+
+

नेपालमै पहिलो पटक स्तन क्यान्सरको वंशानुगत परीक्षण सफल

थालियो बिरामीका नमुना परीक्षण

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १६ गते १५:२०

१६ पुस, काठमाडौं । नेपालमा पहिलो पटक वंशानुगत परीक्षण ‘जिन सिक्वेन्सिङ’ सम्भव भएको छ । हालसम्म यो परीक्षण नेपालमा गर्न सकिएको थिएन ।

अबदेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै यो परीक्षण गर्न सकिने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि यस्तो परीक्षणका लागि नमुना देशबाहिर पठाउनुपर्ने बाध्यता थियो । प्रयोगशालाले सफलतापूर्वक परीक्षण गरेलगत्तै वंशानुगत परीक्षण सम्भव भएको हो ।

अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका कुनै पनि भागबाट प्राप्त हुने स्तन क्यान्सरको वंशानुगत परीक्षणका लागि प्राप्त नमुना परीक्षण गर्न सक्ने प्रयोगशाला प्रमुख रञ्जनराज भट्टले जानकारी दिए ।

‘यस्तो परीक्षण पहिलो पटक सम्भव भएको हो,’ उनले भने, ‘अब देशबाहिर नमुना पठाउनु पर्दैन ।’

यस्तो परीक्षणले वंशाणुगत कारणले हुने स्तन क्यान्सर हुने सम्भावना कुनै व्यक्ति तथा उनको परिवारमा भए नभएको पत्ता लगाउनेछ । सोही आधारमा प्रारम्भिक चरणमै उपचार गर्न सकिएमा स्तन क्यान्सरबाट व्यक्तिका परिवारलाई जोगाउन सकिने चिकित्सकहरूको भनाइ छ ।

बाहिर पठाउँदा समय पनि बढी लाग्ने र शुःल्क पनि बढी तिर्नु पर्ने समस्या कम हुने भट्टले जानकारी दिए ।

प्रयोगशालाले रगत र टिस्युबाट यस्तो नमुना परीक्षण गर्ने बताएको छ । योसँगै प्रयोगशालाले क्यान्सरसम्बन्धी ४ थरीका नमुना परीक्षण नियमित थप गर्ने भएको छ ।

भारतमा स्तन क्यान्सरको वंशानुगत नमुना परीक्षणका लागि ६० हजार रुपैयाँसम्म पर्ने गरेको छ । र, नमूना पठाउनका लागि लाग्ने समय पनि बढी लाग्ने गरेको क्यान्सर अस्पतालका चिकित्सक बताउँछन् । तर प्रयोगशालाले भने ३० हजार रुपैयाँभित्रै परीक्षण गर्नेछ ।

नेपालमा वर्षमा करिब दुई हजार जनाले स्तन क्यान्सरको वंशानुगत परीक्षण गराउँदै आएका छ्न् ।

अहिले ती परीक्षण नियमित रुपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?