१५ पुस, काठमाडौं । भारतसँगको चौथो टेस्टमा अस्ट्रेलियाले शानदार जित हासिल गरेको छ । चौथो टेस्टमा भारतलाई हराउँदै अस्ट्रेलियाले टेस्ट च्याम्पियनसीपको फाइनलमा स्थान बनाउने सम्भावना थप बलियो बनाएको छ ।
अस्ट्रेलियाले दिएको ३४० रनको लक्ष्य पछ्याएको भारत अन्तिम दिनको अन्तिम सेसनमा १५५ रनमा अलआउट भयो । ओपनर यशश्वी जैसवाल क्रिजमा टिक्दै सर्वाधिक ८४ रन बनाएपनि पर्याप्त हुन सकेन । रिषभ पन्तले ३० रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
अस्ट्रेलियाका कप्तान प्याट कमिन्स र स्कट बोलान्डले ३-३ विकेट लिए भने नेथन लायनले २ तथा मिचेल स्टार्क र ट्राभिस हेडले १-१ विकेट हात पारे । अन्तिम दिनको पहिलो सेसनबाटै लक्ष्य पछ्याउन थालेको भारतले सबै विकेट गुमाएको हो ।
त्यसअघि पहिलो सेसनमा अस्ट्रेलियाले ४७४ रन बनाएर अलआउट भएको थियो भने जवाफमा भारतले नितिश कुमार रेड्डीको शतक मद्दतमा ३६९ रन बनाएको थियो । त्यसपछि अस्ट्रेलियाले १०५ रनको अग्रताबाट खेल्न सुरू गरी थप २३४ रन जोडेर कुल ३३९ रनको अग्रतासहित भारतलाई ३४० रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ ।
पहिलो टेस्टमा भारत विजयी हुँदा दोस्रो टेस्ट अस्ट्रेलियाले जितेको थियो भने तेस्रो टेस्ट ड्र भएको थियो । अब अन्तिम टेस्ट जनवरी ३ देखि हुनेछ ।
टेस्ट च्याम्पियनसीपको फाइनलमा दक्षिण अफ्रिका छनोट भइसकेको छ । अब भारतको सम्भावना कम भएको छ । भारतले अब एक खेल मात्र खेल्न बाँकी छ भने अस्ट्रेलियाले भारतसँग एक खेल र श्रीलंकासँग दुई खेल खेल्न बाँकी छ ।
वर्ल्ड टेस्ट च्याम्पियनसीप २०२३-२५ को फाइनल इंग्ल्याण्डको लर्ड्समा आगामी जुन महिनामा हुँदै छ । सन् २०१९ देखि सुरू भएको टेस्ट च्याम्पयनसीपमा हालसम्मका दुई संस्करणमध्ये न्युजिल्याण्ड र अस्ट्रेलियाले एक-एकपल्ट जितेका छन् ।
प्रतिक्रिया 4