+
+

बैंकिङ सेवालाई डिजिटल र प्रविधिमैत्री बनाउन आवश्यक : ढकाल

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १८ गते २०:२५

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ सेवालाई डिजिटल र प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताएका छन् ।

बैंकको कर्पोरेट कार्यालय कमलादीमा बिहीबार आयोजित ग्लोबल आईएमई बैंकको १८औं वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

ग्लोबल आईएमई बैंकका अध्यक्ष समेत रहेका ढकालले ग्लोबल आईएमई बैंकले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा राख्दै ग्राहकको सेवा र सन्तुष्टिलाई प्राथमिकतामा राखेर सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने बताए ।

‘अहिलेको बैंकिङ आवश्यकतालाई मध्यनजर राख्दै सेवालाई डिजिटल र प्रविधिमैत्री बनाउन आवश्यक छ । तर, डिजिटल तथा प्रविधिमैत्री गर्दा सुरक्षाको पनि त्यतिकै ख्याल राख्न जरुरी हुन्छ । सुरक्षालाई न्यूनतम सर्त बनाएर डिजिटल प्रविधिलाई अंगिकार गर्ने हो,’  उनले भने ।

यो अवधिमा बैंकले अधिकांश वित्तीय सूचकहरूमा अब्बल बनाउन सफल रहेको उनले बताए । कर्मचारीहरूको मिहिनेत र लगनशीलताका कारण बैंक अहिलेको अवस्थासम्म आइपुगेको उनको भनाइ थियो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकको सेवालाई नवीनतम तथा ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताए ।

१६६ कर्मचारीलाई सम्मान

ग्लोबल आईएमई बैंक लिमिटेडले वार्षिकोत्सवका अवसरमा १५ वर्ष सेवा गरेका १६६ कर्मचारीलाई सम्मान गरेको छ ।

बैंकका अध्यक्ष ढकालले १५ वर्षदेखि निरन्तर बैंकमा सेवारत कर्मचारीहरूलाई सम्मान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?