+
+

अनुराग कश्यप मुम्बई छाडेर साउथ जाने, भन्छन्- बलिउडसँग थाकिसकें

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १६ गते १७:१३
फाइल तस्वीर

काठमाडौं । बलिउड निर्देशक अनुराग कश्यपले मुम्बई छाड्ने फैसला लिएका छन् । हालैको एक अन्तर्वार्तामा उनले यस्तो बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आफूभित्र फिल्म बनाउने उत्साह सकिएको समेत उनले बताए । उनी यसको जिम्मेवार कलाकारको ट्यालेन्ट एजेन्सीलाई मान्छन् । एजेन्सीले कलाकार बनाउने भन्दा पनि स्टार बनाउने कुरामा जोड दिएको उनको आरोप छ ।

उनले फिल्म इन्डस्ट्रीमा रिमेक बनाउने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै नयाँ काम गर्ने अवसर नपाएको समेत बताए । अनुरागले अहिलेको समयमा बाहिर गएर नयाँ र फरक किसिमको फिल्म बनाउन नसक्ने बताए, किनकि सबै कुरा पैसामा निर्भर रहेको उनको तर्क छ ।

‘जहाँ निर्माता नाफा र मार्जिनबारे मात्रै सोच्छन्,’ उनले भने, ‘फिल्म बन्न सुरु हुनुअघि नै निर्माता यसलाई कसरी बिक्री गर्ने भन्ने बारेमा सोच्छन् । यसकारण यहाँ फिल्म बनाउने उत्साह सकिएको छ र आउने वर्ष म मुम्बई छाडेर साउथमा सिफ्ट हुने योजनामा छु ।’

‘म त्यहाँ जान चाहन्छु, जहाँ सबैजना काम गर्न उत्सुक होउन्,’ कश्यपले अन्तर्वार्तामा भने, ‘नत्र म बूढो मान्छे भएरै मर्नेछु । म आफ्नो उद्योगबाट निराश र थकित भएको छु । म उनीहरूको सोचबाट हैरान भएको छु ।’

अनुरागले हिन्दी सिनेमाको सोचबारे टिप्पणी गर्दै ‘मन्जुम्मेल ब्वाईज’को रिमेक नभएसम्म आफूले फिल्म बनाउन नसक्ने बताए । उनी कलाकारको ट्यालेन्ट एजेन्सीमाथि पनि आक्रोशित सुनिए ।

अनुरागले भने, ‘पहिलो पुस्ताका कलाकारहरूसँग काम गर्न निकै गाह्रो हुन्छ किनभने उनीहरूलाई स्टार बन्ने मन छ । उनीहरू अभिनय गर्न चाहँदैनन् । एजेन्सीले सुरुमा कसैलाई स्टार बनाउँदैनन्, तर जुन क्षण अभिनेता स्टार बन्छन्, उनीबाट धेरै पैसा लुट्छन् । तर उनीहरुको काम राम्रो प्रतिभाशाली अभिनेता खोज्नु हो ।’

‘ जब कुनै फिल्म बन्छ, सबैभन्दा पहिले त्यो अभिनेतालाई समातेर स्टार बनाउँछन् । त्यसपछि तिनीहरूले उसको दिमागमा गलत कुरा राख्छन् । उनीहरूले कलाकारहरूलाई वर्कशपमा पठाउने छैनन्, तर कसरतका लागि जिममा पठाउनेछन् । अब यो सबै ग्ल्याम–ग्ल्याम मात्र हो, किनभने सबैजना सबैभन्दा ठूलो स्टार बन्न चाहन्छन्,’ उनले भने ।

अनुरागले कलाकारको करिअरसँग खेलवाड गरेको आरोप पनि लगाएका छन् । उनले एकपटक एजेन्सीको कुरा सुनेर एक कलाकारले फिल्म छोडेको बताए ।

अनुरागले हिन्दी फिल्ममा कलाकार र स्टार ट्रिटमेन्टको महत्वबारे पनि टिप्पणी गरे । उनले यसलाई मलयालम फिल्म उद्योगसँग तुलना गरे । जहाँ कलाकार अलग–अलग काम गर्दैनन् तर सँगै आएर फिल्ममा काम गर्छन् । जसले गर्दा सुन्दरता झन् बढ्छ जुन हिन्दी सिनेमामा देखिंदैन ।

उनले यस स्टार ट्रिटमेन्टको जिम्मेवार ओटीटी स्ट्रिमिङ प्लाटफर्मलाई ठहराए । ‘स्ट्रिमिङ प्लाटफर्मले ल्याउने ट्रिटमेन्टले राम्रो फिल्म बनाउनुको सट्टा हामी कसरी स्टार बन्न सकिन्छ भन्नेमा केन्द्रित हुन्छौं,’ उनले भने, ‘खासगरी हिन्दी फिल्ममा स्ट्रिमिङ प्लाटफर्महरू आए र सायद उनीहरूले उद्योगमा आफ्नो स्थान बनाउन चाहन्थे । त्यसैले उनीहरूले अमेरिकाको काम गर्ने शैली पनि भारतमा सँगै ल्याए ।’

‘अहिले के भइरहेको छ भने सबैले स्टार ट्रिटमेन्ट चाहन्छन् नत्र अपमानित महसुस गर्नु गलत हो,’ अनुरागले अगाडि भने, ‘यो उद्योगको आधाभन्दा बढी समस्या भनेको ती मानिसले अपमानित महसुस गर्न थालेका छन् ।’

हालै आफ्नो नेपाल भ्रमणको क्रममा पनि अनलाइनखबरसँग कुरा गर्दै निर्देशक कश्यपले हिन्दी फिल्मको शैलीप्रति दुःखेसो गर्दै हिन्दी फिल्मभन्दा नेपाली फिल्मले विकास गरिरहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?