+

साकाको अनुपस्थितिमा आर्सनलको विङ सम्हालेका १७ वर्षीय न्वानेरी

२०८१ पुष  १८ गते १७:५४ २०८१ पुष १८ गते १७:५४
साकाको अनुपस्थितिमा आर्सनलको विङ सम्हालेका १७ वर्षीय न्वानेरी

१८ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा बुधबार राति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई हराउँदै लिगको दोस्रो स्थानमा उक्लियो । यस सिजन उत्कृष्ट लयमा देखिएको आर्सनलले पछिल्लो दुई खेलमा जितका बाबजुद मुख्य खेलाडी बुकायो साकालाई भने मिस गरिरहेको छ ।

डिसेम्बर २१ मा क्रिस्टल प्यालेससँगको खेलमा चोटग्रस्त बनेका उनले पहिलो हाफमै मैदान छाडेका थिए । उनी कम्तिमा पनि २ महिना मैदानबाहिर हुने छन् । राइट विङबाट खेल्दै आइरहेका साकाले आर्सनलका लागि यस सिजन सबैखाले प्रतियोगितामा गरेर ९ गोल तथा १३ एसिस्ट गरेका छन् ।

आर्सनलका अर्का खेलाडी गाब्रियल मार्टिनेलीले साका विश्वकै उत्कृष्ट खेलाडी भएको र उनको स्थान कसैले लिन नसक्ने प्रतिक्रिया दिँदा क्लबले साकालाई कत्तिको मिस गरिरहेको छ भन्ने‍ कुरा प्रष्ट हुन्छ ।

बुधबार राति ब्रेन्टफोर्डलाई हराउन गाब्रियल जेसस, गाब्रियल मार्टिनेली र मिकेल मेरिनोले एक-एक गोल गरेका थिए । यसका बाबजुद अर्का युवा खेलाडी इथान न्वानेरी जसले साकाको स्थानमा राइट विङमा खेलेका थिए, उनको पनि खेलमा निकै राम्रो प्रभाव रह्‍यो ।

१७ वर्षीय न्वानेरीले दुई वर्षअघि आर्सनलका लागि १५ वर्षको उमेरमै डेब्यू गरेका थिए । त्यसयता १० खेलमा सब्स्टिट्युटको रूपमा मैदान प्रवेश गरेका उनी बुधबारको खेलमा भने सुरूवाती ११ मै परेका थिए र खेलका दुई गोलमा उनको भूमिका पनि रह्यो । उनकै कर्नर बलमा मेरिनोको प्रहार रहेको थियो भने अर्कोपटक उनको क्लियर नभएको क्रसलाई मार्टिनेलीले गोलमा परिणत गरेका थिए ।

ब्रेन्टफोर्डसँगको खेलमा आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले साका खेल्ने राइट विङमा न्वानेरीलाई खेलाए जुन कुरा अर्थपूर्ण पनि देखियो। उनले पहिलो हाफमा आफ्नो तर्फबाट खेलिएका सम्पूर्ण पासहरू कम्प्लिट गरेका थिए ।

एक खेल विश्लेषकले उनी युवाको रूपमा शानदार भएको प्रतिक्रिया दिए । सकारात्मक खेल प्रस्तुत गरेका उनको प्रदर्शन हेर्नलायक भएको र उनी आर्सनलका लागि एक पूर्ण खेलाडी भएको टिप्पणी गरे ।

साका उपलब्ध नहुँदा अब उनले धेरै अवसर पाउने छन् । त्यसले भविष्यमा पनि उनले क्लबका लागि थप खेलहरूमा सुरूवाती रोजाइमा पर्ने बाटो समेत खुलाउनेछ ।

बुधबारको खेलपछि आर्टेटाले पनि न्वानेरीको प्रशंसा गर्दै उनले उत्कृष्ट प्रदर्शन गरेको प्रतिक्रिया दिए । ‘हामीसँग सुरूवाती लाइनअपमा एक १७ वर्षीय खेलाडी थियो जसले उत्कृष्ट प्रदर्शन गर्‍यो । खेलमा सुरूवातदेखि नै अवसर दिनका लागि उनी सही खेलाडी हुन्छन् भन्ने सोचेको थिएँ, राम्रो प्रदर्शन पनि गर्‍यो’ आर्टेटाले भने, ‘यही मैदानमा उसले प्रिमियर लिगमा पनि डेब्यू पनि गरेको थियो, कहिलेकाहीँ यस्तो भावनाले पनि मद्दत गर्न सक्छ।’

न्वानेरीले साकाकै स्थान लिन सक्छन् भनेर अहिल्यै भनिहाल्न त उपयुक्त हुँदैन तर अहिलेको अवस्थामा न्वानेरी आर्सनलका लागि उत्कृष्टमध्येका एक खेलाडी हुन् भन्दा चाहिँ फरक पर्दैन । उनी राइट विङमा उत्कृष्ट देखिएका छन् ।

एभर्टनसँगको खेलमा साकाको टच पोजिसनहरू न्वानेरीको पछिल्लो खेलसँग मिल्दोजुल्दो देखिएको छ जसले हालको अवस्थामा उनी राइट विङ पोजिसनमा फिट छन् भन्न सकिन्छ ।

-बीबीसी स्पोर्ट्सबाट

आर्सनल इथान न्वानेरी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय