोमा वायु प्रदूषणको मात्रा समेत बढेको हुन्छ । त्यसले पनि अझ असर गर्ने हुन्छ ।

अर्को जाडोमा विभिन्न प्रकारका धुवाँ निस्किने हिटरको प्रयोग र दाउरा बालेर आगो ताप्ने गरिन्छ । जसबाट निस्किने धुवाँले पनि दमको समस्या बढ्न सक्छ ।

दम र खानपान

दमको कारक खानेकुरा नभएकाले खानेकुरा खासै बार्न आवश्यक हुँदैन । दमका बिरामीले सन्तुलित भोजन र व्यायाममा भने विशेष ध्यान दिनुपर्छ । एन्टिअक्सिडेन्ट भएका सागपात फलफूल बढी मात्रामा खानुपर्छ ।

सुन्तला, केरा लगायत फलफूल पनि दमका बिरामीले धेरै खान हुँदैन भनेको सुनिन्छ । यसमा पनि कुनै वैज्ञानिक आधार छैन । तर केही खानेकुरा खाँदा दम बढेको जस्तो लाग्छ भने त्यस्ता खानेकुरा बार्न सकिन्छ । दमका बिरामीले धुम्रपान गर्नु हुँदैन र धेरै चिसो खानेकुरा भने खानु हुँदैन ।

दमको समस्यामा इन्हेलरको प्रयोग

दमका बिरामीलाई राहत दिन धेरै औषधि र सिरप उपलब्ध छन्, तर श्वासप्रश्वास उपचारका लागि इनहेलर सबैभन्दा राम्रो उपचार हो । ट्याब्लेट वा सिरप औषधिको प्रयोग गर्दा यसको प्रभाव २५ देखि ३० मिनेट लाग्छ । जबकि इनहेलरमा रहेको औषधि तुरुन्तै फोक्सोमा पुग्छ र श्वासप्रश्वासमा तत्काल प्रभाव देखाउँछ ।

अन्य औषधिको तुलनामा इनहेलर औषधि सुरक्षित हुनुका साथै यसको साइड–इफेक्ट पनि कम हुन्छ । औषधिको नगन्य मात्रा मात्र रक्तसञ्चारमा पुग्ने हुँदा यसले शरीरमा गर्ने ‘साइड-इफेक्ट’ कम हुन्छ ।  त्यसैले इनहेलर विधिलाई श्वासप्रश्वासको उपचारका लागि सर्वोत्तम मानिएको छ । त्यसैले दमको अट्याक हुनेबित्तिकै इन्हेलरको प्रयोग गरेर राहत पाउन सकिन्छ । इन्हेलरको प्रयोग गर्ने सही तरिका चिकित्सकसँग सिक्नुपर्छ ।

दमको जटिलता

दमको समयमा उपचार गरिएन भने शरीरमा अक्सिजनको मात्रा कम हुने कार्बन डाइअक्साइडको मात्रा धेरै हुने र घरमा नै अक्सिजन लगाएर बस्नुपर्ने समेत हुनसक्छ ।

दमको बिरामीले राम्रोसँग ख्याल नगर्ने हो भने अन्य समस्या पनि आउँछन् । दमले मुख्य रुपमा फोक्सोलाई असर गर्छ । दम लागेपछि फोक्सोले श्वास लिने वा अक्सिजन शरीरमा पुर्‍याउने क्रम कम हुन्छ । साथै, दमले मुटुलाई पनि असर गर्छ । मुटुको प्रेसर बढाएर मुटु फेल हुने सम्भावना हुन्छ ।

दम निकै बढ्यो भने दम बिग्रिएर अस्पताल नै भर्ना हुनुपर्ने अवस्था पनि आउँछ । दम बढेकै कारण खुट्टामा रगत जम्ने समस्या, हेमोग्लोबिन बढी हुने जस्ता जटिलता पनि आउन सक्छ । तर समयमै उपचार गरियो भने यो सबै जटिलताबाट जोगिन पनि सकिन्छ ।

उपचार

दम नियन्त्रणका लागि मुख्यतः खाने र तान्ने दुई प्रकारका औषधि प्रयोग गरिन्छ । तान्ने औषधि पनि ग्यासजस्तो र क्याप्सुलभित्र पाउडरको रुपमा पाइन्छ । यी औषधिहरूको मुख्य काम दमलाई नियन्त्रणमा राख्ने र कहिलेकाहीं श्वासप्रश्वासमा धेरै कठिनाइ भएमा त्यसलाई सजिलो बनाउने हुन्छ । औषधि तान्न वा खान नसक्ने अवस्थामा नसाबाट र बाफको रुपमा (नेबुलाइजर प्रयोग गरी) औषधि दिन सकिन्छ ।

दमको समस्या भएका व्यक्तिले प्रत्येक वर्ष फ्लु विरुद्धको तथा पाँच वर्षमा निमोनियाको खोप लगाउनुपर्छ । मौसमी फ्लुको संक्रमण भएमा पनि श्वासप्रश्वासमा समस्या हुनसक्छ । त्यसैले फ्लुबाट जोगाउन उनीहरूले प्रत्येक वर्ष फ्लुको खोप र पाँच वर्षमा निमोनियाको लगाउनु उचित हुन्छ ।

नियन्त्रणको उपाय

मुख्यतया वातावरणमा पाइने एलर्जिन वा एरिट्यान्टले दमको समस्यालाई बढाउने हुनाले आफूलाई कुन कुराले गाह्रो बनाउँछ त्यसबाट जोगिनुपर्छ । धुम्रपानले श्वासप्रश्वासको समस्या निम्त्याउन मद्दत गर्छ र त्यसलाई बढाउँछ पनि । दम भएका वा नभएका व्यक्तिले पनि चुरोट पिउनु हुँदैन र अरूले पिएर फालेको धुवाँबाट पनि जोगिनुपर्छ ।

साथै, चिसोबाट जोगिनुपर्छ । जाडोयाममा दमरोगले झन् च्याप्छ । त्यसैले घर वा कोठालाई न्यानो पार्ने, न्यानो लुगा लगाउने गर्नुपर्छ । सकेसम्म चिसोबाट बच्नुपर्छ । फ्रिजमा राखिएका चिसो खानेकुरा पनि खानु हुँदैन ।

घरको वातावरण सफा र धुलोरहित राख्नुपर्छ । गलैंचाहरू भ्याक्युम क्लिनर लगाएर सफा गर्नु उपयुक्त हुन्छ । सकेसम्म एलर्जी भएका मानिसले कोठा आफैंले सफा नगर्ने र गर्नैपर्ने भएमा राम्रो गुणस्तरको मास्क लगाएर मात्र सफा गर्नुपर्छ । जुन मौसममा धुवाँधुलो बढी हुन्छ, बाहिरी प्रदूषण हुन्छ, त्यो समयमा विशेष काम नपरी बाहिर निस्कनु हुँदैन । जानै परे मास्कको प्रयोग गरेर मात्र जानुपर्छ ।

घरपालुवा जनावर भएका घरमा तिनीहरूको रौं जताततै झरेको हुन्छ । घरपालुवा जनावरको रौं एलर्जिक हुन्छ । यस्तो अवस्थामा तिनीहरूको रौंले दमको आघात बढाउँछ र समस्या निम्त्याउन सक्छ । त्यसैले दमको समस्या भएको व्यक्ति भएको घरमा कुकुर, बिरालो, परेवाजस्ता जनावर र पन्छी नपाल्नु राम्रो हुन्छ । पाल्नैपर्ने भएमा घरबाहिर राख्ने गरी पाल्ने गर्नुपर्छ ।

दमबारे केही भ्रम र सत्यता

भ्रम : दमका बिरामीले सामान्य जीवन बिताउन सक्दैनन् ।

– दमका बिरामीले सामान्य जीवन जिउन सक्दैनन् भन्ने कुरा पूर्णतया गलत धारणा हो । बाल्यकालदेखि दमको समस्या भएका व्यक्तिले चिकित्सकको सल्लाहअनुसार औषधि र उपचार गरिरहने हो भने समस्या कम हुन्छ र सामान्य व्यक्तिको जस्तै जीवनयापन गर्न सहज हुन्छ । दमको धेरै लक्षण देखा पर्ने व्यक्तिलाई समस्या कम गर्न इनहेलर प्रयोग गर्ने सल्लाह दिइन्छ ।

भ्रम : दमका बिरामीले व्यायाम गर्न सक्दैनन् ।

– दमका बिरामीले आफ्नो अवस्था र रोगको जटिलअनुसार सामान्य व्यायाम गर्न सक्छन् । यद्यपि, दमको समस्या भएका व्यक्तिले धेरै गाह्रो खालको कसरत भने गर्नु हुँदैन । दैनिक व्यायाम गर्न थालेपछि व्यायाम गर्न सक्ने क्षमता बढ्दै गएर सामान्य हिंड्ने, योग, पौडी खेल्ने र साइकल चलाउने जस्ता व्यायाम गर्न सक्छन् । व्यायाम गर्दा योगा तथा फिटनेस ट्रेनरको सहयोग लिनु उपयुक्त हुन्छ । व्यायाम गर्दा खोकी लाग्ने, सास फेर्न कठिनाइ हुने वा छाती कसिलो महसुस हुन्छ भने विश्राम गर्नुपर्छ ।

भ्रम : दमका बिरामीका लागि इन्हेलर भन्दा अन्य औषधि राम्रो हुन्छ ।

– दमका बिरामीलाई राहत दिन धेरै औषधि र सिरप उपलब्ध छन्, तर श्वासप्रश्वास उपचारका लागि इनहेलर सबैभन्दा राम्रो उपचार हो । ट्याब्लेट वा सिरप औषधिको प्रयोग गर्दा यसको प्रभाव २५ देखि ३० मिनेट लाग्छ । जबकि इनहेलरमा रहेको औषधि तुरुन्तै फोक्सोमा पुग्छ र श्वासप्रश्वासमा तत्काल प्रभाव देखाउँछ । अन्य औषधिको तुलनामा इनहेलर औषधि सुरक्षित हुनुका साथै यसको साइड–इफेक्ट पनि कम हुन्छ ।

भ्रम : दम एक घातक रोग हो ।

‍- दम एक घातक रोग हो, यो आंशिक सत्य हो । दमबाट पीडित व्यक्तिले पर्याप्त मात्रामा अक्सिजन नपाउँदा समयसँगै उनीहरूको अवस्था बिग्रिन सक्छ । यसबाहेक दमका बिरामीले आवश्यकताभन्दा बढी औषधि सेवन गरेमा फोक्सोमा पनि असर हुनसक्छ । यस्तो अवस्थामा दमका बिरामीले औषधिको सही डोज लिन जरुरी हुन्छ । साथै, पर्याप्त मात्रामा अक्सिजन उपलब्ध हुने वातावरणमा बस्नुपर्छ ।

भ्रम : दमको औषधि जीवनभर प्रयोग गर्नुपर्छ ।

– दमको निदान भएका व्यक्तिलाई लक्षणको आधारमा औषधि दिइन्छ । सबै दमका बिरामीलाई जीवनभर औषधिको आवश्यकता पर्दैन । मौसमी दमको लक्षण देखिएका मानिसलाई त्यो खास मौसममा मात्र औषधि दिइन्छ ।

यदि लक्षणहरू कहिलेकाहीं मात्र देखा पर्छ भने लक्षण देखा पर्दा मात्र इनहेलर प्रयोग गर्नुपर्छ । यद्यपि, दमका लक्षण बारम्बार देखिने व्यक्तिले रोगलाई नियन्त्रणमा राख्न लामो समयसम्म नियमित रूपमा इनहेलर लिनुपर्ने हुनसक्छ ।

भ्रम : अस्थामा भएपछि बच्चा कमजोर हुन्छन्, फोक्सो बिग्रिन्छ, एन्टिबायोटिक नखाई ठक हुँदैन

– अस्थामा खासगरी स्वस्थ मानिस, अझ स्वस्थ बालबालिकामा देखिने समस्या हो । रोगसँग लड्ने क्षमता राम्रो हुनेहरूमा पनि देखिन्छ । राम्रोसँग उपचार गरे पूर्णरूपमा निको पार्न सकिन्छ । यो एलर्जीका कारण हुने हुँदा एन्टिबायोटिकको जरुरत पर्दैन ।

जाडोयाम डा. राजु पंगेनी दम
डा. राजु पंगेनी
लेखक
डा. राजु पंगेनी
छातीरोग तथा सघन उपचार विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ४४५१ एमडी, डीएम हाल काठमाडौं धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

जाडोमा बढ्छ दमको समस्या

जाडोमा बढ्छ दमको समस्या

मानसिक रूपमा बलियो हुन्छन् आमाबाबुसँग धेरै समय बिताउने बच्चा

मानसिक रूपमा बलियो हुन्छन् आमाबाबुसँग धेरै समय बिताउने बच्चा

यौनाङ्ग सङ्क्रमणबाट बच्न ध्यान दिनुपर्ने ८ कुरा

यौनाङ्ग सङ्क्रमणबाट बच्न ध्यान दिनुपर्ने ८ कुरा

छालाको प्रकारअनुसार हेरचाह कसरी गर्ने ?

छालाको प्रकारअनुसार हेरचाह कसरी गर्ने ?

धेरै तनाव, चाँडै बुढ्यौली  

धेरै तनाव, चाँडै बुढ्यौली  

गर्भावस्थामा एचपीभी खोप लगाउन हुन्छ ?

गर्भावस्थामा एचपीभी खोप लगाउन हुन्छ ?