
१७ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद बिनिता कठायतले काठमाडौंमा सुकुमवासी समस्या समाधान गर्न संघीय सरकारको सहयोग आवश्यक रहेको बताएकी छन् ।
‘काठमाडौंभित्रको सुकुमवासी सजिलै हटाउन सकिन्छ । महानगरलाई सरकारले सहयोग गर्नुपर्छ । बरु यसका लागि आवश्यक नीति वा निर्णय के गर्नुपर्छ क्याबिनेटबाट पास गरेर दिऊँ,’ कठायतले संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भनिन् ।
समितिमा ‘अव्यवस्थित बसोबास, सुकुमवासी समस्या’बारे छलफल थियो । छलफलमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, भूमि समस्या समाधान आयोगका अधिकारीहरू लगायत उपस्थित थिए ।
बैठकपछि सांसद कठायतले को सुकुमवासी हो वा होइन भनेर स्थानीय सरकारले नै पहिचान गर्न सक्ने आफ्नो मनसाय रहेको बताइन् ।
‘म महानगरसँग बसेको छैन । तर, को सुकुमवासी भनेर बस्नुभएको छ । त्यसको छानबिन महानगरले गर्न सक्छ,’ उनी भन्छिन्, ‘गत असोजमा पहिरो आउँदा एक जना सुकुम्बासीको घरमा दश करोडको क्षति भयो रे ! सुकुमवासीकै दश करोड कसरी क्षति हुन्छ ?’
यसअघि काठमाडौं महानगरपालिकाले सुकुमवासी बस्ती हटाउनुपर्छ भनेर गरेको निर्णय आफूलाई उचित लागेको उनले बताइन् ।
उनी भन्छिन्, ‘वास्तविक सुकुमवासीको समस्या राज्यले सुन्नुपर्छ । सुकुमवासीका लागि भनेर सरकारले आवास समेत बनाएको छ । त्यही आवासमा समस्या परेकालाई बस्न दिनुपर्छ । बाँकीको हकमा महानगरको निर्णय लागू गर्नका लागि संघीय सरकारले सहयोग गर्नुपर्छ ।’
स्थानीय सरकारलाई सुकुमवासी समस्या समाधान गर्नका लागि आवश्यक नीति आवश्यक रहे र त्यस्तो नीति संघीय सरकारले नै बनाउनुपर्ने भए संघीय सरकारले अग्रसरता लिनुपर्नेमा पनि उनको आग्रह छ ।
प्रतिक्रिया 4