+
+
बहस :

सारीमा नारी : पहिरन माथि बहस

राष्ट्रिय पोशाक सारीलाई कामकाजमा करले होइन; औपचारिक समारोह, भोजभतेर, विवाह, ब्रतबन्ध, पार्टी, भेला, रमाइलो मेलामा रहरले लगाउने पोशाकको रूपमा सीमित राख्नुपर्छ ।

समीक्षा दाहाल समीक्षा दाहाल
२०८१ पुष १६ गते १६:२३

सामाजिक सञ्जालहरूमा महिलाले विभिन्न रङ्गीचङ्गी सारीमा सजिएर ‘सारीमा नारी’ क्याप्सन राखेर फोटोहरू पोस्ट गरेको देख्न पाइन्छ । महिला प्राकृतिक रूपमै पनि सुन्दर देखिन्छन् । त्यसमा पनि झकिझकाउ गहना र आकर्षक सारीमा सजिएपछि सुन्दर नदेखिने कुरै भएन ।

यही सुन्दरतामा वैदिककालदेखि नै पुरुष मोहित हुने गरेका कथन र किंवदन्ती प्रशस्त सुन्न तथा धार्मिक सिरियलहरूमा हेर्न पाइन्छ । भगवान् शिव पार्वतीको रूप प्रति मोहित थिए । विष्णु भगवान् लक्ष्मीको रूप प्रति । सारीमै सजिएका अप्सराहरूको नृत्यमा देव सभामा देवताहरू मोहित हुन्थे ।

त्यसो त दैविककालदेखि नै महिला पुरुषको तृप्तिका वस्तु थिए । उनीहरू पुरुषका अगाडि झकिझकाउ सजिएर सेवामा हाजिर हुन्थे । श्रीमान्ले आफ्नी श्रीमती अरूभन्दा सुन्दर देखियोस् भन्नेमा ख्याल राख्थे । महिलालाई सजाएर राखिने वस्तुको रूपमा हेरिन्थ्यो । अहिले पनि यो सोच धेरथोर कायमै छ ।

समयले कालखण्डहरू पार गर्दै यो समयसम्म आइपुग्दा अब महिला तृप्तिको वस्तु मात्रै रहेनन् । उनीहरू पुरुषसँग काँधमा काँध मिलाई देश र समाज हाँक्न योग्य बने । त्यसको परिणाम कामकाजी महिलालाई पहिरनको बन्देजमा बाँधिएर पुरुषसँग काँधमा काँध मिलाएर अघि बढ्न कठिन हुन थाल्यो ।

त्यसैले उनीहरूले लगाउने पहिरन उनीहरूले नै छनोट गर्ने अधिकार हुँदाहुँदै पनि हिजोआज नारी र सारी माथि प्रशस्तै बहस हुन थालेका छन् । कतिपय सङ्घसंस्थाहरूले औपचारिक निर्णय गरेर नै सारी लगाउनुपर्ने नियम बनाएको गुनासो सुनिन्छ । महिलाले किन सारी नै लगाउनुपर्ने त ? यसको उत्तर हुन्छ– सारीमा शालीनता हुन्छ, सुन्दर देखिन्छ, अनुशासित लाग्छ ।

राजधानी बाहिरका केही अनुभवले देखाउँछ यो सोचेजति सजिलो छैन । कार्यालयका हाकिमहरू जसले खाएको थाल डाइनिङ टेबलमै छोडेर हिंड्ने सौभाग्य पाएका छन् उनीहरू महिला कर्मचारीलाई सारीमा आउन अनुरोध गर्दछन् । तर, त्यही ठाउँमा खाएको थाल डाइनिङ टेबलबाट टिपेर धोइपखाली थन्क्याएर अफिस आइपुग्ने हाकिम भएको भए उसले आफ्ना कर्मचारीलाई अनिवार्य सारीमा आउ भन्ने हिम्मतै गर्न सक्दैन ।

किनकि उसले बुझेको हुन्छ घरको काम सकेर समयमै कार्यालयको गेटभित्र छिर्नुको सकस । महिलालाई घरको भात–भाँडा सकेर बाहिर निस्कन कति धौ हुन्छ । पाँच मिटरको सारी बेर्न लाग्ने आधा घण्टा समय त्यसबेला आधा दिन जस्तै लाग्छ ।

म आफू पनि यो समस्याको एक भुक्तभोगी हुँ । मेरो कार्यालयमा पनि सारी ड्रेस छ । यसलाई दिनभरि घिसारेर आफ्नो जिम्मेवारी पूरा गर्न कतिको कसरत गर्नुपर्छ म र मेरा महिला सहकर्मीलाई थाहा छ । हामीमध्ये कतिपय सारी लगाएर साइकल चलाएर, कतिपय टाढाबाट बाइकमा दौड्दै र घडी हेर्दै कार्यालय आइपुग्छौं ।

कतिपय त घरमा नभ्याएर अफिसमै आएर लगाउँछौं । कति मित्रले साइकल र बाइकमा सारी पसेर दुर्घटना खेप्नु परेको छ । सुन्दा सामान्य लाग्ने यी समस्याले कामकाजी महिलालाई धेरै ठूलो असर पारेको हुन्छ ।

एउटा उदाहरण हरिमाया महिला स्वयम्सेवी हुन् । बिहान घरको काम सकेर १० बजे अफिस पुग्न उनलाई सकस पर्छ । आधा घण्टा साइकल चलाएर जानुपर्छ । फिल्डमा दिनभर हिंड्दा न जाडो न गर्मी उत्तिकै कठिन हुन्छ । कहिलेकाहीं त पानी परेर हिलो भएको बाटोमा सारी लगाएर साइकल चलाउनुपर्छ ।

‘कहिले घरमा बेर्नै भ्याउँदिन बोकेर जान्छु र अफिसमै पुगेर लगाउँछु’ उनले आवेग पोख्दै भनिन्, ‘यो सारी बेरेर मेरो हाकिमले एक फन्को बजार घुमेर आउनु हो भने त्यसपछि कहिल्यै सारी ड्रेस राख्ने थिएनन् होला !’

यस्तै शान्तिको अफिसमा पनि सारी डे«स छ । श्रीमान्सँग बाइकमा सँगै अफिस जान्छिन् । उनी भन्छिन्, ‘सधैं घरबाट निस्कन ढिला नै हुन्छ । एक दिन श्रीमान्लाई छिटो जान आग्रह गरें । हावा चलिरहेको थियो कतिखेर सारी बाइकको चेनमा पसेछ हामी दुवै लड्यौं । ठूलो दुर्घटनाबाट बाँचियो ।’

उनले थपिन्, ‘बाइकको चेन खोलेर काटेर सारी निकाल्नु पर्‍यो । अहिले त श्रीमान्ले सारी लगाएर बाइकमा बस्न पनि दिनुहुन्न । हाकिमलाई भनेको सारी त लगाउनै पर्छ बरु बोकेर आउनु भन्छन् । अहिले अफिसमै पुगेर लगाउने गर्छु । के गर्नु सारीकै कारण जागिर पनि कसरी छोडौं ?’

मीना गृहिणी हुन् । घरकाम भ्याएर खेतीमा निस्किन्छिन् । सासूससुरा, छोराछोरी, श्रीमान्सँग खेतीपाती गर्नु उनको जिम्मेवारीमा पर्छ । घरमा श्राद्ध, पूजा, चाडबाड आउँदा सारी लगाउनै पर्छ । लगाउँछिन पनि ।

एक दिनको कथा सुनाउँदै उनले भनिन्, ‘श्राद्धकै दिन छोरा बिरामी भएर हस्पिटल लैजानुपर्‍यो । आउँदा ढिला भएको थियो । त्यसैले सासूसँग सहमति लिएर कुर्था नै लगाएर खाना बनाउन भान्सामा के पस्न लागेकी थिएँ; ससुरा बा र पुरोहितले एकैमुख लागेर कराए ।’

उनले थपिन्, ‘सारी नलगाई पकाएको भात पितृलाई चढाउन मिल्दैन रे ! भन्न मन थियो सारी नलगाई दिएको पिण्ड चाहिं कसरी लिन्छन् त पितृले ?’ तर श्राद्धका दिन ससुरासँग के मुख लाग्नु भनेर बोलिनँ ।’

कल्पना शिक्षक हुन् । उनको विद्यालयमा पनि ड्रेस सारी छ । उनको स्कुलमा टाढाबाट आउने धेरै महिला शिक्षकहरू कोही साइकलमा, कोही हिंड्दै र कोही श्रीमान्सँग बाइकमा त कोही स्कुटरमा आउँछन् । सबैलाई घरको काम सकेर ९ः३० मा गेट भित्र छिर्न हतार हुन्छ । पाँच मिनेट ढिला भए रजिस्टरमा रातो लाग्छ । उनी भन्छिन्, ‘सारी सबैलाई घाँडो भएको छ । तर कति प्रयास गर्दा पनि हटाउन सकिएन ।’

सबिनाको गुनासो अर्कै थियो । उनले भनिन्– एक दिन मूलघरको पूजामा हतार हतार पुगें । देउरानी, जेठानी चटक्क सारी लगाएर पूजामा बसेका रहेछन् । सासूआमाले छिटो–छिटो हातखुट्टा धोएर आउन भन्नुभयो । म पूजामा बस्न मात्र के आँटेकी थिएँ, पुरेतबाले प्रश्न गरी हाल्नुभयो– खोइ सारी ? पूजाआजा, तिथिश्राद्धमा त लगाउनै पर्छ अरू बेला कर गर्‍या छैन । ल १० मिनेट सारी लगाउन्जेल पखौंला । म सारी नलिई आएँ । ल भयो म पूजामा बस्दिनँ भन्दै जुरुक्क उठें । सासूआमाले थामथुम गरेर मिलाउनुभयो ।

हो, सारी सुन्दर पहिरन हो यसमा सन्देह छैन । महिलाले परम्परादेखि पाएको यो आकर्षक पहिरन लगाउन पाउँदा हामी पनि खुसी हुन्छौं । तर यो करले होइन, रहरले लगाउन पाइयोस् । अनि मात्र सारीको महत्व बढ्दै जान्छ ।

तर हिजोआज जहाँ काम गर्न गइन्छ, दिनभर काममा जोतिनुपर्छ । अनि बिहानदेखि पाँच मिटरको कपडा घिसार्नुपर्छ । हामीले कहिल्यै आज असहज छ, बिरामी छु, हतारो चटारो छ, आज लगाउनै मन छैन भन्न नपाउने ? विस्तारै सारीलाई जबर्जस्ती सुन्दर देखिन लगाउने पहिरन बनाउन खोजिंदैछ ।

हिजोआज आमा, हजुरआमाहरूले पनि दैनिक जीवनमा सारी पहिरिन छोड्दै गएका छन् । हरिमायाका आमा, सासूआमाले कुर्था लगाउन थालेका छन् । अहिले उहाँहरू भन्न थाल्नुभएको छ, ‘हामीले सानैदेखि यति अप्ठ्यारो पहिरन लगाएर दुःख गरेछौं । कुर्था लगाउन त कति सजिलो हुँदो रहेछ !’

सानै उमेरदेखि सारी लगाएर परम्परा धान्दै आएका आमा र हजुरआमा त आफूले लगाएको सारी भन्दा अर्को सजिलो पोशाक चिनेर त्यही लगाउन थाले र आफ्ना छोरी र बुहारीलाई सारी लगाउन कर गर्न छाडे तर कार्यालयहरू जहाँ महिलाको भन्दा पुरुषको निर्णय चल्छ त्यहाँ अझै पनि सारी अनिवार्य छ ।

सारी जति सुन्दर छ, यसभित्र उत्ति नै कठिनाइ छन् । यसलाई जीउमा मिलाएर लगाउन सबै महिलाले जान्दैनन् । धेरैले अरूको सहयोगमा मात्र लगाउन सक्ने भएकोले चाडपर्व, भोजमा सारी लगाउन लाइन नै बसेको देखिन्छ । त्यसै पनि पाँच देखि ६ मिटरको लामो कपडा जीउमा मिलाएर लगाउन कम समयले पुग्दैन ।

पैतालादेखि काँधसम्म ढाकिने हुँदा यो लगाएर काम गर्न पनि कठिन हुन्छ । लामो यात्रामा सवारी साधनमा हिंड्नुपर्दा खतरा पनि हुन्छ । आगो अथवा चुलोको छेउमा बसेर पकाउँदा फेर आगोले टिपेको पत्तै हुँदैन । पहिरन जसले लगाउँछ, त्यसलाई सजिलो लाग्नुपर्छ र मन पर्नुपर्छ । कस्तो लुगा लगाउने, कस्तो लुगाले सुहाउँछ त्यो हरेक मानिसको आ-आफ्नो रोजाइमा भर पर्छ ।

कार्यालयहरूले एकरूपताका लागि छान्ने ड्रेस सजिलो हुनुपर्छ । कर्मचारीलाई सुन्दर देखिन होइन, दिनभरि काम गर्न तलब दिएको हो । उसबाट बढीभन्दा बढी कामको अपेक्षा राख्नुपर्छ । बढी काम लिन कर्मचारीले सहजता अनुभव गर्न पाउनुपर्छ । त्यसैले राष्ट्रिय पोशाक सारीलाई कामकाजमा करले होइन; औपचारिक कार्यक्रम, भोजभतेर, विवाह, ब्रतबन्ध, पार्टी, भेला, रमाइलो मेलामा रहरले लगाउने पोशाकको रूपमा सीमित राख्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?