+
+

पर्यटक आगमन क्षमताको एकतिहाइ मात्रै

नेपाल पर्यटन बोर्डका अनुसार २०२४ मा ११ लाख ४७ हजार ५ सय ६७ पर्यटक नेपाल आएका छन् ।

अच्युत पुरी अच्युत पुरी
२०८१ पुष १७ गते १८:४४
फाइल तस्वीर

१७ पुस, काठमाडौं । अन्तर्राष्ट्रिय पर्यटन बजारमा उत्कृष्ट पर्यटन गन्तव्य मुलुकको पहिचान बनाएको नेपालमा पर्यटक आगमन भने औसत छ ।

गएको वर्ष पनि नेपालले औसत आगमनमै चित्त बुझाएको छ । नेपाल पर्यटन बोर्डका अनुसार २०२४ मा ११ लाख ४७ हजार ५ सय ६७ पर्यटक नेपाल आएका छन् । तथ्यांक अनुसार एक वर्षमा नेपालले मासिक ९५ हजार ६ सय ३० पर्यटक मात्र भित्र्याउन सकेको छ ।

नेपालमा वार्षिक १० लाख पर्यटक आगमन २०१९ मै नाघेको हो । त्यसपछिका दुई वर्ष २०२० र २०२१ कोभिड महामारीले प्रभावित भयो । त्यसपछि संसारभरि तीव्र गतिले आगमन सुधार भए पनि नेपालको गति सुस्त भयो । जुन गति २०२४ मा समेत विस्तार हुन सकेन ।

२०१९ मा ११ लाख ९७ हजार १ सय ९१ पर्यटक नेपाल आएका थिए । २०२२ मा ६ लाख १४ हजार ८ सय ६९ र २०२३ मा १० लाख १४ हजार ८ सय ८२ आएको तथ्यांकमा छ ।

कुन वर्ष कति पर्यटक ?

  • २०१९ : ११ लाख ९७ हजार १ सय ९१
  • २०२२ : ६ लाख १४ हजार ८ सय ६९
  • २०२३ : १० लाख १४ हजार ८ सय ८२
  • २०२४ : ११ लाख ४७ हजार ५ सय ६७

पर्यटन बोर्ड निर्देशक मणिराज लामिछाने कोभिड महामारीदेखि आगमनमा परेको असरले केही सुस्त भए पनि अपेक्षा अनुसार पर्यटक आएको बताउँछन् ।

शृङ्खलाबद्ध ठुल्ठूला सडक दुर्घटनाका कारण भारतीय पर्यटकमा परेको मनोवैज्ञानिक असर र चीनको आन्तरिक अर्थतन्त्रका कारण पर्यटक कम हुँदा त्यसले नेपालमा आगमन बढाउन नसकेको उनको भनाइ छ ।

यसलाई चिर्न पछिल्लो समय समूहमा पर्यटक तान्न भइरहेका प्रयासले भने सकारात्मक परिणाम दिइरहेको उनले बताए ।

‘डिसेम्बरमा ९२ हजार पर्यटक आएका छन्,’ लामिछाने भन्छन्, ‘एनपीएल क्रिकेटमा भारतीय पर्यटक आगमन र ड्रागन बोट रेसमा चीनबाट ग्रुपमा पर्यटक आउनु सकारात्मक पक्ष हो ।’

नेपालमा सडकको दयनीय अवस्थाको पर्यटन बजारमा बढी आलोचना भइरहेको छ । काठमाडौंबाट प्रमुख पर्यटन गन्तव्य पोखरा, चितवन र लुम्बिनी पुग्ने सडक पुनर्निर्माण क्रममा छन् ।

तर, कामको गति कम हुँदा पछिल्लो आधा दशकयता यी सडक हुँदै यात्रा गर्ने सर्वसाधारण र पर्यटकले सास्ती पाइरहेका छन् । अर्कातर्फ, दुर्घटनाको दरसमेत बढिरहेको छ ।

यसको नकारात्मक प्रचारले भारतीय पर्यटक आगमन प्रत्यक्ष प्रभावित हुने व्यवसायी बताउँछन् । अकोतर्फ, हवाई यात्रा समेत महँगो छ । तर, विश्सनीय छैन । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले सेवा विस्तार गर्न सकेको छैन ।

होटल संघ नेपाल (हान) अध्यक्ष विनायक शाह भन्छन्, ‘एक त नेपाल आउने कनेक्टिभिटी नै भरपर्दो छैन, अर्कातर्फ नेपाल आएपछिको आन्तरिक आवागमन सहज छैन, यो अवस्थामा पर्यटक आउनु नै ठूलो कुरा भइसक्यो ।’

नेपालले आजकै दिन कम्तीमा वार्षिक ३६ लाख पर्यटक आगमन थेग्न सक्ने सामथ्र्य बनाइसकेको भन्दै उनले त्यस अनुसार आजको आगमन ज्यादै न्यून भएको उनको प्रतिक्रिया छ ।

‘साढे ११ लाख पर्यटक आगमन आजको क्षमताको एक तिहाइमात्र हो,’ उनी भन्छन्, ‘जुन गतिमा होटल तथा आतिथ्य सेवामा लगानी भएको छ, त्यसलाई आवश्यक पर्यटक आगमन हुनै सकेको छैन ।’

यसका लागि अन्तर सरकारी समन्वय, पूर्वाधार विकासमा तीव्रता र हवाई सञ्जाल विस्तारमा तत्कालै ध्यान दिनुपर्ने उनको सुझाव छ ।

सरकारले बुधबार मात्र ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ को नतिजा सार्वजनिक गरेको छ । जस अनुसार नेपालमा १ लाख ४२ हजार २ सय २३ प्रतिष्ठान रहेको देखिएको छ । होटल उद्योगमा मात्र ५ खर्ब ४३ अर्ब रुपैयाँ बराबर लगानी भइसकेको देखिएको छ ।

 

अमेरिकी पर्यटक दोस्रो स्थानमा, अपेक्षित आएनन् चिनियाँ

२०२४ को कुल पर्यटक आगमन केलाउँदा पहिलो स्थानमा भारतीय पर्यटक छन् । अमेरिकी पर्यटक आगमन दोस्रो स्थानमा छ । तेस्रो स्थानमा चिनियाँ छन् ।

बोर्डका निर्देशक लामिछाने चीनमा आक्रामक बजारीकरण हुँदाहुँदै  आगमन सुधार नभएको स्वीकार गर्छन् । यसो हुनुमा चीनको आन्तरिक अर्थतन्त्रले समेत भूमिका खेलेको हुन सक्ने उनको भनाइ छ ।

चीनबाट पर्यटक आगमन बढाउन चीन सरकारसँगकै समन्वयमा विभिन्न प्रयास भइरहेको उनी बताउँछन् । कोरोना महामारी कम भएको धेरै पछिसम्म पनि चीनले आफ्ना नागरिकलाई विदेश भ्रमणमा जान खुला गरेको थिएन ।

 

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?