+
+

माधव नेपाल भन्छन्- वामदेवसँग कुरा मिल्छ, भीम रावलको फोन उठेको छैन

आफूसँग निकट भएर लामो समय काम गरेका नेता भीम रावलसँग भने कुरा हुन नपाएको नेपालले सुनाए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १५ गते १८:१३

१५ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वामदेव गौतमसँग सौहार्द कुराकानीका क्रममा सँगै मिलेर जानेबारे छलफल भएको बताएका छन् ।

सोमबार पार्टी मुख्यालयमा गौतमसँग छलफलपछि अनलाइनखबरसँग संक्षिप्त कुरा गर्दै नेपालले गौतम आफ्नो पार्टीमा तेस्रो बरियताको वरिष्ठ नेता बनेर आउन सक्ने संकेत गरे ।

‘उहाँलाई तेस्रो वरियतामा स्वीकार्न पार्टीभित्र समस्या हुन्छजस्तो मलाई लाग्दैन, बरु यो कुरा छिटो टुंग्याउँ भन्ने छ,’ नेपालले भने, ‘उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको बाटोमा जाउँ भन्नुभएको छ । मैले पार्टीभित्र छलफलपछि यसतर्फ विचार गरौं भनेको छु ।’

पार्टीमा गाैतम आएको खण्डमा उनीभन्दा माथिल्लो वरियतामा सम्मानित नेता झलनाथ खनाल रहनेछन् । नेपालले गौतमसँग निकट केही नेताको व्यवस्थापनबारे छलफल क्रममा विषय प्रवेश गरे पनि समग्र धारणा बनाउँदा ती विषय स्वतः पर्ने बताए ।

यसअघि आफूसँग निकट भएर लामो समय काम गरेका नेता भीम रावलसँग भने कुरा हुन नपाएको नेपालले सुनाए ।

आफूले रावललाई फोन गरे पनि उनी सम्पर्कमा नआएको नेपालको भनाई छ । ‘मैले फोन गरेँ, तर रावलजीको फोन उठेको छैन,’ नेपालले भने, ‘विचार मिल्ने साथीहरू एक ठाउँ हुन खोज्ने कुरा सामान्य हो ।’

तर रावलले गैरकम्युनिस्ट चरित्रको छुट्टै पार्टी घोषणा गर्न लागेको सूचनाबारे तपाईंको के भनाई छ भन्ने प्रश्नमा भने नेपालले अनभिज्ञता प्रकट गरे ।

नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नसक्ने भनी विभिन्न नेताहरूको चर्चा चलिरहेकै बेला पार्टी पंक्तिभित्र उनीहरूसँग छलफल सुरु भएको छ । अध्यक्ष नेपाल आफैं केही छलफलमा सहभागी छन् ।

गौतमले एमाले प्रवेशलाई प्राथमिकता दिए पनि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले चासो नदिँदा उनी अब एकीकृत समाजवादी जान लागेका हुन् । रावल भने विगतमा एकीकृत समाजवादीकै नेतासँग बढ्ता निकट रहे पनि उनले आफ्नो बाटो स्पष्ट गर्न खोजेको देखिन्छ ।

नेपाल भने रावलसँग एकपल्ट खुलस्त संवाद गर्ने पक्षमा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?