
१४ पुस, काठमाडौं । नुवाकोटस्थित शेरादरबारको जग्गा निजी कम्पनीले अवैधानिक रूपमा भोगचलन गरिरहेको प्रकरणमा गृहमन्त्री रमेश लेखकले चासो देखाएका छन् ।
गृहमन्त्री रमेश लेखकले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख एआईजी दिपक थापालाई मन्त्रालयमा बोलाएर अनुसन्धानबारे ब्रिफिङ लिएका हुन् ।
गृहमन्त्रीको सचिवालयका एक अधिकारीले एआईजी थापासँग मन्त्री लेखकले शेरादरबारसँगै अन्य विषयहरुमा छलफल गरेको बताए ।
त्यसक्रममा एआईजी थापाले ब्यूरोले लामो अनुसन्धानपछि शेरादरबारको १६३ रोपनी १३ आना जग्गा निजी कम्पनीबाट जफत गरेर सरकारको नाममा ल्याउने प्रक्रिया अघि बढाइएको ब्रिफिङ गरेको ती अधिकारीले बताए ।
ब्यूरोले शुक्रबार मात्र जग्गा सरकारको नाममा ल्याउनलाई भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो । पृथ्वीनारायण शाहको शीतकालीन दरबारको रूपमा परिचित नुवाकोटको जग्गा नेकपा माओवादी केन्द्रका नेता विकेश श्रेष्ठ सञ्चालक रहेको अन्नपूर्ण फार्मिङ कम्पनीले भोग चलन गर्दै आएको थियो ।
विकेश श्रेष्ठ कुनै बेला माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव थिए । माओवादी शान्ति प्रक्रियामा आउनुअघिदेखि नै प्रचण्डको हेडक्वार्टरमा रहेका उनी माओवादी सत्तामा आएपछि पनि प्रचण्डकै टिममा रहे । उनी माओवादीका पूर्वकेन्द्रीय सदस्य समेत हुन् ।
प्रहरीले यो मामलामा संलग्न कर्मचारी लगायतमाथि कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत पत्राचार गरेको छ । जाँचका क्रममा कीर्ते देखिए ब्यूरोबाट समेत मुद्दा चलाउने भनिएको छ ।
प्रतिक्रिया 4