+
+
Shares

नेपालमा ‘लिभेबल सिटी’ बारे के भन्छन् विज्ञहरू ?

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ३ गते १५:०२

३ पुस, काठमाडौं । नेपालमा ‘लिभेबल सिटी’ विषयमा बृहत् छलफल भएको छ । उक्त थिममा रहेर नेपालको शहरीकरणको अवस्था, शहरीकरणले जलवायु परिवर्तनमा पारेको प्रभाव, दिगो र वातावरणमैत्री शहर विकास लगायत विषयमा गत साता विज्ञ एवं सरोकारवाला व्यक्तिहरूसँग छलफल गरिएको हो ।

कार्यक्रमका विषयगत वक्ताहरूमा काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकाल, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र आर्किटेक्ट एवं अर्बन डिजाइन विज्ञ डा. विजयकृष्ण श्रेष्ठ सहभागी थिए ।

हरित र वातावरणमैत्री सहरी विकासबारे बोल्दै ललितपुर महानगरपालिकाका मेयर महर्जनले शहरमा धार्मिक, सांस्कृतिक, पुरातात्विक सम्पदादेखि विभिन्न प्रकृतिका स्थायी पूर्वाधार रहेकाले एउटै प्रणाली वा सूत्रले काम नगर्ने बताए । यद्यपि भएकै स्रोतसाधन र भूगोलअनुसार वातावरण एवं उपभोक्तामैत्री पूर्वाधार विकासलाई महानगरले जोड दिएको उनको भनाइ थियो ।

यस्तै काठमाडौं उपत्यका विकास प्राधिकरणका  विकास आयुक्त ढकालले काठमाडौं उपत्यकालाई व्यवस्थित, पर्यटकीय, पुरातात्विक र वातावरणमैत्री विकासका लागि प्राधिकरणले बृहत् गुरुयोजना बनाउन लागेको जानकारी दिइन् । यसका लागि उपत्यकाका सबै स्थानीय तहसँग छलफल भइरहेको उनले बताइन् ।

कार्यक्रममा अर्बन डिजाइन विज्ञ श्रेष्ठले सहरी विकास योजना तय गर्दा नेपालका परम्परागत ज्ञान, शीप र अभ्यासलाई पनि आत्मसात् गर्नुपर्नेमा जोड दिए ।

सहर विकास भनेको नयाँ भौतिक पूर्वाधार तथा पूर्वाधारको आधुनिकीकरण मात्र नभएको र यो मानव सभ्यता, संस्कृति र जीवनशैलीसँग पनि सम्बन्धित भएकाले विकासका योजनामा परम्परागत र आधुनिक दुवै प्रणालीलाई समायोजित गर्नुपर्ने धारणा उनले राखे ।

कुन ठाउँमा कुन मोडलमा विकासका काम गर्दा त्यो दिगो, व्यवस्थित र जनसमुदायमैत्री हुन्छ भन्ने विषयमा पहिले नै पर्याप्त अध्ययन, विश्लेषण गरिनुपर्ने समेत उनले औंल्याएका थिए ।

नेपालको वातावरणीय समस्या, चुनौती र समाधानका विषयवस्तुमा केन्द्रित विशेष कार्यक्रम ‘ग्रिड संवाद’ को चौथो अंकमा उक्त विषयमा छलफल गरिएको हो । कार्यक्रम पुस २ गते मंगलबार हिमालय टेलिभिजनबाट प्रसारण भएको थियो ।

कार्यक्रमको पहिलो अंक नेपालमा वायु प्रदूषणको अवस्था, यसले ल्याएका जनस्वास्थ्य समस्या, विकास र अर्थतन्त्रमा पारेको प्रभाव, दोस्रो अंक कृषि क्षेत्र र तेस्रो अंक वन क्षेत्रमा केन्द्रित थियो ।

‘नेपालको हरित, उत्थानशील र समावेशी विकासतर्फको मार्ग बुझ्न’ थिम रहेको कार्यक्रम कम्तीमा ७ अंक प्रसारण हुनेछ । कार्यक्रम हिमालय टेलिभिजनका साथै आधिकारिक फेसबुक पेज र युट्युबमार्फत पनि प्रसारण हुने गरेको छ । कार्यक्रम प्रस्तोता पूर्व मिस नेपाल सुगरिका केसी हुन् ।

कार्यक्रममा जल–कृषि–वनको आपसी सम्बन्धबाट उचित लाभ प्राप्त गर्न भूपरिधि व्यवस्थापन, विपद् जोखिम व्यवस्थापन, पूर्वतयारी र सामाजिक सुरक्षा, दिगो तथा समावेशी भूमि प्रशासन, दिगो र उत्थानशील सडक र यातायात, नेपालको नवीकरणीय ऊर्जा सम्भाव्यताको प्रचुर मात्रामा उपयोग, हरित, उत्थानशील र समावेशी सहर, उत्थानशील खानेपानी तथा सरसफाइ, वायु गुणस्तर सुधार, प्लास्टिक सहित ठोस फोहोरमैलाको दिगो व्यवस्थापन लगायत विषयवस्तुमा विज्ञ, सरोकारवाला एवं सम्बद्ध निकायका प्रतिनिधिसँग बहस, पैरबी एवं विश्लेषण गरी निचोडमा पुग्ने प्रयास गरिन्छ । यस्तै वातावरणीय शासन, लैंगिक तथा सामाजिक समावेशीकरण, निजी पूँजी परिचालन, डिजिटल विकासलाई गति लगायत विषयवस्तु समेत कार्यक्रममा समावेश गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?