
१५ पुस, काठमाडौं । गत असोज दोस्रो साता (१० देखि १२) सम्म परेको अविरल वर्षाका कारण देशभरि जनधनको ठूलो क्षति भयो । उक्त वर्षासँगै आएको बाढीपहिरोले वितण्डा मच्चाउँदा गम्भीर क्षति भयो ।
असोजको बाढी–पहिरोले मुलुकको अर्थतन्त्रमा साढे ४६ अर्ब रुपैयाँ बराबर आर्थिक क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणको प्रारम्भिक तथ्यांक छ ।
बाढी–पहिरोका कारण भएको क्षतिबाट निर्जीवन बीमातर्फ देशभरिबाट करिब १३ अर्ब रुपैयाँ बराबर बीमा मागदाबी परेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार ३ हजार ६ सय ७६ दाबीमार्फत १२ अर्ब ८८ करोड ९३ लाख ६१ हजारको कुल मागदाबी प्राप्त भएको छ । जसमध्ये ११ पुससम्म १ हजार ७ सय २० मागदाबीको १ अर्ब ५२ करोड १८ लाख ९ हजार बराबर दाबी भुक्तानी भएको छ ।
प्रदेशगत हेर्दा बागमती प्रदेश र त्यसपछि कोसी प्रदेशमा ठूलो क्षति पुगेको बीमा मागदाबी तथ्यांकले देखाउँछ । करिब १३ अर्ब रुपैयाँको मागदाबी परेकोमा बागमतीमा मात्रै ११ अर्ब २७ करोड ५५ लाख बराबर छ ।
बागमतीमा ३ हजार २ सय ९ मागदाबी परेकोमा १ हजार ५ सय ५ मागदाबीको १ अर्ब ३९ करोड ८० लाख रुपैयाँ दाबी भुक्तानी भइसकेको छ ।
यस्तै कोसीमा १ अर्ब २० करोडको मागदाबी रहेको छ । कोसीमा २ सय ६६ मागदाबी आएकोमा १ सय ५६ को ९ करोड ८२ लाख रुपैयाँ दाबी भुक्तानी भएको प्राधिकरणको तथ्यांक छ ।
बागमती प्रदेशमा सबैभन्दा धेरै क्षति काठमाडौंमा भएको छ । त्यसपछि ललितपुर र मकवानपुरमा छ । यस्तै कोसीको पाँचथरमा हाइड्रोपावरमा क्षति पुग्दा क्षति रकम उच्च छ ।
बागमती प्रदेशकै भक्तपुर र काभ्रेपलाञ्चोकमा पनि मागदाबी उच्च देखिएको छ । उपत्यका बाहिरका काभ्रेपलाञ्चोक लगायत जिल्लाका ग्रामीण क्षेत्रमा बढी क्षति भए पनि बीमा न्यून भएका कारण मागदाबी कम देखिएको बीमा कम्पनीहरूले जनाएका छन् ।
काठमाडौं उपत्यकामा सहरी क्षेत्रमा नै क्षति भएका कारण काठमाडौं, ललितपुर र भक्तपुरमा उच्च मागदाबी देखिएको छ । पाँचथर र मकवानपुरमा हाइड्रोपावरमा समेत क्षति पुग्दा त्यसले मागदाबी उच्च देखिएको हो ।
प्रारम्भिक मागदाबी पेस गर्दा उच्च रकम देखिए पनि बीमा सर्भेयरले क्षतिको यकिन विवरण तयार गर्दा मागदाबी भन्दा धेरै न्यून हुने गरेको छ । करिब १३ अर्बको मागदाबी भए पनि बीमा सर्भेयरले गएर क्षतिको यकिन विवरण दिँदा त्यसको एक चौथाइ पनि नदेखिने गरेको बिमा कम्पनीहरूको दाबी छ । सोही कारण मागदाबी र दाबी भुक्तानी भएको रकममा ठूलो अन्तर देखिने गरेको उनीहरूको तर्क छ ।
यसपालि बीमा कम्पनीले दाबी भुक्तानीका लागि आवश्यक कागजातमा सहजीकरण गर्दा समेत मागदाबी गर्नेले आवश्यक कागजात पेस गर्न ढिलाइ गर्दा दाबी भुक्तानी ढिलो भएको उनीहरू बताउँछन् । यद्यपि, बीमा कम्पनीले दाबी भुक्तानीलाई प्राथमिकतामा राखेको उनीहरूको तर्क छ ।

‘पीडित मागदाबीकर्ताले यतिको सामान थियो, क्षति भयो भन्ने लागेर मेरो यति क्षति भयो भनेको हुन्छ । तर, सर्भेयर गएर हेर्दा त्यहाँ पूर्णरूपमा क्षति भएको हुँदैन । पीडितलाई लागेको भन्दा कम क्षति भएको हुन्छ,’ एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले भने, ‘बीमा कम्पनीले मागदाबी संकलन गर्दा पीडितले मेरो यति क्षति भयो भनेकोमा १५ प्रतिशत थप गरेर बीमा प्राधिकरणलाई मागदाबीको विवरण बुझाउँछौं । सोहीकारण मागदाबी र वास्तविक क्षतिको दाबी भुक्तानीमा ठूलो अन्तर हुन्छ ।’
यसपालि साना–साना क्षतिको विवरण पनि धेरै आएकाले सानो रकमको मागदाबी गर्नेले कागजात जुटाउन समय लगाउँदा दाबी भुक्तानीमा समय लागेको उनले बताए ।
प्रतिक्रिया 4