+
+

आतिथ्य सत्कार उद्योगले एकसाथ २२ लाख बढी पाहुनालाई सेवा दिन सक्ने

नेपालमा हाल सञ्चालनमा रहेका होटल तथा रेस्टुरेन्टले एकसाथ २२ लाख ३४ हजार पाहुनालाई सेवा दिन सक्ने छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १७ गते १५:३१

१७ पुस, काठमाडौं । मुलुकको आतिथ्य सत्कार उद्योगले एकसाथ लाखभन्दा बढी पाहुनालाई सेवा दिन सक्ने क्षमता बनाएको छ ।

केन्द्रीय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ अनुसार नेपालमा हाल सञ्चालनमा रहेका होटल तथा रेस्टुरेन्टले एकसाथ २२ लाख ३४ हजार पाहुनालाई सेवा दिन सक्ने छन् ।

सर्वेक्षणका अनुसार आतिथ्य सत्कार उद्योगको स्थायी सम्पत्ति ५ खर्ब ४३ अर्ब रुपैयाँ बराबर पुगेको छ । यो सर्वेक्षणमा १० भन्दा बढी जनशक्ति काम गर्ने प्रतिष्ठानको पूर्णगणना गरिएको छ ।

स्थायी सम्पत्तितर्फ सबैभन्दा धेरै बागमती प्रदेशमा २ खर्ब ४१ अर्ब २९ करोड ९६ लाख ५ हजार बराबर छ । त्यसपछि गण्डकीमा १ खर्ब ६ अर्ब ६४ करोड, कोसी ८५ अर्ब ६९ करोड, लुम्बिनी ५१ अर्ब ३६ करोड, सुदूरपश्चिम २२ अर्ब ९९ करोड, मधेश २२ अर्ब २३ करोड र कर्णाली प्रदेशमा ११ अर्ब १ करोड बराबर छ ।

मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा होटल तथा रेस्टुरेन्ट उद्योगको योगदान १.९६ प्रतिशत पुगेको छ । हाल सञ्चालनमा रहेका होटल तथा रेस्टुरेन्ट मध्ये कोसी प्रदेशमा २५ हजार ८ सय ८७, मधेश ११ हजार ७ सय ४०, बागमती ५२ हजार १ सय २३, गण्डकी १६ हजार ९ सय ७६, लुम्बिनी २० हजार १ सय ५६, कर्णाली ७ हजार १ सय १० र सुदूरपश्चिम प्रदेशमा ८ हजार २ सय २८ छन् ।

हाल होटलहरूमा कोठा संख्या १ लाख १६ हजार १ सय पुगेको छ । तीमध्ये तारे होटलमा ८ हजार ४ सय ९६, ताराविहीन होटलमा १ लाख ७५, रिसोर्टमा ३ हजार ८ सय २९ र होमस्टेमा ३ हजार ७ सय कोठा छ ।

सर्वेक्षण अनुसार ३ लाख ८७ हजार ७ सय ४७ जनाले होटल तथा रेस्टुरेन्ट उद्योगमा संलग्न छन् । तीमध्ये नियमित तलब वा ज्याल पाउने कामदार संख्या १ लाख ६ हजार ४ सय ५९ छ ।

तीमध्ये कोसी प्रदेशमा ६२ हजार ५३, मधेश २८ हजार ६ सय ७०, बागमती १ लाख ६२ हजार ५ सय ८६, गण्डकी ४७ हजार ६ सय १५, लुम्बिनी ५१ हजार २ सय ७८, कर्णालीमा १५ हजार ६ सय ९३ र सुदूपश्चिम प्रदेशमा १९ हजार ८ सय ४३ छन् ।

त्यसैगरी सर्वेक्षण अवधिमा होटल तथा रेस्टुरेन्ट क्षेत्रले कामदारलाई तलब तथा ज्यालामा २० अर्ब ६१ करोड ५० लाख ७६ जहार रुपैयाँ भुक्तानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?