+
+

बलात्कार आरोपमा समातिएका पूर्वमेयर २५ दिनदेखि अस्पतालमा

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १८ गते १८:३३

१८ पुस, झापा । घरेलु कामदारको रूपमा राखिएकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका झापाको बिर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुवकुमार शिवाकोटी झण्डै एक महिनादेखि अस्पतालमा छन् ।

प्रहरीले उनलाई पक्राउ परेकै दिनदेखि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा राखेको हो । स्वास्थ्यमा समस्या भएको देखिएपछि शिवाकोटीलाई अस्पतालमा भर्ना गरिएको थियो । शिवाकोटी अस्पतालमा रहेकै बेला उनको बयान लिएर प्रहरीले शिवाकोटीविरुद्धको अनुसन्धान सकेको छ ।

इलाका प्रहरी कार्यालय, अनारमनीबाट अनुसन्धान सकेर बुधबार जिल्ला सरकारी वकिलको कार्यालय, झापामा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी कार्यालय, झापाकी सूचना अधिकृत प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले अनलाइनखबरलाई बताइन् ।

‘हामीले अनुसन्धान सकेर तोकिएको अनुसन्धान प्रतिवेदन बुझाएका छौं, सरकारी वकिलबाट अध्ययन भइरहेको छ’, उनले भनिन् । प्रहरीले उनलाई २४ मंसिरमा पक्राउ गरेको थियो ।

पूर्वी सीमा नाका काँकडभिट्टाबाट उद्दार गरिएकी १७ वर्षीया बालिकाको बयानका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । सीमा रहेर चेलिबेटी बेचबिखनविरुद्ध काम गरिरहेको संस्था किन नेपालले शंकास्पद लागेर बालिकालाई सोधपुछ गरेको थियो । त्यसक्रममा उनले आफू विर्तामोड नगरपालिकाका पूर्वमेयर शिवाकोटीको घरमा बस्ने गरेको तर, पटकपटक करणी भएपछि भागेर हिँडेको बताएकी थिइन् ।

कलेज ड्रेसमै रहेकी उनले शिवाकोटीबारे बताएपछि संस्थाले इलाका प्रहरी कार्यालय, धुलाबारी लगेको थियो । त्यहाँ महिला प्रहरीसँग पनि उनले त्यही अनुसारको बयान दिएपछि इलाका प्रहरी कार्यालय, अनारमनी पठाइएको थियो ।

प्रहरीका अनुसार बालिकाको बुबा छैनन् । आमा भारतको आसाममा बस्छिन् । घरको काम गरिदिने र पढाइदिने शर्तमा उनलाई घरेलु कामदार राखिएको थियो । घरमा रहेका बेला आफूलाई करणी गरेको पीडितको प्रारम्भिक बयान थियो । त्यसपछि इलाका प्रहरी कार्यालय, अनारमनीले उनलाई पक्राउ गरेको थियो ।

शिवाकोटी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?