+
+

राजधानीमा साना हतियारको डर

होटलमा बेवारिस पेस्तोल फाल्नेदेखि घरभित्रै छिरेर गोली दाग्नेसम्मका घटना पछिल्लो समय राजधानीमा भएका छन् । लागूऔषध कारोबारीदेखि सुन तस्करी र हत्याका योजनाकारसमेतले पेस्तोल बोक्ने गरेका छन् । यसले राजधानीमा साना हतियारको डर थपेकाे छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८१ पुष १७ गते १३:३०

१६ पुस, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित मूलपानीमा शनिबार राति साढे १० बजेतिर गोली चल्यो । पूर्वसैनिकसमेत रहेका अर्जुन श्रेष्ठको घरभित्र पसेर अर्जुन र उनकी श्रीमती शान्तादेवीमाथि गोली प्रहार भएको थियो ।

तत्कालै स्थानीय प्रतिकारमा उत्रिए र गोली चलाउने शाहिर शंकरलाई नियन्त्रणमा लिए । पेट र घाँटीमा गोली लागेका श्रेष्ठ दम्पतीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ । स्थानीयको प्रतिकारमा घाइते भएका शंकरको पनि राष्ट्रिय ट्रमा सेन्टरमा उपचार चलिरहेको छ ।

शंकरबाट प्रहरीले म्यागजिनसहितको एक थान अटोमेटिक पेस्तोल, म्यागजिनमा लोड भएको चार राउन्ड गोली, पड्केको अवस्थामा एक राउन्ड गोली र शंकरको ज्याकेटबाट थप पाँच राउन्ड गोली बरामद गर्‍यो ।

मार्ने उद्देश्यसहित शंकरले शान्दादेवीमाथि सुरुमा गोली हानेका थिए । शान्तादेवीको घाँटीको छेउको भागबाट गोली उछिट्टिएर अजुर्नको पेटमा लागेको थियो । अर्जुनको पेटमा अड्केको गोली छाउनी अस्पतालमा निकालिएको छ ।

‘अटोमेटिक पेस्तोल र १० राउन्ड गोली लिएर मध्य राति श्रेष्ठ दम्पत्तिको घरमा जानु र घाँटीमै गोली प्रहार गर्नुले हत्याकै योजना रहेको देखिन्छ । उनले सोधपुछका क्रममा समेत स्वीकारेका छन्,’ प्रहरीका अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने ।

पूर्वसैनिक दम्पतीलाई मार्ने योजनामा प्रयोग भएको पेस्तोल शंकरले भारतबाट ६० हजार रुपैयाँमा खरिद गरेर ल्याएको बताएका छन् । ती अनुसन्धान अधिकृतले भने, ‘शंकरले भारतबाट ६० हजार रुपैयाँ पेस्तोल र गोली खरिद गरेर ल्याएको बताएका छन् । पेस्तोल खरिद गर्नुको मुख्य उद्देश्यर पूर्वसैनिक दम्पतीको हत्यासँग जोडिएको देखिन्छ ।’

गोली प्रहार गर्ने शंकरदेखि पूर्वसैनिक दम्पतीसमेत अस्पतालमा रहेकाले यो घटनाको विस्तृत अनुसन्धान बाँकी नै रहेको छ । प्रारम्भिक अनुसन्धानका क्रममै शंकरले हत्यासम्मको योजनाअनुसार नै भारतको बिहारबाट एक थान पेस्तोल र १० राउन्ड गोली सहजै खरिद गरेर ल्याएको बताएका छन् । प्रहरी भन्छन्, ‘दक्षिण सीमा पार गर्ने बित्तिकै सहजै उपलब्ध हुने यस्ता हतियारले सुरक्षा चुनौती थपेको छ ।’

विज्ञ भन्छन्– अपराधमा संलग्नहरूले सीमावर्ती भारतीय शहरहरूबाट साना हतियार खरिद गरेर सहजै काठमाडौं भित्र्याउने गरेको पाइन्छ । सीमा नाकामा कडाइले मात्रै साना हतियारको चुनौती न्यूनीकरण हुँदैन, त्यसलाई रोक्न राज्यले सूचनामा लगानी गर्नुपर्छ

पूर्वसैनिक दम्पतीमाथि मध्यराति घरमै गोली प्रहार भएको भोलिपल्ट १४ पुसको दिउँसो ११ बजे काठमाडौं महानगरपालिका– ३२ कोटेश्वरबाट ९ एमएम पेस्तोल, म्यागजिन र ९ राउन्ड गोलीसहित ३३ वर्षीय सनराइज खड्का पक्राउ परे । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीबाट खटिएको प्रहरी टोलीले कोटेश्वरको होटल बिश्पुलको कोठा नम्बर ४०१ बाट खड्कालाई पेस्तोल र गोलीसहित पक्राउ गरेको थियो ।

यो घटनाको अनुसन्धान जिल्ला प्रहरी परिसर काठमाडौंले सुरु गरेको छ । रानिपोखरीका एसएसपी विनोद घिमिरेका अनुसार खड्काले भारतबाट खरिद गरेर पेस्तोल बोकेका हुन् । प्रहरी उच्च स्रोतका अनुसार उनी लागुऔषध दुव्र्यसनीसमेत हुन् । लागूऔषध कारोबारी तथा सेवनकर्ताले सुरक्षाका लागि र धम्क्याउन समेत पेस्तोल बोक्ने नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी बताउँछन् । लामो समय लागूऔषध नियन्त्रण ब्यूरोमा रहेर अवकाश भएका मल्ल भन्छन्, ‘विशेषगरी, लागूऔषध कारोबारीहरूले सामान नलुटियोस् भनेर हतियार बोक्ने गर्छन् ।’

मल्लले भनेजस्तै यसअघि २६ मंसिर २०८० मा ललितपुरको झम्सिखेलमा गोली चलाएर लागूऔषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको थियो । उदयपुरको गाईघाटका ४० वर्षीय अविनाश राईबाट ४८५ ग्राम एम्फेटामाइनका साथै कटुवा पेस्तोलसमेत बरामद गरेको थियो ।

अझ त्यसअघि २३ साउन २०७४ मा लागूऔषध कारोबारी र सेवनकर्तासमेत रहेका ३२ वर्षीय प्रवीण खत्री प्रहरी ‘इन्काउन्टर’मा ललितपुरको कुसुन्तीमा मारिएका थिए । त्यतिबेला काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीबाट दुई थान पेस्तोलसमेत बरामद गरेको थियो । यी घटनाहरूले लागूऔषध कारोबारीहरूले पेस्तोल बोक्ने गरेको दाबीलाई एक हदसम्म पुस्ट्याईँ गरेका छन् ।

दुईदिनको अन्तरमा संघीय राजधानीको दुई फरक ठाउँमा दुई अटोमेटिक पेस्तोल बरामद हुनुअघि पनि राजधानीमा साना हतियार (पेस्तोल) बरामद भएका थिए ।

२१ कात्तिकमा काठमाडौं महानगरपालिका– २६ ठमेलस्थित यति कोजी होटलबाट कटुवा पेस्तोल एक थान र ४ राउन्ड गोली प्रहरीले बरामद गरेको थियो । उक्त होटलको पहिलो तलामा रहेको कोठा नम्बर २०२ भित्र होटलको स्टाफले सरसफाई गर्ने क्रममा पेस्तोल र गोली देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उक्त हतियार बरामद गरेको हो । उक्त हतियार कसले ल्याएर छाडेको हो भन्नेबारे अहिलेसम्म केही खुल्न सकेको छैन । हतियारबारे अनुसन्धान जारी राखेको बताइए पनि यसको वास्तविक पहिल्याउन प्रहरीले सकेको छैन ।

अलपत्र अवस्थमा होटलमा भेटिएका हतियारदेखि व्यक्ति हत्या योजनासम्ममा अहिले संघीय राजधानी काठमाडौंमा साना हतियारको प्रयोग बढेको प्रहरीको तथ्यांकले देखाउँछ । विशेषगरी, साना हतियारहरू लागूऔषध कारोबारी, सुन तस्करहरूले प्रयोगमा ल्याउने गरेको प्रहरीको रेकर्डमा देखिन्छ । उनीहरूले लुट्न वा लुटिनबाट जोगिन हतियारको सहारा लिने गरेको बुझाई पूर्वडीआईजी मल्लको छ ।

यसअघि ६० किलो सुन तस्करीमा गत जेठमा पक्राउ परेका चिनियाँ नागरिक कुंग टासी शेर्पा (नेपाली नक्कली नागरिकता निकालेका) बाट हतियार र गोली प्रहरीले बरामद गरेको थियो । कपनस्थित आफ्नो फ्ल्याटबाट पक्राउ परेका टासीबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ७ राउन्ड गोली लोड भएको जर्मन अटोमेटिक पेस्तोल नियन्त्रणमा लिएको थियो ।

टासीलाई पक्राउ गर्दाका सीआईबीका तत्कालीन एआईजी श्यामलाल ज्ञवाली (हाल अवकाश)ले उनले हतियार राख्नुको पछाडि सुन लुटिनबाट जोगाउनु भन्ने उद्देश्य देखिएको बताएका थिए । अक्सर अवैध आर्थिक धन्दामा लागेकाहरूलाई आफ्नो सामानको सुरक्षाका लागि भन्दै साना हतियारको प्रयोग गर्ने गरेको यस्ता घटनाहरू पुष्टि गर्छन् ।

यसअघि ३ असोज २०७९ मा सीमावर्ती भारतबाट तराई हुँदै काठामाडौंसम्म पेस्तोल ल्याएर गोठाटारमा संसाझै लाल मोहम्मदको हत्या गरिएको थियो । त्यसपछि केही शान्त रहेको काठमाडौंमा घरभित्रै पसेर गोली दागिएपछि साना हतियार चुनौतीपूर्ण बन्दै गएको देखिएको छ ।

यसअघि ६ वैशाखमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका– ५ नयाँबस्तीबाट हतियारसहित निर्माण व्यवसायी मिमसिंह लामा पक्राउ परेका थिए । काभ्रेको रोशी गाउँपालिका–५ स्थायी घर भएका ३८ वर्षीय लामालाई प्रहरी वत्त बौद्धको टोलीले पेस्तोल र त्यसमा लाग्ने ४ राउन्ड गोलीसहित पक्राउ गरेको थियो ।

काठमाडौंकै पहेंलो पुलनजिक बा. १८च ८३६१ नम्बरको जीपमा हतियारसहित हिंड्दै गरेको अवस्थामा सेमिअटोमेटिक पेस्तोलसहित उनी पक्राउ परेका थिए । अनुसन्धानका क्रममा पेस्तोलको बलमा धम्क्याएर ठेक्का–पट्टा हत्याउन उनले हतियार प्रयोग गरेको खुलेको थियो ।

पोखरामा ठेक्का तथा क्रसर सञ्चालनको विषयमा विवाद भएपछि उनी काठमाडौंबाट पेस्तोल बोकेर पोखरा जाँदै थिए । निर्माण व्यवसायमा लाग्दा गुुण्डागर्दी हुने, काममा अवरोध गर्ने, कमिसन बुझाउनुपर्ने र नदिए धम्कीसमेत आउने गरेकाले पेस्तोल बोकेर हिँड्ने गरेको उनको दाबी थियो ।

‘राम्रो ढंगले काम गर्दा विभिन्न किसिमका अवरोधहरू आउने, गुण्डागर्दी शैलीका कारण बाधा सिर्जना हुने भएकाले तर्साउनका लागि भए पनि पेस्तोल बोक्नुपर्ने रहेछ भन्ने सोचेर पेस्तोल बोक्न थालेको हुँ,’ लामाले बयानमा भनेका थिए । त्यसपछि भारतबाट ८० हजार नेपाली रुपैयाँमा पेस्तोल खरिद गरेर बोकेको बताएका थिए । यी घटनाहरूले पेस्तोलको बलले ठेक्का–पट्टा हत्याउनका साथै, हत्या, लुटपाट र लुटपाटबाट जोगिनसमेत पेस्तोल बोक्ने गरेको देखाउँछ ।

यसका साथै, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका अनुसार एकातर्फ अटोमेटिक पेस्तोल युएसए लेखिएको र अर्कोतर्फ ६५ नं. १ लेखिएको गोली नभएको पेस्तोल, ८ एमएमकेएफ लेखेको गोली ४ राउन्ड, कटुवा पेस्ताल पनि काठमाडौंबाट बरामद भएका छन् । उपत्यका प्रहरी कार्यालयका एसएसपी घिमिरे भने साना हतियार बढेको भन्दा पनि प्रहरी अपरेशन तीव्र भएकाले हतियारसहित मान्छे पक्राउ पर्ने संख्या बढेको रुपमा बुझ्नुपर्ने तर्क गर्छन् । ‘हतियार तथा गोलीहरू बरामद बढी हुन थाले पनि प्रहरी सक्रियता पनि बढेको रूपमा बुझ्न आवश्यक हुन्छ’ उनी भन्छन् ।

सीमावर्ती तराईका जिल्लाहरूमा हतियार फाटफुट बरामद भइरहनुले पनि त्य स्ता हतियारको कनेक्शन राजधानीसम्म पुग्ने र सुरक्षा चुनौती बढाउने सुरक्षाका जानकारहरूको बुझाइ छ । यसअघि ३ असोज २०७९ मा सीमावर्ती भारतबाट तराई हुँदै काठामाडौंसम्म पेस्तोल ल्याएर गोठाटारमा संसाझै लाल मोहम्मदको हत्या गरिएको थियो । त्यसपछि केही शान्त रहेको काठमाडौंमा घरभित्रै पसेर गोली दागिएपछि साना हतियार चुनौतीपूर्ण बन्दै गएको देखिएको छ ।

यस्ता हतियार नियन्त्रणमा राज्यले सूचनामा लगानी गर्नुपर्ने बुझाई पूर्वडीआईजी मल्लको छ । ‘कि आपराधिक गिरोहभित्रै टसल भएपछि यस्ता सूचना बाहिर आउँछन् कि राज्यले लगानी गर्नुपर्छ नत्र भने घटना भइसकेपछि मात्रै प्रहरीको जानकारीमा आउँछन्,’ मल्ल भन्छन्, ‘सीमा नाकामा कडाइ एउटा पाटो होला तर त्यतिले मात्रै यो हतियारको चुनौती न्यूनीकरण सम्भव हुँदैन । राज्यले सूचनामा लगानी गर्नुको विकल्प छैन ।’

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?