+
+

चिनी विनाका वर्षहरू

मुटु रोगबाट हुने मृत्युको विषयमा होस् अथवा शारीरिक रूपमा अंगभंग हुने विषयमा नै किन नहोस् चिनीको एक्लो योगदान अतुलनीय छ।

कृष्ण चापागाई 'अवी' कृष्ण चापागाई 'अवी'
२०८१ पुष १४ गते १५:४६

कुनै यस्तो पदार्थको कल्पना गर्नुस् जसको लत यति कडा अनि प्रभावकारी छ कि जसले हामीलाई नजानिँदो तरिकाले दलदलमा फसाउँदै छ। कुनै यस्तो पदार्थको कल्पना गर्नुस् जसमा यति क्षमता छ कि हाम्रो दिमागलाई नै यसरी बाध्य बनाउन सक्छ हामीले चाहेर पनि सजिलोसँग त्यसलाई नकार्न सक्दैनौँ।

आउनुस् एउटा यस्तो पदार्थको चिरफार गरौं, जुन भान्सामा अनि दैनिक जीवनमा सबैभन्दा सहज उपलब्ध छ। हरेक नेपालीको भान्सामा सहजै उपलब्ध हुने त्यो वस्तु हो चिनी। तर, जसलाई ‘मन्द विष’ भन्दा फरक पर्दैन। जुन खानेकुरामा मिसायो त्यसैलाई मिठो बनाइदिने चिनीले मानव जीवनमा कति गम्भीर नतिजा निम्त्याउँछ भन्ने कुरा हामीमध्ये धेरैलाई थाहा छैन। त्यसैले चिनीलाई लिएर नेपाली समाजमा रहेका विविध भ्रमलाई चिर्नु अत्यन्तै जरुरी छ।

हामीमध्ये धेरैलाई के लाग्छ भने ‘सुगर/चिनी/मधुमेह’ रोग लाग्नेहरुलाई मात्र चिनीले असर गर्छ । त्यसैले कसैले ‘चिनी खादिनँ’ भन्यो भने प्रायः व्यक्तिहरुले सोध्ने गर्नुहुन्छ, ‘सुगर छ हो?’

यथार्थ त्यस्तो होइन। सुगर हुने/ नहुने स्वास्थ्य ठिक हुने/नहुने कसैले पनि चिनी खानु हुँदैन । यो सबैलाई हानिकारक छ। यसका कारण मानिस अनगिन्ती रोगको सिकार हुनु परेको छ।

समयको कुरा फरक हुन सक्ला। ढिलो चाडो फरक पर्न सक्ला तरिका फरक पर्ला । तर चिनीले जिन्दगी बिगार्छ -बिगार्छ, बर्बाद बनाउछ-बनाउँछ। अध्ययनहबाट के देखिन्छ भने मधुमेह त हामी सबैले बुझेकै छौं, यसका अतिरिक्त मुटुरोग, पाचन प्रणालीमा हुने विभिन्न समस्याहरु, मानसिक स्वास्थ्यमा देखिने समस्याहरु, महिलाहरुमा हुने महिनावारी तथा प्रजनन स्वास्थ्यदेखि छालाको सुन्दरतामा देखिने विभिन्न समस्याको मुख्‍य कारण नै चिनी बनेको छ ।

अझै सरल भाषामा भन्दा समग्र मानव स्वास्थ्यमा अत्यन्तै ठूलो प्रभाव पार्ने यो ‘चिनी’लाई धेरै अध्ययनहरुमा ‘गुलियो विष’ भनेर सम्बोधन गरिएको पाइन्छ, जुन अत्यन्तै सान्दर्भिक पनि छ। यहाँनेर अर्को अचम्मको कुरा के छ भने प्रायः तुलनात्मक रुपमा मोटोपन अलि बढी हुने व्यक्तिहरुले चिनीको मात्रामा कटौती गर्ने गरेको पाइन्छ ।

चिनीसँग जोडिएका अनेकौं भ्रमहरुमध्ये मलाई सबैभन्दा खतरनाक यही लाग्छ कि दुब्लो ठानेर मन लागेजति चिनी खाइदिन्छौँ। चिनीले असर गर्नको लागि मोटो नै हुनु जरुरी छ त ? यो विषयमा पनि छलफल गरौंला। तर, त्यो भन्दा पहिले आउनुहोस् अहिलेसम्म सबैभन्दा बढी प्रयोग भएको शब्द ‘चिनी’ को चिरफार गरौं।

चिनी के हो ?

प्रायः सबैले चिनी भन्ने बित्तिकै सेता साना चिनीका दाना (टेबल सुगर) बुझ्ने गरिएको छ। तर, यो थोरै मात्र सत्य हो। ‘चिनी’ भन्ने बित्तिकै यहाँ हामी त्यो हरेक गुलियो पदार्थ बुझ्ने छौं, जुन प्राकृतिक होइन, मानवनिर्मित हो। प्रशोधित हो।

मानव शरीरलाई चिनीको कुनै पनि भौतिक आवश्यकता हुँदैन। ‘यति त शरीरलाई पनि चाहिन्छ नि’ भन्दै चिनी सेवन गर्नु कि नबुझेर हो कि त मुखको मिठासको अगाडि जिन्दगीसँग गरिएको एउटा अस्वस्थ सम्झौता हो।

चिनीलाई सधैं ‘चिनी’ भनेर स्पष्ट रूपमा उल्लेख गरिंदैन। खाद्य उद्योगले उत्पादनहरूमा थपिएको चिनीको मात्रा लुकाउनका लागि तिनलाई फरक नामले चिनाउने नयाँ तरिका अपनाउने गर्दछन्, जसले उपभोक्ताहरुमा भ्रम सिर्जना गर्दछ। हामीले खाने लगभग सबै प्रमुख खाद्य पदार्थहरू शरीरमा अन्ततः ग्लुकोजमा परिवर्तन हुन्छन्। ‘ग्लुकोज’ त्यो मुख्य पदार्थ हो जसले हाम्रो दैनिक गतिविधिहरू चलाउन शक्ति प्रदान गर्दछ।

त्यसो भए हाम्रो शरीरलाई चाहिने शक्तिको लागि भनेर हामीले अलगै चिनी खानु आवश्यक छ त ?

पटक्कै छैन ।  मानव शरीरलाई चिनीको कुनै पनि भौतिक आवश्यकता हुँदैन। ‘यति त शरीरलाई पनि चाहिन्छ नि’ भन्दै चिनी सेवन गर्नु कि नबुझेर हो कि त मुखको मिठासको अगाडि जिन्दगीसँग गरिएको एउटा अस्वस्थ सम्झौता हो।

हामीले दैनिक रुपमा खाने विभिन्न खानाहरुमा पाइने पोषण तत्वहरुलाई विशेषत तीन भागमा बाड्न सकिन्छ जसमध्ये एक कार्बोहाइड्रेट हो जुन् हाम्रो शरीरले शक्तिको लागि प्रयोग गर्ने गर्दछ। हाम्रो शरीरको बनावट यति अचम्मको छ कि यसले कार्बोहाइड्रेट नै पाएन भने पनि फ्याट् अथवा प्रोटिन समेतबाट आफूलाई चाहिने शक्ति लिन सक्छ। अत: हामीले हाम्रो शरीरलाई स्वस्थ खाना दिए पुग्छ। तर, कुनै पनि खानालाई अस्वस्थ बनाउने सबैभन्दा सजिलो उपाय त्यो खानामा चिनी मिसाइदिनु हो।

त्यसो भए चिनी किन नखाने त ?

गुलियो चिनीको तितो यथार्थको बारेमा अब स्वास्थ्यकर्मी मात्र नभएर हामी सबैले जान्नु अपरिहार्य छ। सतहगत् रुपमा चिनीले के-के गर्छ भनी अलिकति त माथि चर्चा गरिएको छ अब यसको वास्तविकता मा जाऔं।

चिनीले गर्ने असरलाई हामी टुक्र्याएर बुझ्न सक्छौं। सुरुमा चर्चा गरौं यसको लोकल एक्सन अर्थात् रगतमा नपुग्दै यसले गर्ने असरको बारेमा। चिनी मिसाएको जुनसुकै खाना मुखमा हाल्ने बित्तिकै सबैभन्दा पहिलो असर यसले हाम्रो दाँतलाई गर्छ। सामान्य बोलीचालीको भाषामा हामीले ‘दाँत किराले खायो’ भन्छौ। चिनीले मुख्यतः मुखमा पाइने जीवाणु (ब्याक्टेरिया) को वृद्धि तथा अम्ल (एसिड) उत्पादन गर्ने क्षमता उत्प्रेरित गर्छ। जसको कारण दाँत सड्नेजस्ता समस्याहरु देखा पर्दछन्।

यसैगरी, मुखबाट निलिसकेपछि जब चिनी पेटमा पुग्छ, यसले पेटको भित्रि तहमा जलन उत्पन्न गराउँदछ, जसको कारण पेटमा धेरै अम्ल उत्पादन हुन पुग्छ  अनि हामीलाई ग्यास्ट्रिक भएको अनुभव हुन्छ (खासगरी खाली पेटमा यो असर अझै छिटो हुने गर्दछ)।

रगतमा पुगिसकेको चिनी कति हानिकारक ?

रक्सी किन खान हुँदैन भनेर कसैले सोध्यो भने सजिलै उत्तर आउँछ ‘रक्सीले त कलेजो बिगारेर ध्वस्त बनाउँछ’। तर, हामीलाई रक्सी नखानेको समेत कलेजो ध्वस्त पार्ने केही अरु कुरा पनि छन् है भनेर कसैले सोध्‍दैन । रक्सीले मात्रै होइन चिनीले पनि कलेजोलाई घातक रुपमा असर गर्दछ। यसका अतिरिक्त चिनीले विभिन्न मानव शरीरका विभिन्न अंगमा क्यान्सरको जोखिम पनि ह्वात्तै बढाउन सक्ने कुरा अलग-अलग समयमा गरिएका विभिन्न अध्ययनले देखाएका छन्। चिनी सेवनबाट पुरुष तथा महिलामा ठूलो आन्द्रा तथा महिलामा स्तन क्यान्सर जस्तो अर्को भयानक रोगको जोखिम पनि हुने देखिएको छ।

कतिपय व्यक्तिले ‘म त नियमित शारीरिक व्यायाम गर्छु, त्यसैले चिनी खान मिल्छ’ भनेको सुनिन्छ। तर, व्यायाम गर्दैमा अब चिनीयुक्त खाना अथवा पेय पदार्थहरु निर्धक्कसँग सेवन गर्न मिल्छ भन्ने हुँदैन। एकातिर चिनी आफैँले शरीरमा विभिन्न हानिकारक असर गरिरहेको हुन्छ भने अर्कोतिर शरीरले विभिन्न खानाबाट प्रोटिन लिने प्रक्रियालाई समेत असर गर्दछ।

यसबाहेक मुटु रोगबाट हुने मृत्युको विषयमा होस् अथवा शारीरिक रूपमा अंगभंग हुने विषयमा नै किन नहोस् चिनीको एक्लो योगदान अतुलनीय छ।

चिनीको दीर्घकालनी प्रभावबारे गरिएको एक अध्ययनमा ब्रिटिस पोषणबिद् जोन यड्किनले चिनीको सेवनबाट हाम्रो सरदर आयुमा समेत प्रत्यक्ष्य प्रभाव पर्न सक्ने अवस्था देखिने उल्लेख गरेका छन्।

 चिनी नखाइ सम्भव छ ?

यो कुरा नितान्त रुपमा व्यक्तिगत हुन सक्छ । कतिपय व्यक्तिलाई चिनी छोड्न खासै कस्टकर नहुन सक्छ, तर कसैलाई यो अत्यन्त कठिन लाग्न सक्छ । मूलतः इच्छा शक्तिको कुरा हो। यो लेख्दै गर्दा मैले चिनी छोडेको ठ्याक्कै १० वर्ष बितिसकेको छ। कतिपय अध्ययनहरुले चिनीलाई एकदमै कडा लत लाग्ने पदार्थहरु कोकिन, मोर्फिनसंग पनि तुलना गरेका छन्। तर, चिनीको ‘लत’बाट चटक्कै बाहिर निस्किन असम्भव भने छैन।

पहिले त आफूलाई प्रोत्साहन गर्नु आवश्यक छ । मनलाई यो कुरामा केन्द्रित गर्नुपर्छ कि चिनीको सेवन घटाउनु वास्तवमै जरुरी छ।

एक पटक मन बनाइसकेपछि भने त्यति गाह्रो लाग्दैन। आफैँलाई चुनौती दिँदै जुन खानेकुरा चिनीसँग खाने अथवा पिउने गरिन्थ्यो, त्यही खानेकुरा चिनीबिना खान सुरु गर्दा चिनी छोड्ने यात्रा निकै सजिलो बन्न सक्छ। जब चिनीबिनाका चीजहरू खान बानी पर्न थाल्छ, अनि थाहा हुन्छ यी खानामा त्यस्ता स्वादहरू छन्, जुन हामीले बिर्सिसकेका थियौं अथवा कहिल्यै थाहा नै पाएनौँ।

मानव इतिहास चिनीको इतिहासभन्दा धेरै पुरानो छ । चिनी बिनाका वर्षहरुमा कुनै पनि खानेकुरा यस्ता छैनन् जसलाई चिनी छोडेकै कारणले खान नपाएको होस्। अझै गम्भीर विषय के भने बच्चाले प्याकेटको खानेकुरा, चकलेट मागेको बेला खुरुक्क किनेर दिन्छौं यसो गर्नुको सट्टा उनीहरुले बुझ्ने भाषामा यो कुरा खान हुने कि नहुने भनी बुझाउने कर्तव्य हाम्रो होइन र ?

चिनीको ‘लत’बाट चटक्कै बाहिर निस्किन असम्भव भने छैन। पहिले त आफूलाई प्रोत्साहन गर्नु आवश्यक छ । मनलाई यो कुरामा केन्द्रित गर्नुपर्छ कि चिनीको सेवन घटाउनु वास्तवमै जरुरी छ।

आफैँले पढेर बुझेर जान्ने हुँदासम्म हामीले यस्ता अस्वस्थ चिनीयुक्त कुराहरुको लत बसालिसकेको हुन्छौं अनि चाहेर पनि सजिलै त्यहाँबाट फर्किन गाह्रो हुन्छ ।

 कुन खाने, कुन नखाने?

बुझ्ने भाषामा भन्दा मान्छेले बनाएको प्रशोधित चिनी खानु हुँदैन। चिनी सधैं चिनीकै नाम लिएर आउँदैन।

सर्वसाधारणले सजिलैसँग छुट्टाउन नसक्ने गरेर चिनीलाई ५० देखि ७० वा अझै त्योभन्दा बढी नामले चिनाउने गरिन्छ । अध्ययनहरुमा पाइएअनुसार ७०-८० प्रतिशत प्रशोधित खानेकुरामा चिनी मिसाइएको हुन्छ। तर, यो जरुरी छैन कि सबै गुलियो नै होस्।

हामी चिनी भएको सफ्ट ड्रिंक्स (कोकाकोला, पेप्सी, आदि) तिर्खा मेटाउन पिउँछौँ, यद्यपि यिनीहरुले तिर्खा मेटाउने होइन अझै बढाउँछन् । ब्रेकफास्टको नाममा चियासँग नुनिलो बिस्कुट खाने हामीलाई त्यो नुनले छोपेको चिनीले भित्रभित्र खाइसकेको कुरा कसले सुनाइदेला ? सबैभन्दा सरल उपाय बजारमा उपलब्ध पत्रु खाना (जंक फुड) खान बन्द गर्नु नै हो।

संसारभर प्रशोधित चिनी प्रतिबन्ध लगाउनुपर्ने चर्चा हुने गरेको छ । तर, तत्काल सम्भव देखिँदैन। यस्तोमा हामीले हाम्रो खानपान बदल्नुको विकल्प छैन। चिनीबिना बिताएका वर्षहरुको अनुभवले मलाई सिकाएको छ, चिनीसँग दशक लामो निर्भरता राखेर मैले जीवनमा ठुलो भुल गरेको रहेछु ।  तर, यसलाई मैले समयमै सुधार्न सफल भएँ। म कामना गर्दैछु, स्वस्थ भएर जिउने सबैको चाहना चिनी विनाका वर्षहरुले पूरा गरुन्।

(चापागाईले पूर्वाञ्चल विश्वविद्यालयबाट पब्लिक हेल्थमा स्नातकोत्तर गरेका छन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?