+
+

चार बिघामा फुल्न लागेको काउलीको पात डढ्यो, पत्ता लागेन रोग

काउलीले उत्पादन दिने मुख्य बेलामा दुई महिनाभन्दा बढीको मिहिनेत खेर गएको किसानले गुनासो गरेका छन् ।

अमृत चिमरिया अमृत चिमरिया
२०८१ पुष १४ गते २१:१०

१४ पुस,काठमाडौं । चितवन राप्ती नगरपालिका–८ खुरखुरेमा गरिएको काउली, बन्दा खेतीमा अनौठो रोग देखापरेको छ । खुरखुरेका किसानका बारीमा पात डढेर काउली, बन्दा बिग्रिने रोग देखा परेको हो । तर, रोग के हो भन्ने अझै पत्ता लगाउन सकिएको छैन ।

‘किरा लागेको पनि छैन, त्यस्तो असर गर्ने औषधि पनि हालेको छैन । फुल्न लागेको काउलीमा के रोग लाग्यो, थाहा छैन । अलिअलि फुलेको काउली पनि पात डढेपछि यत्तिकै फोस्रा भएर बसेको छ,’ स्थानीय किसान रामशरण ढुंगानाले भने ।

ढुंगानाका अनुसार सुरुमा काउली र ब्रोकाउलीमा देखिएको पात डढ्ने रोग अहिले बन्दामा पनि देखिन थालेको छ ।

‘मुखमा आएको बाली खेर गयो, रुन मात्रै सकिएको छैन । काउलीले उत्पादन दिने मुख्य बेलामा दुई महिनाभन्दा बढीको मिहिनेत खेर गयो,’ ढुंगाना गुनासो गर्छन् ।

उनले यसबारे राप्ती नगरपालिकालाई जानकारी दिए पनि अहिलेसम्म केही सम्बोधन नभएको गुनासो गरे ।

‘यहाँ उपप्रमुख सहितको टोली आएको थियो । तर, किसानलाई परेको समस्याबारे केही गरिएको छैन । डढेको पातको रोग पत्ता लगाउन कृषिका कर्मचारी आए पनि अहिलेसम्म खबर गरेका छैनन् । अब जोतेर छाड्ने बाहेक उपाय छैन,’ उनले भने ।

ढुंगानाको १० कट्ठासहित अन्य किसानको चार बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको काउली, बन्दामा रोग लागेको हो ।

ढुंगानाले १०–१२ दिन अगाडि ‘सिर्लोकसिल’ नामक रासायनिक औषधि हाले पनि त्यसको असर नभई अर्कै रोग लागेको दाबी गरे ।

‘यस्तो औषधि हालेर पहिला पनि केही भएको थिएन, यस्तो रोग देखिएकै पहिलो चोटि हो । सखापै भयो, अब बीमा पनि गरेका छैनौं । लगानी, मिहनेत सबै गयो,’ ढुंगानाले अनलाइनखबरसँग भने ।

त्यस्तै अर्का किसान शिवराज धरेलको १० कट्ठामा लगाइएको ब्रोकाउली र बन्दा, बुद्धिराज थपलियाको १० कट्ठाको बन्दा र गोविन्दराज कँडेलको १० कट्ठामा लगाइएको ब्रोकाउली सहित अन्य किसानका काउली, बन्दा र ब्रोकाउलीमा रोग देखापरेको हो ।

‘रोग हो कि औषधि प्रयोग भन्ने पत्ता लागेको छैन’

काउली, बन्दा र ब्रोकाउलीको पात डढेपछि खेतमै पुगेर निरीक्षण गरेकी राप्ती नगरपालिका कृषि अधिकृत कामना पोखरेलले भने अहिलेसम्म रोग वा औषधिको अत्यधिक प्रयोगले काउलीको पात डढेको भन्ने पत्ता नलागिसकेको बताइन् ।

‘एकैनासले काउली प्रजातिको तरकारीमा पात डढेको देखिन्छ, सँगै रहेको अन्य बालीमा देखिएको छैन । अन्य सँधियार रहेका ३–४ जना किसानको बारीमा यस्तो देखिएको हो,’ पोखरेलले भनिन् ।

झट्ट हेर्दा यो रोग नभई रासायनिक औषधिको अत्यधिक प्रयोग भएको देखिएको उनको भनाइ छ ।

पोखरेलले काउली, बन्दा र ब्रोकाउलीका नमुना कृषि तथा वन विश्वविद्यालय प्रयोगशाला पठाइएको बताइन् । ल्याब टेक्सियनले पनि प्रारम्भिक हेर्दा रासायनिक औषधिकै प्रयोगका कारण भने पनि ल्याब रिपोर्ट नआई भन्न सक्ने अवस्था नरहेको बताइन् ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?