
काठमाडौँ । चर्चित अभिनेता बुद्धि तामाङ अब फिल्म निर्माता बन्ने भएका छन् । तमु ल्होसारको अवसरमा सोमबार उनले निर्माण गर्ने कथानक फिल्म ‘कुस्ती’को निर्माण घोषणा गरिएको छ ।
धीरज मगर र मिरुना मगरको शीर्ष भूमिका रहने फिल्मको टिजर पोस्टर समेत सार्वजनिक गरिएको छ । फिल्मलाई अनिल योञ्जनले लेखन तथा निर्देशन गर्नेछन् ।
पोस्टरमा धीरजले हल्का गुलाबी पहिरन लगाएका छन् भने मिरुनाले हल्का हरियो रङको पहिरन लगाएका छन् । निर्माताले प्रेषित गरेको विवरणमा रङअनुुसार पात्रको मुड र स्वभाव दर्शाउन खोजिएको छ ।
जसअनुसार, धीरजको पात्रको स्वभाव भद्र र हेरचाह गर्ने किसिमको छ । ऊ रोमान्टिक र नम्र छ । मिरुनाको पात्र सम्बन्ध जोड्ने, हरेक कुरामा पर्फेक्ट खोज्ने स्वभावको छ । निर्माता समेत रहेका बुद्धि फिल्ममा निर्माताको रुपमा छन् ।
अनुषा सिनेमावुड पिक्चर्स प्रालीको ब्यानरमा बन्ने फिल्ममा एक युवायुवतीको प्रेम सम्बन्धलाई दर्शाइने निर्देशक योञ्जनले बताए । उनले भने, ‘उनीहरु एक अर्कालाई धेरै माया गर्छन् तर आ-आफ्नो स्वभावले गर्दा एकसाथ रहन कठिनाइको सामना गरिरहेका छन् । दर्शकले यो जोडीबाट गर्ने अपेक्षालाई पूर्ण गर्ने हाम्रो प्रयास रहनेछ ।’
निर्माता समेत रहेका अभिनेता तामाङले निर्माण कथावस्तु र टिमका कारण आफू निर्माणमा आएको बताए । उनले भने, ‘म यसै क्षेत्रमा छु । यसपटक कथावस्तु मनपर्नुका साथै टिम अनुभवी रहेकाले निर्माताको रुपमा अगाडि आएको छु । यसपटक सबैको साथ र सहयोगले यो यात्रा सफल हुनेमा विश्वस्त छु । हामी फिल्मको विषयमा अन्य जानकारी र टिमको परिचय बिस्तारै दिनेछौँ ।’
उनले छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको प्रेम कथा हो ‘कुस्ती’ रहेको बताए । काठमाडौँमा रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट, मोफसलमा एफडी कम्पनी वितरणको जिम्मा लिएका छन् ।
फिल्मको छायांकन फागुनदेखि काठमाडौंमा हुने जनाइएको छ । २०८२ सालको भदौमा प्रदर्शन लक्ष्य राखिएको छ ।
प्रतिक्रिया 4