+
+

भीम रावललाई एकीकृत समाजवादीमा आउन घनश्याम भुसालको आह्वान

'केपी शर्मा ओली पार्टी नेतृत्वबाट हटे मात्र एमालेभित्रको उकुसमुकुस शान्त हुन्छ'

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १३ गते २०:५८

१३ पुस, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले एमालेबाट निष्कासित नेता भीम रावललाई आफ्नो पार्टीमा आउन आह्वान गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेकपा (एकीकृत समाजवादी)मा आउन रावललाई आह्वान गरेका हुन् ।

एमालेभित्र अहिले धेरै उकुसमुकुस रहेको भन्दै उनले अन्य नेताहरू पनि एकताबद्ध हुनुपर्ने आवश्यकता रहेको बताए ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी नेतृत्वबाट हटे मात्र एमालेभित्रको उकुसमुकुस शान्त हुने उनको भनाइ छ । भीम रावललाई पार्टीबाट निष्कासन गर्ने एमालेको निर्णयका विषयमा सञ्चारकर्मीहरूले सोधेको जिज्ञासामा उनको यस्तो प्रतिक्रिया आएको हो ।

एमालेभित्र प्रश्न उठाउने जो कोहीले सजाय भोग्नुपर्ने अवस्था रहेको भन्दै उनले यसबारेमा आफूले एमालेमै रहँदा प्रश्न गरेको भए पनि त्यसबेला प्रतिशोधका लागि प्रश्न आयो भन्ने टिप्पणी भएको सुनाए ।

‘भीम रावल कमरेड त्यहाँबाट निक्लिनुभयो वा निकालियो, त्यो अवस्था छँदै थियो । नेकपा एमालेभित्र प्रश्न उठाएपछि मैले धेरै अघि भनेको थिएँ । त्यतिखेर व्यक्तिगत विरोध, प्रतिशोधका रूपमा लिइयो,’ उनले भने, ‘कमरेड केपी ओलीका लागि संसारमा दुई खालका मान्छे छन् । एक खालका मान्छे उहाँका शत्रु हुन् । अर्का खालका मान्छे चाकर हुन् । भीम रावलले चाकरी गरेनन् ।’

उनले एमालेभित्र धेरै नेताहरू अहिले उकुसमुकुसमा रहेको समेत बताए । उनले भने, ‘नेपालमा पार्टी नभएर दुःख पाएको हो की पार्टी राम्रो नभएर हो भन्दा राम्रो पार्टी नभएर दुःख पाएको हो । म हाम्रो पार्टीमा आउन आह्वान गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?