
१८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले सत्तारुढ दल नेकपा एमालेभित्र करिब करिब लोकतन्त्र समाप्त भएको टिप्पणी गरेको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा सो पार्टीका उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले यस्तो टिप्पणी गरेका हुन् ।
‘अहिले सरकारको नेतृत्व गरिरहेको पार्टीभित्र लोकतन्त्र करिब करिब समाप्त भयो,’ प्रवक्ता समेत रहेका सापकोटाले भने, ‘कुनै दिन यो देशमा एमाले पार्टीमा छलफल बहस हुन्छ भन्ने बुझेका थिए । आज त्यो समाप्त भयो ।’
पछिल्लोपटक एमालेको कारबाहीमा परेका नेता डा. भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई गरिएको कारबाहीबारे टिप्पणी गर्दै उनले यस्तो बताएका हुन् ।
‘कुनै व्यापारीबाट दान लिएर पार्टी बनाउने कुरा गलत छ भनेर बोलेबापत भीम रावललाई त पार्टीबाट निष्कासन नै भयो । विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई ६ महिना निलम्बन गरिएको छ,’ सापकोटाले भने, ‘वास्तवमा मुख थुनेर शासन गर्ने छ । उहाँहरूको पनि केन्द्रीय समिति बैठक छ, त्यो बैठकअघि नै निलम्बन गरिदिएपछि त उनीहरू केन्द्रीय समितिमा नै बस्न सकेनन् ।’
एमालेले गरेको यस्तो प्रवृत्तिले अब देश नै संकटको भूमरीमा पुग्नसक्ने माओवादीको भनाइ छ ।
‘यो हर्कतले पहिलो र दोस्रो दल मिलेर बनेको सरकार त जान्छ, जान्छ । देश नै संकटको भूमरीमा पर्दैछ,’ सापकोटाले भने ।
प्रतिक्रिया 4