+
+

‘न्यायपालिकाबाट बिचौलियालाई विस्थापित गर्नुपर्छ’

न्यायालयमा तरमारा वर्ग, बिचौलिया, सिन्डिकेटधारी लगायतको चलखेलले आम मानिसमा निराशा छ । बारलाई प्रभावकारी नेतृत्व प्रदान गरेर छिटोछरितो र विश्वासिलो रुपमा न्याय सम्पादन गर्ने पद्धतिको विकास गर्नुपर्छ ।

प्रेम सिंह धामी, स्वतन्त्र उम्मेदवार प्रेम सिंह धामी, स्वतन्त्र उम्मेदवार
२०८१ पुष १७ गते ११:०२

सर्वोच्च अदालत बार एशोसिएसनको नेतृत्वमा तपाईंको उमेद्वारी किन र केका लागि हो ?

देशकै महत्त्वपूर्ण र बौद्धिक व्यक्तित्वहरु सदस्य रहेको सर्वोच्च अदालत बारको यो निर्वाचन धेरै दृष्टिकोणबाट अत्यन्तै महत्त्वपूर्ण छ । यो निर्वाचनलाई केवल नेतृत्व चयनका आधारमा मात्रै केन्द्रित रहेर हेर्नुभन्दा पनि नेपालको समग्र न्याय प्रणालीमा नै सुधारका लागि केही उल्लेखनीय काम गर्न सक्ने जुझारु, लगनशील, इमानदार, कर्तव्यनिष्ठ, निष्कलंक व्यक्तित्व नेतृत्वमा स्थापित हुनु अनिवार्य छ ।

न्यायालयको गरिमा कायम राख्ने काम कानुन व्यवसायीमा निहित रहन्छ, वरिष्ठ कानून व्यवसायीहरु सदस्य रहेका सर्वोच्च बारको भूमिकाले सर्वोच्च अदालतको गरिमालाई उच्च राख्न सफलता मिल्ने हो । अहिले हाम्रो न्यायलयमा तरमारा वर्ग, विचौलिया, सिन्डिकेटधारी लगायतको संलग्नता र चलखेलका कारण आमजनमानसमा निराशा पैदा भएको छ ।

न्यायालयलाई प्रभावमा पार्ने, स्वार्थ समूहको विपक्षमा लाग्ने कानुन व्यवसायीहरुलाई कार्यालयमा नै गएर धम्की दिने, पेशाप्रति असुरक्षित गराउने प्रवृत्ति समेत हावी छ । कानुन व्यवसायीले भोग्नुपरेका समस्यामा बार नेतृत्वले ध्यान दिन सकेको अवस्था छैन ।

यस्तो परिस्थितिमा हुन लागेको यो निर्वाचनबाट बारलाई प्रभावकारी नेतृत्व प्रदान गर्ने मात्रै नभएर न्यायसम्पादनमा कानुन व्यवसायीहरुको भूमिका सकारात्मक र प्रभावकारी बनाउँदै छिटोछरितो र विश्वासिलो तरवले न्याय सम्पादन गर्ने पद्धतिको विकासका लागि योगदान गर्न सक्ने नेतृत्व स्थापित गर्नुपर्छ, यही विषयलाई आधार बनाएर मैले यो निर्वाचनमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेको छु ।

तपाईं निर्वाचित भएमा के कस्ता मुद्दा र सवाल सम्बोधन गर्नुहुन्छ ?

तरमारा र बिचौलिया वर्गले बारको नेतृत्वलाई प्रभावित पारी न्यायपालिकाको गरिमा समाप्त गर्ने काम गरेका छन् । न्यायपालिकालाई बचाउन लाग्नुपर्छ, सेवाग्राहीले सर्वसुलभ न्याय प्राप्त गर्नसक्ने वातावरणका लागि जोड दिनुपर्छ । स्वच्छ छवि भएका व्यक्तिहरु न्यायाधीश हुने वातावरण सृजना हुनुपर्छ ।

वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल नेतृत्वको प्रतिवेदन अनि पूर्व प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले तयार पारेको अदालत शुद्धीकरण गर्ने प्रतिवेदनलाई जस्ताकोत्यस्तै कार्यान्वयन गरिनुपर्छ । यो सर्बोच्च बारले उठाउनु पर्ने मुख्य मुद्दा हो ।

यी एजेण्डा अरु प्रतिस्पर्धीले पनि उठाएका छन् । तपाईंलाई नै मत दिनुपर्ने आधार के हो ?

सर्वोच्च बार भनेको बौद्धिक वर्ग, वरिष्ठतम्, वरिष्ठ लगायतका कानुन व्यवसायीहरु सदस्य रहेको बार हो । सर्बोच्च बारका सदस्यहरु राज्यको सम्माननीय पदमा आसीन भइ पटकपटक राज्यलाई योगदान गरेका कानुन व्यवसायीहरुबाट निर्वाचित हुनुपर्नेछ ।

सर्बोच्च बारमा आउने अवको नेतृत्वले न्यायपालिका तथा बारमा भएगरेका विकृतिविसंगतिहरुको समाप्त गर्नुपर्नेछ, अहिले मसंग प्रतिस्पर्धा गरिरहेका दावेदारहरुबाट त्यो सम्भव देखिँदैन, त्यसकारण म विजयी भएको खण्डमा सम्पूर्ण सदस्यहरुको साथ र सहयोग लिएर न्यायपालिका र बारलाई शुद्धीकरण गर्ने अवसर मिल्नेछ ।

अरु केके एजेण्डा छन् ?

सेवाग्राहीको समस्या समाधानका लागि मैले राष्ट्रियस्तरको सम्मेलन गर्ने बिचार गरेको छु । देशमा रहेका तीन वटै अंग लगायत सबै सरोकारवालाहरुलाई समेट्नेछु । राष्ट्रिय सम्मेलनले पारित गरेको नीति, निर्देशनका आधारमा कार्ययोजना बनाउनेछु ।

पचास वर्षभन्दा अगाडि स्वर्गीय वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठले विधिको शासन, स्वतन्त्र न्यायपालिका, सेवाग्राहीलाई सर्वसुलभ न्याय प्रदान गर्ने पवित्र इच्छाले स्थापना गरेको बारले हाल राजनीतिक एजेन्डालाई मात्रै प्राथमिकतामा राखेर कामकारबाही गरेको अवस्था छ ।

सर्वोच्च बारले गर्ने क्षमता अभिवृद्धि लगायतका कार्यक्रमहरुमा पक्षपातपूर्ण तरिकाबाट छनौट गर्ने काम भएगरेको छ । सम्पूर्ण सदस्यहरुले बराबरी हैसियतमा प्राप्त गर्नुपर्ने अधिकार र सेवामा समेत हनन गर्ने काम भएको छ, मनपरी ढंगले न्यायपालिकालाई गाली गर्ने काम भएको छ ।

जसले गर्दा बौद्धिक बार भनेर चिनिएको बारको साख खस्किएको छ, यसलाई बचाउने र अग्रज कानुन व्यवसायीहरुसँग समन्वय गरी समसामयिक मुद्दालाई सम्बोधन गर्ने योजना बनाएको छु । सबैले आफ्ना कुरालाई मात्रै प्राथमिकता दिने हुँदा बारसँग सर्बोच्च बारको कुरा केही मात्रामा फरक देखिन गएको मात्रै हो । यसमा समन्वय, सहकार्य, सहअस्तित्व र समान धारणाको विकासका लागि हरसम्भव प्रयास मेरो नेतृत्वमा हुनेछ ।

अन्त्यमा, तपाईंका केही अरु विषय छन् ?

हामीले न्याय प्रदान गर्ने न्यायमूर्तिका बारेमा मात्रै धारेहात लगाइरहेको अवस्था छ । आफ्नो बारेमा कहीँकतै केही कुरा पनि सुधार गर्ने चलन छैन । त्यसैले हाल न्यायपालिका र बारमा तिक्तता देखिएको अवस्थाले गर्दा सेवाग्राहीहरु निराश देखिन्छन् । त्यसैले बार र बेन्चले एकआपसमा मिलेर आ–आफ्ना कमीकमजोरीहरु केलाएर समस्याको समाधान गरेको खण्डमा हाम्रो न्यायपालिका र बार विश्वको उत्कृष्ट स्थानमा पुग्नेछ भन्ने मेरो विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?