+
+

सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन

सर्वोच्च अदालतमा अस्थायी न्यायाधीशका रूपमा काम गरेका वस्ती त्यसपछि मानवअधिकार आयोगको सदस्य समेत बने । न्यायपालिकामा हुने भ्रष्टाचारमा खरो रुपमा प्रस्तुत हुने उनी पछिल्ला वर्षहरुमा न्याय र कानूनको अध्ययन, अनुसन्धान एवं पुस्तक लेखनमा सक्रिय थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १३ गते ९:३०

१३ पुस, काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । पारिवारिक एवं अस्पताल स्रोतका अनुसार, हृदयाघातका कारण शुक्रबार राति उनको निधन भएको हो । हृदयाघातपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएको थियो ।

उनी करिब ६ वर्ष सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश थिए । २२ भदौ २०६५ मा नियुक्त भएका उनी पदावधि नथपिएपछि २९ चैत, २०७० मा अस्थायी न्यायाधीशबाटै अवकाश भएका थिए ।

सर्वोच्च अदालतबाट अवकाश भएपछि उनी ६ वर्ष मानवअधिकार आयोगको सदस्य बने । पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा नेतृत्वको आयोगमा उनले २ कात्तिक २०७१ देखि १ कात्तिक २०७७ सम्म सदस्यको रूपमा काम गरेका थिए । त्यसपछि अवकाशकाे जीवन बिताइरहेका उनी न्याय र कानूनको क्षेत्रमा अध्ययन, अनुसन्धान एवं पुस्तक लेखनमा संलग्न थिए ।

२०६४ सालमा सर्वोच्च अदालत बार एसाेसिएसनले गठन गरेको ‘न्यायपालिका जनआस्था अभिवृद्धि अध्ययन समिति’का सदस्यसमेत रहेका उनीसहितको टोलीले त्यतिबेला अड्डाअदालतमा बिचौलियाहरू हावी रहेको भनी प्रतिवेदन दिएको थियो । सर्वोच्च अदालतले २०६६ सालमा गठन गरेको विकृतीविहीन न्यायपालिका विकास अध्ययन कार्यदलमा पनि उनी सदस्य थिए ।

८ असार, २०१० जन्मिएका वस्ती २०३३ सालदेखि कानून व्यवसायमा प्रवेश गरेका हुन् । उनले सूर्यनाथ उपाध्याय नेतृत्वको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कानूनी सल्लाहकार बनेर काम गरेका थिए । उनी २०६५ सालमा वरिष्ठ अधिवक्ता भएका थिए ।

भ्रष्टाचार नियन्त्रण, देवानी कानून एवं कानूनी प्रणालीको विकासक्रमका विषयमा रुचि राखेका उनले त्यसबारेमा कैयौं पुस्तक लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?