
बच्चाका लागि खेलौना साथीजस्तै हुन्छ । उनीहरुले आफ्नो अधिकांश समय खेलौनासँग बिताउँछन् । बच्चाको खेलौनासँग भावनात्मक लगाव पनि हुन्छ र उनीहरूले खेलौनाबाट धेरै कुरा सिक्छन् । त्यसैले बालबालिकाका लागि खेलौना किन्दा उनीहरूको विकासमा सहयोग पुग्ने खालको रोज्नुपर्छ ।
साना बच्चाहरूलाई राम्रो खेलौना दिइयो भने उनीहरूको विकास र क्षमताको चरणहरूसँग मेल खान्छ । बच्चाहरू दिनको धेरै घण्टा खेलौनासँग खेल्छन् । उनीहरूले यी खेलौनाहरू भुईंमा राख्छन् र फोहोर हातले छुने गर्छन् । कतिपय बच्चाहरूले यी खेलौना आफ्नो मुखमा समेत राख्छन् । त्यसैले बच्चाको लागि खेलौना किन्दा अभिभावकले केही कुरालाई ध्यानमा राख्नुपर्छ ।
प्लास्टिकका खेलौना नकिन्दिने
बालबालिकाका लागि खेलौना किन्दा उनीहरूलाई प्लास्टिकका खेलौना दिनु हुँदैन भन्ने कुरामा ध्यान दिनुपर्छ । प्लास्टिकमा सिसा, फ्यालेट्स र क्याडमियम जस्ता विषाक्त रसायन पाइन्छ । जसले बालबालिकाको शारीरिक विकासमा असर गर्नुका साथै कतिपय अवस्थामा क्यान्सर पनि निम्त्याउन सक्छ । त्यसैले बच्चाका लागि प्लास्टिकको खेलौना नकिन्नु नै राम्रो हुन्छ ।
उनीहरू आफैंले खेल्न सक्ने खेलौना किनिदिने
बच्चालाई यस्तो खेलौना मन पर्छ, जसलाई उनीहरू आफैंले खेल्न सकुन् । त्यसैले उनीहरूको उमेर अनुसार खेल्न सक्ने खेलौनाको छनोट गर्नुपर्छ । बालबालिकाका लागि हानिकारक नहुने र बालबालिकाबाट लुकाउन आवश्यक नपर्ने खेलौना किन्नुपर्छ ।
खेलौनाको आकारमा पनि ध्यान दिने
खेलौना किन्दा बालबालिकाले मुखमा राख्न नसक्ने खेलौना किन्नुपर्छ । त्यसैले यस्तो अवस्थामा खेलौनाको साइज सधैं अलि ठूलो राख्नुपर्छ । साना कार, साना आकारका बल वा अन्य खेलौनाहरू जो सजिलै मुखमा जान सक्छन् त्यस्ता खेलौना किन्नु हुँदैन ।
तिखो खेलौनाबाट बच्ने
बच्चाको खेलौना किन्दा यो ध्यानमा राख्नुपर्छ । ती खेलौना बच्चाका लागि पूर्णरूपमा सुरक्षित होउन् । खेलौना किन्दा धारिलो वा चोटपटक लाग्ने खालको खेलौना किन्नु हुँदैन । त्यस्ता खेलौनाले बच्चालाई खेल्दा चोट पुर्याउन सक्छ ।
बिजुलीबाट चल्ने खेलौनाबाट बच्ने
बिजुलीबाट चल्ने कुनै पनि खेलौनाले बच्चाका लागि जोखिम निम्त्याउन सक्छ । बच्चाहरूले आफ्ना खेलौना फ्याँक्छन्, चलाउँछन् र उनीहरूलाई त्यसो गर्न मन पर्छ । यत्तिकैमा बच्चाले खेलौना मुखमा राख्न खोज्यो र सर्ट सर्किट भयो भने बच्चालाई ठूलो नोक्सान हुनसक्छ ।
एकै पटक धेरै खेलौना नलिने
बालबालिकाका लागि एकै पटक धेरै खेलौना किन्न नहुने कुरामा पनि अभिभावकले ध्यान दिनुपर्छ । धेरै खेलौना भएकाले बच्चालाई तिनीहरूसँग खेलिरहन्छन्, जसले गर्दा उनीहरूले नयाँ कुरा सिक्नमा कम रुचि देखाउँछन् ।
चर्को आवाज निस्कने खेलौनाबाट बच्ने
बच्चाका लागि सुरक्षित खेलौना किन्दा शारीरिक हानिबाट बचाउने मात्र नभएर अन्य कुरामा पनि सुरक्षित होस् भनेर ध्यान दिनुपर्छ । उदाहरणका लागि चर्को आवाजका खेलौनाहरू बालबालिकाका लागि खतरनाक हुन सक्छन्, किनकि यसले उनीहरूको सुनाइमा नराम्रो असर पार्न सक्छ । कुनै पनि ठूलो साइरन, गीत वा रेकर्डिङ भएको खेलौना किन्नु हुँदैन ।
प्रतिक्रिया 4