
काठमाडौं । नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रमहरू सञ्चालन गरेको छ ।
टेलिकमले हरियाली संरक्षण तथा वृक्षरोपण कार्यक्रम अन्तर्गत काठमाडौंको माइतीघरदेखि तिनकुनेसम्मको सडक खण्डमा हरियाली संरक्षण तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ । यसै कार्यक्रम अन्तर्गत मौसमी फूलका बिरुवा रोप्ने, रुखहरू तथा दुबो रोप्ने, गोडमेल गर्ने र काँटछाँट गर्ने लगायतका सुन्दरता अभिवृद्धि गर्ने क्रियाकलाप पनि सञ्चालन गरिएको टेलिकमले जनाएको छ ।
टेलिकमले देशभरिका सामुदायिक विद्यालयहरूमा फर्निचर, कम्प्युटर, झोला, ट्रयाकसुट लगायतका विभिन्न भौतिक तथा शैक्षिक सामग्रीहरु उपलब्ध गराएको छ ।
साथै २० जिल्लाका १/१ सरकारी र सामुदायिक विद्यालयमा महिला स्वास्थ्यमा सहयोग पुग्ने गरी महिला स्वास्थ्य सामग्री सेनेटरी प्याड भेन्डिङ मेसिन पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
वातावरण सरसफाइ अन्तरग्त धार्मिक मठ मन्दिर, पुरातात्विक एवम् पर्यटकीय स्थल, बसपार्क, सार्वजनिक पार्क तथा बगैंचा लगायतका महत्त्वपूर्ण सार्वजनिक स्थलहरूमा आवश्यकता बमोजिम डस्टविन वितरण गरिएको छ ।
यसैगरी सातवटै प्रदेशका वृद्धाश्रम, बाल आश्रम, फरक क्षमता भएका व्यक्तिहरूलाई संरक्षण गर्ने संस्था तथा सामुदायिक केन्द्रहरूमा भोजन एवम् न्यानो कपडा र ब्ल्याङ्केट सहयोग गरिएको छ ।
टेलिकमले नेपालको सबैभन्दा पुरानो अस्पताल वीर अस्पताल लगायत अन्य सरकारी तथा सामुदायिक अस्पतालमा आउने बिरामीका कुरुवाहरुले आराम गर्न सहज होस् भन्ने उद्देश्यले बेड कम चेयर उपलब्ध गराएको कम्पनीको भनाइ छ ।
यसैगरी टेलिकमले विद्यालयहरूमा पटनपाठन कार्य सहज होस् र विद्यार्थीले इन्टरनेटको सहज प्रयोग गर्न सकुन् भन्ने उद्देश्यले फीटीटीएच सेवा पुगेका १०० वटा विद्यालयहरूमा ५० एमबीपीएस गतिको फीटीटीएच इन्टरनेट १ वर्षसम्मका लागि निःशुल्क उपलब्ध गराएको छ ।
त्यसैगरी फीटीटीएच सेवा नपुगेका ७ वटै प्रदेशका ५० विद्यालयमा १ वर्षसम्मका लागि नमस्ते वाइफाइ राउटर सहितको फोरजी इन्टरनेट प्याकेज निःशुल्क उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4