
१९ पुस, काठमाडौं । यो साता सेयर बजार १.६७ प्रतिशत घटेको । गत साता २६३० अंकमा रहेको बजार यो साता २५८६ अंकमा झर्यो ।
पहिलो दिन आइतबार २१.१२ अंक घटेको बजार सोमबार सार्वजनिक विदाका कारण बन्द रह्यो । मंगलबार ३३.०८ अंक घटेको बजार बुधबार जम्मा ५.१० अंक बढ्यो भने बिहीबार ४.६३ अंक बढेको छ ।
आइतबार ५ अर्ब ४७ करोडको कारोबार भएकोमा मंगलबार ५ अर्ब ६७ करोडको कारोबार भयो । बुधबार ३ अर्ब ५९ करोडको कारोबार भएकोमा बिहीबार ४ अर्ब ६० करोडको भयो ।
यो साता बजारका सबै सेक्टर घटेका छन् । जसमध्ये फाइनान्स सबैभन्दा धेरै ५.५ प्रतिशत घट्यो । समग्र सातामा उच्च गिरावट देखिए पनि फाइनान्स सेक्टर अन्तिम दुई कारोबार दिन बढेको थियो ।
त्यस्तै यो साता व्यापार ५.३ प्रतिशत घट्यो । यो साता बैंकिङ सेक्टर २.६६ प्रतिशत घटेको छ । गत साता यो सेक्टर २.५ प्रतिशत बढेको थियो । गत साता सबैभन्दा धेरै २.७ प्रतिशत बढेको हाइड्रोपावर सेक्टर यो साता ०.४० प्रतिशत मात्रै घट्यो । समग्रमा हाइड्रोपावर सेक्टरले अरु सेक्टरको तुलनामा राम्रो प्रदर्शन गरेको छ ।
बजारप्रति किन विश्वस्त भएनन् लगानीर्ता ?
बजारलाई बढी प्रभाव पार्ने पक्षहरु तरलता, ब्याजदरले साथ दिए पनि यतिबेला लगानीकर्ता डराउनुको मुख्य कारण – कर्णाली विकास बैंकले उब्जाएका शंकाहरु हुन् । यसअघि बियरिस पीडा भोगाइ ताजै रहेकाले लगानीकर्ताको मानसिकता अहिले त्यहींअनुसार प्रतिविम्वित भएको देखिन्छ ।
यतिबेला लगानीकर्ता त्रसित हुनुका पछाडि प्रमुखः तीन कारण छन् । पहिलो कारण हो – कर्णाली विकास बैंकबाट सिर्जित परिस्थिति । दोस्रो हो– दोस्रो त्रैमासिक रिपोर्टमा बैंकहरूको निष्क्रिय कर्जा बढ्ने आशंका र तेस्रो हो– पुस मसान्तमा ब्याज, साँवा बुझाउन पैसा जोहो ।
कर्णाली विकास बैंकलाई राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेकै दिनबाट सेयर कारोबार रोक्का रहेको छ । समस्याग्रस्त घोषणा भएपछि सम्पत्ति बन्धक हुँदोरहेछ भन्ने चेत लगानीकर्ताले पाएका छन् ।
यस बैंककै कारण लगानीकर्तामा उब्जिएको अर्को शंका हो – निष्क्रिय कर्जा लुकाइनु । यस विकास बैंकले गत असोजमा मात्रै सार्वजनिक गरेको वित्तीय विवरणमा यस्तो कर्जा जम्मा ७.२६ प्रतिशत देखाएकोमा राष्ट्र बैंकको अनुगमनपछि ४०. ८५ प्रतिशत देखियो ।
यति भारी मात्रामा निष्क्रिय कर्जा बढी देखिनुले अहिलेका बैंक तथा वित्तीय संस्थाले पनि यस्तो कर्जा लुकाएका त छैनन् भन्ने शंका लगानीकर्तामा देखिएको छ । ‘कतै दोस्रो त्रैमासिक वित्तीय विवरणमा निष्क्रिय कर्जा केही बढी देखिने त होइन भन्ने शंका पनि लगानीकर्तामा देखिन्छ’ लगानीकर्ता सुवासचन्द्र ढुंगानाले भने ।
बैंक तथा वित्तीय संस्थाहरुले आगामी माघ महिनामा दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्नेछन् ।
प्रतिक्रिया 4