+
+

तीन कारण जसले तर्सिए सेयर लगानीकर्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १६ गते २०:२७

१६ पुस, काठमाडौं । मंगलबार सेयर बजार ३३ अंक घट्दा तीन महिनाकै न्यूनतम विन्दु २५७६ अंकमा झरेको छ । दिउँसो कारोबार भइरहँदा २५४६ अंकसम्म झरेको नेप्से अन्तिम आधा घण्टा केही सम्हालियो ।

बजारमा लगानीकर्ताको विश्वास घटेको छ । साउन ३१ गते ३००० अंकसम्म पुगेको सेयर बजार त्यसपछि घटेर असोज १३ गते २४६४ सम्म झर्‍यो । मंसिर १८ गते २७७५ अंकसम्म पुगेको बजार अहिले फेरि ओर्लिरहेको छ । बजार पुनः असोज १३ कै विन्दु २४६४ अंकसम्म झर्न सक्ने आँकलन हुन थालेको छ ।

बजारलाई बढी प्रभाव पार्ने पक्षहरु तरलता, ब्याजदरले साथ दिए पनि यतिबेला लगानीकर्ता डराउनुको मुख्य कारण – कर्णाली विकास बैंकले उब्जाएका शंकाहरु हुन् । यसअघि बियरिस पीडा भोगाइ ताजै रहेकाले लगानीकर्ताको मानसिकता अहिले त्यहींअनुसार प्रतिविम्वित भएको देखिन्छ ।

यतिबेला लगानीकर्ता त्रसित हुनुका पछाडि प्रमुखः तीन कारण छन् । पहिलो कारण हो – कर्णाली विकास बैंकबाट सिर्जित परिस्थिति । दोस्रो हो– दोस्रो त्रैमासिक रिपोर्टमा बैंकहरूको निष्क्रिय कर्जा बढ्ने आशंका र तेस्रो हो– पुस मसान्तमा ब्याज, साँवा बुझाउन पैसा जोहो ।

कर्णाली विकास बैंकलाई राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेकै दिनबाट सेयर कारोबार रोक्का रहेको छ । समस्याग्रस्त घोषणा भएपछि सम्पत्ति बन्धक हुँदोरहेछ भन्ने चेत लगानीकर्ताले पाएका छन् । ‘कसैले मूल्य उचालेका भरमा कमजोर कम्पनीमा लगानी गर्नु जोखिम हुन्छ भन्ने विषय अहिले छर्लंङ्ग भएको छ’ लगानीकर्ता सुवासचन्द्र ढुंगानाले भने ।

यहीं कारण हाल कमजोर वित्तीय विवरणका कम्पनीको मूल्य अहिले उच्च दरले घटिरहेको छ । आज मंगलबार पनि मूल्य धेरै घटेका कम्पनीमा जानाकी फाइनान्स, पोखरा फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, गुहेश्वरी फाइनान्स, सिन्धु विकास बैंक जस्ता कमजोर वित्तीय स्थिति रहेका कम्पनी अगाडि देखिए ।

अझ खासगरी यस दिन फाइनान्स सेक्टर सबैभन्दा धेरै ५ प्रतिशत घट्यो । निष्क्रिय कर्जा उच्च हुनेमा फाइनान्स कम्पनीको संख्या धेरै छ ।

कर्णाली विकास बैंककै कारण लगानीकर्तामा उब्जिएको अर्को शंका हो – निष्क्रिय कर्जा लुकाइनु । यस विकास बैंकले गत असोजमा मात्रै सार्वजनिक गरेको वित्तीय विवरणमा यस्तो कर्जा जम्मा ७.२६ प्रतिशत देखाएकोमा राष्ट्र बैंकको अनुगमनपछि ४०. ८५ प्रतिशत देखियो ।

यति भारी मात्रामा निष्क्रिय कर्जा बढी देखिनुले अहिलेका बैंक तथा वित्तीय संस्थाले पनि यस्तो कर्जा लुकाएका त छैनन् भन्ने शंका लगानीकर्तामा देखिएको छ । ‘कतै दोस्रो त्रैमासिक वित्तीय विवरणमा निष्क्रिय कर्जा केही बढी देखिने त होइन भन्ने शंका पनि लगानीकर्तामा देखिन्छ’ ढुंगानाले भने ।

बैंक तथा वित्तीय संस्थाहरुले आगामी माघ महिनामा दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्नेछन् ।

एउटा संस्थामा देखिएको कमजोरीलाई लिएर अरु मजबुत कम्पनीमा पनि शंका गर्नु भनेको आफ्नै घर जलाउनुजस्तै रहेको अर्का लगानीकर्ता पिताम्बर खकुरेल बताउँछन् ।

‘दोस्रो त्रैमासिक वित्तीय विवरण कमजोर आउँछ भनेर अहिले बजारमा शंका त देखिन्छ, तर त्यो शंकाले लगानीकर्तालाई नोक्सानी पर्ने हो’ उनले भने ‘भोलिका दिनमा आउने रिपोर्ट थप सुधार भएर आउन पनि सक्छ ।’

नियामक राष्ट्र बैंकले कर्णालीलाई आफ्नो नियन्त्रणमा लिएर उद्दार गर्दैछ । यो बैंकको पनि हाल सेयर कारोबार रोकिराख्नुपर्ने जरुरत नभएको उनले बताए ।

यद्यपि सीमित समूहले समस्याग्रस्त भएको कम्पनीको पनि सेयर मूल्यलाई उचालेर फसाउन सक्ने जोखिम भएकाले कारोबार रोक्नु जायज रहेको नेप्सेका एक अधिकारी बताउँछन् ।

बजार घटाउनुमा अर्को कारण पुस मसान्तको चाप पनि रहेको लगानीकर्ताको बुझाइ छ । ‘पुस मसान्तसम्म साँवा ब्याज तिर्नुपर्ने भएकाले त्यो रकम जोहो गर्नका लागि पनि सेयर बिक्री नै हुने हो’ ढुंगानाले भने ।

पछिल्लो समय सेयर धितोमा जाने कर्जा रकम बढेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक मसान्तसम्म कुल १ खर्ब ७ अर्ब रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?