+
+
विचार :

शेरबहादुर र गगन मिल्नु खराब होइन

अलि पहिले शेखरलाई देउवासँग मिल्यो भन्नेहरू नै अहिले गगन देउवासँग मिल्यो भनिरहेका छन् । यस्तो भन्नेहरूले गर्ने चलखेल नै यस्तै कुरामा हो । सभापति र महामन्त्री मिल्नु खराब त होइन नि ! तर, मिल्ने एजेन्डा चाहिं पवित्र हुनुपर्‍यो ।

पुरञ्जन आचार्य पुरञ्जन आचार्य
२०८१ पुष १४ गते २२:३५

१४ औं महाधिवेशन पश्चात् डा. शेखर कोइराला–गगन थापा समूहले पार्टी सुधार्न साझा एजेन्डा तय गर्नुपर्ने थियो, तर बनाएको देखिएन । पार्टी सुधारका साझा एजेन्डा बन्न नसकेपनि राष्ट्रिय एजेन्डा बन्नुपर्ने थियो । पार्टी र देशका लागि शेखर–गगन बीच साझा एजेन्डा भएनन् ।

महाधिवेशन पछि नेताद्वयबीच यथोचित छलफल हुनसकेन । ‘कम्युनिकेसन ग्याप’ हुँदा दुवैतिरका व्यक्तिले चलखेल गर्ने काफी अवसर प्राप्त गरे । गगन सभापति हुँदा आफ्नो स्वार्थ पूरा हुने एकथरी हुन्छन् भने शेखर बन्दा अर्काथरि । गगन महामन्त्री भइसक्दा पनि आफ्नो स्वार्थ पूर्ति नभएको कैयनलाई लाग्दो होला ।

पदाधिकारीमा सर्वाधिक मत ल्याएर महामन्त्री जितेका गगनको हैसियत पार्टीबाट टिकट दिँदा देखियो भनेर सोच्ने पनि छन् । शेखरले ४० प्रतिशत मत ल्याएर पनि पार्टीमा हस्तक्षेपकारी भूमिका हुन सकेन ।

तर, यी दुवै एकताबद्ध भएको बेला मात्र हस्तक्षेपकारी भूमिका बेला सम्भव हुन्थ्यो । एकताबद्ध बनाउने माध्यम पार्टी र राष्ट्रिय एजेन्डा बन्न सक्ने थियो । पार्टीभित्र विसंगति, विचलन, अन्याय काफी छ । टिकट वितरण, समानुपातिक उम्मेदवार छनोट, पदाधिकारी चयन लगायतमा विसंगति छ । पार्टीको नाममा भ्रष्टाचार, अराजनीतिक क्रियाकलाप भइरहेको छ । पार्टी सुधारको एजेन्डा यी मुद्दा दुवै जनाले उठाउनुपर्नेछ । पार्टी सुधारको मुद्दा नहुँदा व्यक्ति–व्यक्तिको महत्त्वाकाङ्‍क्षा अगाडि बढ्यो ।

शेखर–गगन भक्तगणबाट मुक्त हुनसके भने मिलन सम्भव छ । शेखरलाई गगन पक्षबाट गाली गर्ने र गगनलाई शेखर पक्ष भएर गाली गर्ने र आफ्नो दुनो सोझ्याउन लाग्नेबाट मिलन अप्ठ्यारो बनिरहेको छ ।

कांग्रेसको परम्परागत नेतृत्व रहेको परिवारबाट आएका शेखर र सडक मार्फत संघर्ष गर्दै आएका गगन यो समूहका बलियो पक्ष हो । दुवैको आ–आफ्ना बलको संयोजनले ‘नयाँ कांग्रेस’ बन्ने अपेक्षा पार्टीमा थियो । दुवै एक ठाउँमा हुनुपर्ने कांग्रेसको आवश्यकता हो ।

शेखर–गगन दुवैले व्यक्तिगत महत्त्वाकाङ्‍क्षा छोडिदिनुपर्छ । कार्यकर्ताले आफ्नो इच्छाअनुसार जे दिन्छन्, त्यही पदमा पुग्ने हो । पार्टी एजेन्डा प्रमुख भयो भने शेखर–गगन विवादै हुँदैन । यहाँसम्म जे हुनु भयो भनेर दुवै जनाले आत्मसाथ गरेर अगाडि मिलेर जानुपर्छ भन्न सक्दा मिल्ने अवस्था पनि छ । तर, उनीहरूले त्यो कुरा आत्मदेखि महसुस गर्नुपर्दछ । कुण्ठा र महत्कांक्षा दुवैले त्याग्नुपर्दछ ।

शेखर–गगन भक्तगणबाट मुक्त हुनसके भने मिलन सम्भव छ । शेखरलाई गगन पक्षबाट गाली गर्ने र गगनलाई शेखर पक्ष भएर गाली गर्ने र आफ्नो दुनो सोझ्याउन लाग्नेबाट मिलन अप्ठ्यारो बनिरहेको छ ।

कांग्रेसका नेताहरूलाई आफूप्रति शतप्रतिशत बफादार व्यक्ति चाहिएको छ । आलोचना र सुझाव सुन्नै नचाहने प्रवृत्ति छ । उनीहरूको कुरालाई ‘डेन्टिङ पेन्टिङ’ गरिदिने व्यक्ति प्रीय हुने रहेछन् ।

शेखर–गगनको दुरी धेरै बढेकाले एक ठाउँमा आउन अप्ठ्यारो भइसकेको मेरो अनुमान छ । दुरी मेटाउन नदिनेहरू हाबी भइसके । तर, शेखर–गगनको मिल्ने आधार भने समाप्त भइसकेको छैन । व्यक्तिगत महत्त्वाकाङ्‍क्षा त्यागेर संवादमा बस्नुपर्दछ । पार्टीबाट पाउनुपर्ने पाइसकेका छन् । एक जनाले ४० प्रतिशत मत ल्याइसके । अर्को, चारपटक सांसद भइसके । गगनले पाएको अवसर डाह लाग्ने प्रकृतिको छ । क्षमता भएको व्यक्तिलाई पछाडि धकेल्नु हुँदैन भन्ने गगनका शुभचिन्तक धेरै थिए । कांग्रेसमा भित्र–भित्र सिध्याइएका धेरै व्यक्तिहरू पनि छन् ।

शेखरको स्वभाव गगनले नबुझेको जस्तो मलाई लाग्छ । शेखरले भन्दा गगनले कांग्रेसको बहुआयामिक विषय बढी बुझ्छन् । शेखरको स्वभाव बुझेर गगनले ‘ह्यान्डलिङ’ गर्नुपर्ने हो । शेखरसँगको सबल पक्षलाई लिएर गगनले संगत गरेको देखिएन । एक अर्काको सबल पक्षलाई ग्रहण नगरी कमजोरीलाई लिएर आफू–आफूमा आलोचना गरियो । एक अर्काको कमजोर पक्षलाई लिएर दुवैले प्रहार गरे ।

सभापतिमा निर्वाचित हुनेलाई पराजित हुनेले पार्टी चलाउन सहयोग गर्ने हो । न्यायपूर्ण ढंगले पार्टी चलाउने कार्य भएन भने सशक्त हस्तक्षेप भने गर्नुपर्दछ । शेखर–गगन एकताबद्ध नहुँदा देउवालाई मनमौजी भएको छ । संगठित हुन इतर पक्ष चुक्यो ।

अविश्वासको बीउ संसदीय दलको चुनावबाट रोपियो र खाडल ठूलो हुनथाल्यो । संसदीय दलको चुनावमा प्रतिस्पर्धा गर्ने शेखरको पनि इच्छा थियो । गगन संसदीय दलमा नउठेको भए शेखर पनि उठ्ने थिएनन् भनी गरिएका कुरा झूट हुन् । गगन उठ्न नखोजेको भए शेखर उठ्नै नै थिए । संसदीय दलको नेतामा उठ्न शेखरलाई ठूलो दबाब पनि थियो । शेखरसँग मैले धेरै संगत गरेको छु । सामाजिक, पारिवारिक, विराटनगर (समान भूगोल) लगायतका कारणले म नजिक छु ।

अलि पहिले शेखरलाई देउवासँग मिल्यो भनेर जसले भनिरहेको छ, उसैले अहिले गगन-देउवासँग मिल्यो भनिरहेका छन् । यस्तो भन्नेहरूले गर्ने चलखेल नै यस्तै कुरामा हो । सभापति र महामन्त्री मिल्नु खराब त होइन नि ! तर, मिल्ने एजेन्डा चाहिं पवित्र हुनुपर्‍यो ।

पार्टी/सांगठनिक हित, मुलुकका लागि मिल्न पनि पर्‍यो । मलाई सभापति बनाउनुपर्‍यो भनेर गगनले लत्रेर देउवासँग गएको जस्तो लाग्दैन । मैले बुझेको कोइराला परिवार अनुसार शेखर र देउवा त मिल्दै मिल्दैनन् ।

शेरबहादुर कहिले पनि गिरिजाप्रसाद कोइरालासँग आफ्नो समूहका लागि लडेको होइन । बरु, देउवाका समूहका अरू अरू लड्थे । गिरीजासँग लड्ने मुड देउवाको थिएन । शेखर पनि देउवासँग लड्ने होइन, पार्टी चलाउन दिने हो । पार्टीभित्र अन्याय भए खबरदारी गर्छु भन्नुपर्दछ ।

सभापतिमा निर्वाचित हुनेलाई पराजित हुनेले पार्टी चलाउन सहयोग गर्ने हो । न्यायपूर्ण ढंगले पार्टी चलाउने कार्य भएन भने सशक्त हस्तक्षेप भने गर्नुपर्दछ । शेखर–गगन एकताबद्ध नहुँदा देउवालाई मनमौजी भएको छ । संगठित हुन इतर पक्ष चुक्यो ।

महाधिवेशन सकिएको तीन वर्ष बितेको छ । संसद, पार्टी बैठकमा इतरका नेताले शेखर प्रभावकारी भूमिकामा एकदमै कम देखे । शेखरले चाहिने जति पनि संसद र केन्द्रीय समितिमा नबोलेको सत्य हो । बोल्दै नबोलेको भने होइन । मुख्य कुरा कतिपटक बोले होइन, के बोले भन्ने हो । आफूले बोलेका कुरालाई तार्किक निष्कर्षमा पुर्‍याएकी पुर्‍याएनन् भन्ने हो ।

शेखर–गगन मिल्न नसक्दा अर्को व्यक्ति नेतृत्वमा आउन पनि सक्छ । खराबै व्यक्ति आउन सक्ने सम्भावना प्रशस्तै छ । जोसँग पैसा छ, उही आउन सक्छ । पदाधिकारीमा पैसा हुने आइ सके त । हिजो महन्थ ठाकुर, रामबाबु प्रसाई कोषाध्यक्ष हुने कांग्रेसमा अहिले को आए ? शैक्षिक क्षेत्रमा असल होलान् पनि । कांग्रेसको कोष सम्हाल्न सक्ने व्यक्ति हुन् त ? पार्टी कर्पोरेट हाउस होइन नि ! कसैले विरोध गर्‍यो ? गलत मान्छेहरूको कांग्रेसमा बहुमत पुग्ने बेला भइसक्यो ।

(राजनीतिक विश्लेषक आचार्यसँग अनलाइनखबरकर्मी लिलु डुम्रेले गरेको कुराकानी)

लेखकको बारेमा
पुरञ्जन आचार्य

बरिष्ठ राजनीतिक विश्लेषक पुरञ्जन आचार्य नेपाली कांग्रेससँग वैचारिक निकटता राख्ने बुद्धिजीवी हुन् ।आचार्यले अनलाइनखबरमा विशेष गरी कांग्रेसको आन्तरिक राजनीति र यसले राष्ट्रिय राजनीतिमा पार्ने प्रभावबारे विश्लेषणात्मक रूपमा कलम चलाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?