+
+

कीर्तिपुरमा उम्मेदवार हुन नपाएका बास्कोटा भन्छन्- रास्वपाले अन्याय गर्‍यो, मेरो भोकप्यास हरायो

‘जनताको आशा र भरोसा बनेर आएको रास्वपाप्रति मेरो मन मर्‍यो र धेरै पीडा दिएर गयो । आज म डिप्रेसनमा जाने जस्तो भएको छ । भोक प्यास हरायो, निन्द्रा लाग्दैन, जोस जाँगर हरायो,’ बाँस्कोटा भन्छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १८ गते १६:२०

१८ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट कीर्तिपुर नगरपालिका वडा नम्बर ४ मा एकल सिफारिसमा परे पनि उम्मेदवार हुन नपाएका सुशील बास्कोटाले पार्टीले अन्याय गरेको गुनासो गरेका छन् ।

स्थानीय तहको उपनिर्वाचनमा कीर्तिपुरमा रास्वपाले उम्मेदवार उठाएको थिएन । नगर सभापति जयराम कार्कीको प्रमुख र बास्कोटाको वडा नम्बर ४ बाट एकल सिफारिस भएको थियो ।

उपनिर्वाचनका लागि पार्टीले तोकेको समयसीमामा नाम सिफारिस गरेर पनि प्रतिस्पर्धा गर्न नपाएका बास्कोटाले काठमाडौं सभापति प्रदीप विष्टका कारणले रास्वपाले कीर्तिपुरमा उम्मेदवारी नदिएको बताए ।

‘मेरो चरित्रहत्या रास्वपाले सजिलै गरिदियो । जनताको आशा र भरोसा बनेर आएको रास्वपाप्रति मेरो मन मर्‍यो र धेरै पीडा दिएर गयो, आज म डिप्रेसनमा जाने जस्तो भएको छ । भोक प्यास हरायो निन्द्रा लाग्दैन, जोस जाँगर हरायो,’ बास्कोटा भन्छन् ।

एकल सिफारिस हुँदा समेत उम्मेदवार हुन वञ्चित गरेकाले आफू माथि रास्वपाले अन्याय गरेकाले केन्द्रीय नेतृत्वले जवाफ दिनुपर्ने बास्कोटाले बताएका छन् ।

काठमाडौं जिल्ला सभापति विष्ट र कीर्तिपुर नगर सभापति कार्की बीचमा रहेको टकरावको कारणले रास्वपा उम्मेदवारविहीन हुनु परेको बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन् ।

नगर सभापतिमा आफू निकटका व्यक्तिले नजितेपछि काठमाडौं सभापति विष्टले गुटगत राजनीति गरेको बास्कोटाले आरोप लगाएका छन् । ‘नेपाली कांग्रेसबाट  बिच्केर आएका जिल्ला सभापतिले कांग्रेसकै बाटोमा रास्वपालाई लगेको भान हुँदैछ,’ बास्कोटा भन्छन् ।

नगर सभापतिमा कार्कीले डा. सुरज केसीलाई पराजित गरेका थिए ।

काठमाडौं सभापति विष्टले केन्द्रीय नेता गणेश पराजुली र शिशिर खनाललाई भ्रममा राखेर उम्मेदवार हुनबाट वञ्चित गरेको बास्कोटाले लेखेका छन् । उपनिर्वाचनमा रास्वपाले केन्द्रीय तहबाट समन्वय गर्ने गरी पराजुली र बागमतीमा खनाललाई जिम्मेवारी तोकेको थियो ।

कीर्तिपुरमा उम्मेदवारी नदिएको विषयमा रास्वपाभित्र केन्द्रीय तहका नेताले प्रश्न उठाएका छन् । २० र २१ पुसमा बस्ने विस्तारित बैठकमा कीर्तिपुरमा उम्मेदवार नबनाएको विषयलाई छलफलको एजेण्डा बनाउन केन्द्रीय सदस्य विजय जैरुले माग गरेका छन् । जैरुले उम्मेवार बन्न नदिन भूमिका खेल्नेलाई सोधपुछ गर्नुपर्ने माग समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?