पुस १४, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले २०औं एसियन गेम्सलाई परिणाममुखी बनाउन सकिने विश्वास व्यक्त गरेका छन् । मिसन २०२६ का लागि पौने तीन वर्षको तयारी हुने र त्यसबाट लक्ष्य पूरा हुने उनको विश्वास छ ।
घिसिङले सन् २०२६ मा जापानमा हुने २०औँ एसियन गेम्सको लागि हाल विशेष प्रशिक्षणमा रहेका विभिन्न खेलका खेलाडीहरूलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । १९औं एसियाली खेलकुद सम्पन्न भएलगत्तै २०औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित मिसन–२०२६ सुरु गरेको उनको भनाइ थियो ।
‘मिसन २६ अन्तर्गत विशेष तयारी प्रशिक्षण गत आर्थिक वर्षदेखि सुरु गरेका थियौं । हाम्रो यो तयारी करिब तीन वर्ष चल्छ । यो अवधिको प्रशिक्षणमा सहभागी हुने तपाईं खेलाडीहरूमध्येबाट लक्ष्य हासिल गर्न सकिन्छ भन्ने विश्वास छ,’ घिसिङले भने ।
सदस्यसचिव घिसिङले नेपालले अहिलेसम्म एसियाली खेलकुदमा स्वर्ण जित्न नसकेको बताउँदै अब लक्ष्य पूरा गर्नका लागि धेरै मिहिनेत गर्नुपर्ने बताए । ‘विगतमा के भयो के भएन त्यो बिर्सिनुस् । अब हामीले गर्ने बेला आएको छ । यो उपलब्धी हासिल गर्न साधारण मिहिनेतले पुग्दैन । असाधारण प्रयासबाट मात्र सम्भव हुन्छ । यो जिम्मेवारी तपाईं खेलाडीहरूसंगै प्रशिक्षकको पनि हो । राष्ट्रिय टिम तयारीको पनि हो,’ उनले भने ।
उनले प्रशिक्षणलाई थप प्रभावकारी बनाउन विदेशी प्रशिक्षक झिकाउने वा खेलाडीलाई विदेशमा पठाउने विषयमा योजनासहित खाका पेश गर्न सम्बन्धित राष्ट्रिय खेल संघलाई निर्देशन दिँदै तालिमले मात्र नपुग्ने भएकाले विश्वका स्तरीय खेलाडी र टिमसंग प्रतिस्पर्धा गर्नु पर्नेमा जोड दिए ।
घिसिङले मिसन २०२६ अनुरूप खेलाडीलाई प्रशिक्षणमा मात्र सीमित नगराइने बताए । तयारीका लागि अन्तर्राष्ट्रिय एक्सपोजर, सुविधा सम्पन्न फिटनेस र अन्य आवश्यक पर्ने सबै पक्ष खेलाडीले तयारीका क्रममा पाउने उनको भनाइ छ ।
उनले सातदोबाटोमा खेलाडीका लागि फिट्नेस सेन्टर निर्माणको कार्य चाँडै सकिने जानकारी गराउँदै स्पोट्र्स साइन्स ल्याबलाई आवश्यक पर्ने सामाग्री खरिदको प्रक्रिया पनि सुरु भइसकेको बताए ।
यसैगरी, उनले खेलाडीको पुरस्कारको व्यवस्था कानुनमै उल्लेख भएको हुँदा खेलाडीलाई ढुक्क भएर खेल्न आग्रह गरे ।
१ मंसिरदेखि सुरु भएको यो आर्थिक वर्षको विशेष प्रशिक्षणमा कराते, बक्सिङ, उसु, एथलेटिक्स, जुडो, कुस्ती, पुरुष र महिला कबड्डी, महिला भलिबल र गल्फका ८५ खेलाडी र १९ प्रशिक्षक समावेश छन् । कार्यक्रममा नेपालले विगतका एसियाडमा हासिल गरेको उपलब्धीको श्रब्य दृष्य पनि प्रदर्शन गरिएको थियो ।
सदस्यसचिव घिसिङको अवधारणा अनुरुप सन् २०२६ मा जापानमा हुने २०औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित गत आर्थिक वर्षदेखि पदकको बढी सम्भावना भएका विभिन्न खेलका खेलाडीलाई समावेश गरी विशेष तयारी प्रशिक्षण सुरु गरिएको थियो ।
कुनै पनि एसियाली खेलकुद सम्पन्न भएलगत्तै यति लामो समय आगामी संस्करणको तयारी थालिएको पहिलोपटक हो । एसियाली खेलकुदको कुनै पनि संस्करणमा नेपालले हालसम्म दोहोरो अंकमा जितेको छैन ।
एसियाली खेलकुदमा नेपाल हालसम्म स्वर्णविहीन पनि छ । सन् १९८६ मा दक्षिण कोरियको सिओलमा भएको एसियाली खेलकुदमा नेपालले बक्सिङ र तेक्वान्दोमा समान ४–४ गरी ८ कांस्य पदक जितेको थियो । संख्याका हिसाबले त्यो सिओल एसियाड नै नेपालले हालसम्म एसियाली खेलकुदमा जितेको सर्वाधिक पदक हो ।
१९औं एसियाडमा ऐतिहासिक रजत जितेकी कराँतेकी हाङझाव एसियाडको कराँतेमा ऐतिहासिक रजत जितेकी एरिका गुरुङले विशेष प्रशिक्षणबाट धेरै कुरा सिक्ने अवसर पाएको र यसले खेलमा सहयोग पुग्ने बताइन् ।
‘यो मिसन जसरी ट्रेनिङ गरेका छौँ त्यो नतिजामा प्राप्त हुनेछ । हिजो र आजको क्लासहरू अहिलेको आधुनिकसँग मिलेको छ । हामी खेलाडीहरूलाई डाइट एन्ड न्युट्रिसन र एन्टि डोपिङबारे जानकारी हुनुपर्छ र त्यो पायौँ भन्ने लाग्छ । यो क्लासहरूले फाइदा पुगेको छ । अहिलेसम्मको क्ला धेरै फाइदाजनक छ । बीचमा ब्रेक हुँदा त्यसको महत्व झन् धेरै बुझेको थियो,’ एरिकाले भनिन् ।
यसैगरी, भलिबलका मुख्यप्रशिक्षक जगदीश भट्टले ट्रेनिङका दौरान हुने विभिन्न कक्षाले ऊर्जा थप्नुका साथै मनोबल पनि बढाएको बताए । भट्टले यस अवसरलाई भरपुर उपयोग गर्नुपर्ने बताए ।
राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले सबैको संयुक्त प्रयासबाट मिसन सफल हुने विश्वास व्यक्त गर्दै आफूले ओलम्पिकमा जित्न नसकेको पदक, एसियाली खेलकुदमा जित्न नसकेको स्वर्ण अहिलेका खेलाडीले जितेर इतिहास रचेको खण्डमा आफैँले जितेसरह हुने धारणा व्यक्त गरे ।
प्रतिक्रिया 4