+
+

‘बैंकहरूको लगानीमा प्रतिफल घट्दै गयो’

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १९ गते १३:११

१९ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बैंकहरूको लगानीमा प्रतिफल घट्दै गएको बताएका छन् ।

उनले नेपालका बैंकहरूको ब्याज आम्दानीभन्दा अन्य आम्दानी कम रहेको कारण मुलुकको अर्थतन्त्र पनि त्यही अनुसार रहेको उनले उल्लेख गरे ।

‘बैंकहरूको निष्क्रिय कर्जा बढेर गएको छ, प्रोभिजन पनि बढ्दै गएको छ,’ बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको पाँचौं साधारणमा कार्यकारी निर्देशक पौडेलले भने, ‘वित्तीय प्रणालीबाट कर्जा लिएपछि कर्जा लिने पनि जिम्मेवार हुनुपर्छ । २०८४ असारसम्म कुल कर्जाको १५ प्रतिशत कृषि, १५ प्रतिशत साना तथा मझौला व्यवसाय र १० प्रतिशत ऊर्जामा पुग्दै छ ।’

उत्पादन र उद्यम विकास गर्न ब्याज अनुदान सहित सहुलियतपूर्ण कर्जा व्यवस्था भए पनि दुई वर्षदेखि ब्याज अनुदानको रकम रोकिएको उनले जानकारी दिए ।

‘१३/१४ अर्ब रुपैयाँ बराबर ब्याज अनुदानको रकम भुक्तानी हुन बाँकी छ,’ उनले भने, ‘जिल्लातिर सानो ऋण लगानी नजानुमा वित्तीय प्रणालीमा आक्रमणका घटनादेखि ऋण तिर्नु पर्दैन भन्ने लगायत अभियानले काम गरेको छ ।’

त्यसैगरी नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र पाण्डेले विदेशी मुद्रा सञ्चितिमा चाप पर्दा तीन वर्ष अगाडि लिइएको नीति सही समयमै सुधार नहुँदा अहिले अर्थतन्त्रमा त्यसको असर परिरहेको बताए ।

त्यसको सबैभन्दा मारमा निजी क्षेत्र परेको र यसको असर बैंक तथा वित्तीय संस्थाहरूको वासलातमा पनि परिसकेको उनले जानकारी दिए ।

उनका अनुसार बैंकहरूको निष्क्रिय कर्जा बढदो छ । लगानी विस्तार गर्न नसक्दा बैंकहरूमा पैसा बसिरहने हुँदा अर्थतन्त्र अगाडि बढन सकिरहेको छैन । यो अवस्थाबाट बाहिर आउन आवश्यक छ । पछिल्ला समय केही सुधार प्रयास भए पनि त्यतिले मात्रै पुग्ने अवस्था देखिँदैन ।

‘जबसम्म समग्र बजार माग बढाउने नीति ल्याइँदैन, अर्थतन्त्र अगाडि बढ्न सक्छ जस्तो लाग्दैन,’ उनले भने, ‘त्यसैले तीन वर्ष अगाडि मागलाई संकुचन पार्न जे जस्ता नियामकीय प्रावधान, निर्देशिका आयो, त्यो फिर्ता गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?