+
+

विद्यालय समय बिहान बनाउन एमाले नेता तामाङको माग

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री शेरबहादुर तामाङले शिक्षा सुधारका लागि ६ बुँदे अवधारणा ल्याएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १८ गते १८:३०

१८ पुस, काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री शेरबहादुर तामाङले शिक्षा सुधारका लागि ६ बुँदे अवधारणा ल्याएका छन् । बिहीबार पत्रकारसँगको भेटघाटमा उनले शिक्षा सुधारका लागि विद्यालयको समय परिवर्तन गर्नुपर्ने एजेन्डा सार्वजनिक गरेका हुन् ।

‘विद्यालय शिक्षाको समय परिवर्तन गरेर जाडो याममा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म र गर्मीयाममा बिहान ७ बजेदेखी दिउँसो १ बजेसम्म गरौं,’ उनले भने ।

बालबालिकालाई बिहानै विद्यालय पठाएपछि अभिभावका लागि काम गर्न समय पर्याप्त हुने भएकाले विद्यालय समय परिवर्तन गर्नुपर्ने अवधारणा ल्याएको उनले बताए ।

‘अभिभावक र बालबालिका बिहान ढिलोमा ५ बजे उठिसक्छन् । बालबालिकालाई तयारी गरी खाजा खुवाएर ६ बजे नै विद्यालय पठाएपछि अभिभावकहरू बिहानको पूजापाठ गर्न र घरमा गर्नुपर्ने कृषि वा अन्य काम गर्न पर्याप्त समय मिल्नेछ,’ उनले भने ।

बालबालिकालाई दिवा खाना विद्यालयमा नै सामूहिक मेसमा गर्नुपर्ने उनको भनाइ छ । ‘अहिले दिवा खाजाको व्यवस्था सरकारले गरेको छ । त्यसमा अलि थप गरेर व्यवस्थापन गर्न सकिन्छ । त्यसमा अभिभावकबाट पनि उठाउन सकिन्छ । गरिब-विपन्न परिवार छनोट गरी त्यस्ता परिवारलाई सरकारले व्यवस्थापन गर्नुपर्छ । यसरी सामूहिक रूपमा खाना खुवाउने जातीय छुवाछुत अन्त्य हुनेछ,’ उनले भने ।

५ देखि १० कक्षा सम्मका विद्यार्थीलाई एक/एक दिन सामूहिक रूपमा खाना बनाउने काममा लगाउन सकिने उनले बताए ।

‘यसले सामूहिक रूपमा काम सिक्नेछ । काम प्रतिको दायित्वबोध बढ्नेछ । यसलाई बालश्रम नभन्नुहोला । किनकि विद्यालयहरूमा स्काउट ट्रेनिङको नाममा अहिले पनि यस्तै व्यवहारिक ज्ञान सिकाउने गरिन्छ । विद्यालयबाटै श्रम प्रतिको सम्मान र लगाव बढ्ने भएपछि एक जिम्मेवार पुस्ताको निर्माण हुनेछ । छुवाछुतमुक्त समाज निर्माण समेत हुनेछ,’ उनले भने ।

विद्यालय समय परिवर्तन गर्दा शिक्षकहरू अनिवार्य विद्यालयमा उपस्थित हुने दाबी उनको छ । ‘ग्रामीण क्षेत्रका शिक्षकहरू आफ्नो घरयासी कृषि पेसामा संलग्न हुँदा विद्यालयमा कम उपस्थित हुन्छन् भन्ने जनगुनासो रहेको छ । दिउँसो एक बजेपछि आफ्नो घरको काम गर्न पर्याप्त समय हुनेहुँदा सबै शिक्षक विद्यालयमा आफ्नो काममा लाग्ने दर बढ्नेछ,’ उनले भने ।

सहरी क्षेत्रका शिक्षकहरूलाई पनि एक बजेपछि वैकल्पिक पेसा गर्ने अवसर पाउने उनको तर्क छ । विद्यालयलाई व्यावसायिक कृषि सिकाउने थलोको रूपमा विकास गर्ने र व्यावसायिक तालिमको केन्द्र बनाउनु पर्ने माग उनको छ ।

‘दुई बजेपछि खाली हुने विद्यालय भवनलाई व्यावसायिक तालिमको केन्द्र बनाउन सकिन्छ । ८–१२ सम्मका विद्यार्थीलाई व्यावसायिक तालिम दिने संस्थाको रूपमा विद्यालय भवनलाई प्रयोग गर्न सकिन्छ । यसले समाजका हरेक नागरिक तालिम प्राप्त दक्ष जनशक्तिको रुपमा विकास हुनेछ,’ उनले भने ।

नैतिक शिक्षा विद्यालयमा अनिवार्य राख्नु पर्नेमा उनको जोड छ । ‘यो नियम तीन वर्ष यो लागु गरेर हेरौं शिक्षाको गुणस्तरमा सुधार हुनेछ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?