
१८ पुस, काठमाडौं । समाजको अध्ययन अनुसन्धान गर्न विद्यार्थी हिमाल, पहाड र तराई जाने भएका छन् । किङ्स कलेज तथा नेपाल कम्युनिभर्सिटीको आयोजनामा १५ जना विद्यार्थी तीन क्षेत्रमा जान लागेका हुन् ।
‘शिक्षालाई समुदायमा जोड्न सकिएन भन्ने गुनासो आउने गरेको छ । समुदाय आफैंमा एउटा विश्वविद्यालय हो । समुदायको सिपलाई पाठ्यक्रममा जोड्न लागेका हौँ,’ सामुदायिक कार्यक्रमका संयोजक विजयमणी पौडेलले भने ।
१७ सयको अवेदन परेकोमा १५ जना छानिएका हुन् । छानिएका १५ जना विद्यार्थी दुई महिना समुदायमा गएर अध्ययन अनुसन्धान गर्ने छन् ।
सिन्धुपाल्चोकको हेलम्बु, काभ्रेको पाँचखाल र धनुषाको जनकपुर गरी तीनस्थानमा उनीहरू जानेछन् । स्नातकमा अध्ययनरत र अध्ययन पूरा गरेका विद्यार्थीलाई छनौट गरिएको उनले बताए ।
‘यो विद्यार्थीको सिकाइ पनि हो । ती ठाउँमा विद्यार्थीले के सम्भावना छ त्यसको खोजी पनि गर्ने छन्,’ उनले भने ‘आफूलाई चिनेको समाजलाई बुझेको र उद्यमशील सोच बोकेको जनशक्ति उत्पादन गर्ने उद्देश्य हो ।’
कम्युनिभर्सिटीले गत वर्ष ‘समर प्रोग्राम’ र ‘विन्टर प्रोग्राम’ पाँचखालस्थित सर्वमंगाला बहुमुखी क्याम्पसमा गरेको थियो । समुदाय नै विश्वविद्यालय हो भन्ने अवधाराण अनुसार ‘कम्युनिटी’ र ‘युनिभर्सिटी’ को संयोजन गरेर कम्युनिभर्सिटी नाम दिएर यो कार्यक्रम गर्न लागिएको हो ।
प्रतिक्रिया 4