
१२ पुस, काठमाडौं । अनुहार अबिरले रंगिएको छ । शरीर मालाले ढाकिएको छ । ससाना नानीबाबुदेखि तन्नेरी विद्यार्थीसम्म हातमा फूलमाला लिएर पालो कुरेर बसेका छन् । नजिकै पुग्छन्, श्रद्धाले हात जोडेर अबिर लगाइदिन्छन्, माला पहिर्याउँछन् । भावुक बन्छन् र सुकसुकाउँछन् ।
यो दृश्य हो, मानव सरको बिदाइको । मानव सर अर्थात्, मानबहादुर राना । दाङको राप्ती गाउँपालिका रुपाकोटमा रहेको श्री माध्यमिक विद्यालयका नेपाली विषयका यी शिक्षकको बिदाइमा देखिएको यो दृश्यले पुनः एकपटक शिक्षक र विद्यार्थीबीच हुनुपर्ने प्रेमको झल्को दियो ।
उनी श्री माध्यमिक विद्यालय रुपाकोटबाट सोही गाउँपालिकाको आदर्श नमूना माध्यमिक विद्यालयमा सरुवा भएका थिए ।
नामजस्तै कर्म रह्यो, उनको । जीवनको बहुमूल्य समय उनले आफू उदाहरणीय बनेर विद्यार्थीहरूलाई असल मानिस बनाउन प्रेरित गरिरहे । त्यसैले बिदाइको समयमा उनीसँगै सहकर्मी शिक्षक र विद्यार्थी भक्कानिए ।
थुप्रै विद्यार्थी सम्हालिन सकेनन् । आँखा छचल्किए भने गला अवरुद्ध बन्यो ।
‘मानव’ सर श्री माध्यमिक विद्यालय रुपाकोटबाट सोही गाउँपालिकाको आदर्श नमूना माध्यमिक विद्यालयमा सरुवा भएका थिए । उनको बिदाइ र नयाँ शिक्षकको स्वागतमा चार पुसमा श्री माध्यमिक विद्यालयले बिदाइ कार्यक्रम राखेको थियो । सरूवा भएपछि उनी २ मंसिरमै आदर्श नमूना विद्यालयमा हाजिर भएका थिए । विदाइकाे खबर पाएपछि उनी पुरानाे विद्यालय पुगे, जहाँका विद्यार्थीले भारी मन लिएर बिदा गरे ।
‘बिदाइको कार्यक्रममा बोलाएपछि आफूले पढाएका विद्यार्थी र शिक्षक साथीहरूसँग भेट हुन्छ भनेर गएको थिएँ । तर सोचेभन्दा फरक परिस्थिति बन्यो,’ उनले भने ।
‘स्वागत र बिदाइ दुवै कार्यक्रम एकै पटक भएर रहेछ । विद्यार्थीले बिदाइको लागि फूलमाला ल्याएका रहेछन् । त्यो मलाई थाहै थिएन,’ भावुक हुँदै उनले भन्छन्, ‘त्यसपछि विद्यालयमा कार्यरत शिक्षकहरूले विदाइको लागि हो भने फूलमाला राख्नुहोस् स्वागतको लागि हो भने अगाडि आउनुहोस् भन्ने परिस्थिति बन्यो ।’
स्वागतको कार्यक्रम सकिएपछि उनको बिदाइको पालो आयो । त्यसपछि नर्सरीदेखि १० कक्षासम्मका एक–एक विद्यार्थी फूलमाला बोकेर लाइनमा बसे । मानव सरको गलामा माला र अनुहारमा अबिर रंगियो ।
‘यति ठूलो सम्मान पाउँछु भनेर सोचेको पनि थिइनँ । आशा पनि थिएन । विद्यार्थीको मनमा यसरी बसेको छु भन्ने लागेको थिएन । विद्यार्थीले रुँदै फूलमाला लगाएपछि भावुक भएँ,’ उनले त्यो पल सम्झिए ।
गाउँपालिकाको अनुदानका शिक्षक उनले सो विद्यालयमा तीन वर्ष पढाएका थिए । ‘दरबन्दी मिलान गर्दा सरुवा भएर जानुभएको हो,’ विद्यालयका सहायक प्रधानाध्यापक खिमबहादुर ओलीले भने, ‘शिक्षकले विद्यालयमा गरेको योगदान स्वरूप बिदाइ कार्यक्रम राखेका थियौं । विद्यार्थीले स्वतःस्फूर्तमा फूलमाला लगाएर बिदाइ गरेका हुन् ।’
विद्यार्थीहरूसँग नजिक भएर पढाउने र दुःखमा परेका विद्यार्थीलाई सहयोग गरेकाले विद्यार्थीको मनमा बस्न सकेको उनको बुझाइ छ ।
‘विकट बस्तीको विद्यालय हो । आर्थिक अवस्था कमजोर भएका विद्यार्थी पढ्छन् । विद्यार्थीलाई मोटिभेसन गरेर पढाउने र अतिरिक्त क्रियाकलापमा प्रेरित गर्ने गरेको छु । विद्यार्थीलाई साथीको व्यवहार गर्छु,’ सम्मान पाउनुको कारण उनले सुनाए । विद्यार्थीलाई नाटक पनि सिकाउँछन् उनी ।
विद्यार्थीलाई हप्काउने दप्काउने कहिल्यै नगरेका उनले आर्थिक रूपमा कमजोर भएका विद्यार्थीलाई स्टेशनरीका सामान सहयोग गर्न सधैँ अगाडि सर्ने गरेका थिए ।
‘कोही पनि बालबालिका पढाइबाट वञ्चित नहुन् भन्ने उद्देश्य हो । आर्थिक अवस्था कमजोर भएकालाई सहयोग गर्ने गरेको छु,’ उनले थपे । एसएलसीपछि उच्च शिक्षा अध्ययनको क्रममा आर्थिक संकट भोगेकाले पनि उनी विद्यार्थीलाई सहयोग गर्न चाहन्छन् ।
कुलतमा फसेका विद्यार्थीलाई परामर्श दिएर विद्यालयमा ल्याउँछन् उनी । ‘स्कुल पढ्ने बालबालिका दुर्व्यसनीमा फसेका पनि छन् । उनीहरूको अभिभावक र विद्यार्थीलाई काउन्सिलिङ गरेर पढाउँछु,’ उनले भने ।
उनी २०६५ बाट शिक्षण पेसामा आवद्ध छन् । एक वर्ष निजी विद्यालयमा पढाएपछि उनी रोल्पाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा पढाउन पुगे ।
उनले रोल्पामा चार वर्ष पढाए । रोल्पाबाट दाङ झर्ने बेलाको बिदाइको क्षण अझै उनको स्मृतिमा ताजै छ । दाङको भन्दा भावविह्वल बनेको थियो नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गण ।
‘बिदाइको दिन विद्यालयको प्राङ्गणमा जाने स्थिति भएन । एसेम्लीमै विद्यार्थीको रूवाबासी चल्यो । प्रधानाध्यापकको अवस्था त्यस्तै अर्कै छ । माथि बाटोबाटै हात हल्लाएर जानुहोस् भन्ने परिस्थिति बन्यो,’ उनले त्यो दिन सम्झिए ।
यतिसम्म कि रोल्पा छोड्ने दिन रुँदै विद्यार्थी मानव सरको कोठासम्म पुगेका थिए । ‘रोल्पाबाट बिदाइ हुने बेलाको माहोल हृदयविदारक थियो । विद्यार्थी मात्र होइन सर मिसहरू पनि रुनुभयो,’ उनी भन्छन् ।
मानव सरले अध्यापन गरेको हरेक विद्यालयमा बिदाइमा यस्तै सम्मान पाउने गरेका छन् । शिक्षक भएकोमा आफूलाई भाग्यमानी ठान्छन् उनी । उनीसँगै पढेका साथी व्यापार, व्यवसाय र ठेक्कापट्टबाट पैसा कमाइरहेका छन् । तर, उनी शिक्षक भएकोमा खुसी छन् ।
‘मैले विद्यार्थीबाट माया र स्नेह कमाइरहेको छु,’ उनले भने, ‘हजारौं विद्यार्थीको भविष्य उज्ज्वल बनाउने मौका मिलेको छ । विद्यार्थीलाई राम्रो बाटोमा हिँडाउन पाउनु नै ठूलो सम्पत्ति हो ।’
गाउँपालिकाको अनुदानमा पढाइ रहेका उनले नेपाली साहित्यमा स्नातकोत्तर गरेका छन् । अब स्थायी प्रक्रियामा जाने तयारीमा छन् । शिक्षा प्रतिको आफ्नो प्रतिबद्धता सुनाए, ‘पेसा नै यही हो । शिक्षणबाहेक अर्को विकल्प सोचेको छैन ।’
प्रतिक्रिया 4