+

महिला लिग फुटबलको दोस्रो चरण बिहीबारदेखि, पाँच टिम प्रतिस्पर्धामा

२०८१ पुष  १७ गते १४:२७ २०८१ पुष १७ गते १४:२७
महिला लिग फुटबलको दोस्रो चरण बिहीबारदेखि, पाँच टिम प्रतिस्पर्धामा

१६ पुस, काठमाडौं । एन्फा राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणका खेलहरू बिहीबारदेखि सुरू हुँदे छन् । लिगको पहिलो चरणमा शीर्ष पाँचमा रहेका टोलीबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।

पहिलो चरणको लिगबाट शीर्ष पाँचमा रहेका तीन विभागीय टोली एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबसँगै स्याङ्जाको वालिङ नगरपालिका र कोशी प्रदेशले दोस्रो चरणका लागि स्थान पक्का गरेकामा कोशीले आर्थिक कारण देखाउँदै दोस्रो चरणमा सहभागिता नजनाउने निर्णय गरेपछि एन्फाले पहिलो चरणमा छैटौं भएको सर्लाहीको बागमती युवा क्लबलाई खेलाउने निर्णय गरेको थियो ।

दोस्रो चरणअघिको पत्रकार सम्मेलनमा सहभागी तीन टोलीका कप्तानले अब दोस्रो चरणको लागि आफ्नो टिमहरू तयार रहेको बताए ।

डिफेन्डिङ च्याम्पियन एपिएफ क्लबका प्रशिक्षक जिबेश पाण्डेले प्रशिक्षण निरन्तर भइरहेकाले टिम तयारी अवस्थामा रहेको बताए । ‘यो बीचमा हामीले भारतको समकक्षी टिमसँग मैत्रीपूर्ण खेल पनि खेलेका छौं । तयारीका हिसाबले हामी रेडी छौं, खेलाडीहरू पनि फिट छन्’ उनले भने ।

एपिएफकी कप्तान अनिता बस्नेतले पनि राम्रो तयारी भएको बताउँदै पहिलो चरणको गल्तीहरूबाट पाठ सिकेर अझै राम्रो प्रदर्शन गर्दै उपाधिका लागि खेल्ने बताइन् ।

त्यस्तै अर्को विभागीय टिम नेपाल पुलिस क्लबका प्रशिक्षक सञ्जीव जोशीले पनि केही खेलाडीहरू चोटका कारण उपलब्ध नभएपनि तयार नै रहेको प्रतिक्रिया दिए ।

अर्को विभागीय टिम नेपाल आर्मीका प्रशिक्षक कृष्णसिंह ठगुन्नाले आफूहरू दाबेदार टिम भएको र दर्शकलाई मनोरञ्जन दिनुका साथै उपाधि पनि जित्ने विश्वास व्यक्त गरे । ‘हामीसँग राम्रा विङ्गरहरू छन् जस्तो लाग्छ, स्ट्राइकरले मात्र खेल जिताउँछन् भन्ने हुँदैन अन्य खेलाडीहरूले पनि गोल हान्न सक्छन्’ उनको भनाइ थियो ।

आर्मीकी पुनम जर्गा मगरले तयारी राम्रो भएको र पहिलेको गल्तीहरू सुधारेर राम्रो खेल्ने बताइन् । ‘सबै टिम राम्रा छन्, लुज टिम कसैलाई पनि मान्नुहुँदैन, हाम्रो प्रशिक्षण पनि निरन्तर रूपमा भइरहेकाले हामी फर्ममै छौं, विजेता हुन्छौं जस्तो लाग्छ’ उनले भनिन् ।

राष्ट्रिय महिला लिगको पहिलो चरणमा माथि उल्लेखित ६ टिमसँगै रौतहटको चन्द्रपुर नगरपालिका, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा संकटा क्लब गरी १० टिमले प्रतिस्पर्धा गरेका थिए ।

एन्फा महिला लिग फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय