
१९ पुस, काठमाडौं । ५० को दशकको मध्यदेखि ६० को मध्यसम्म नेपाली संगीतमा ब्याण्डहरुको दबदबा नै थियो भन्दा हुन्छ । सुगम संगीतको ‘पिक टाइम’ मानिएको उक्त समयमा सांगीतिक ब्याण्डको पनि उत्तिकै माहोल थियो । नेपथ्य, कन्दरा, मंगोलियन हार्ट, १९७४ एडी, परिवेश, द स्याडोज, कुटुम्ब, मुक्ति एण्ड रिभाइभल, मन्त्र, कर्मा जस्ता ब्याण्डहरुका गीत-संगीत र प्रस्तुतिले सांगीतिक क्षेत्र गर्माएको थियो ।
बीचमा लोक र अन्य जनराको गीतले सांगीतिक क्षेत्रमा प्रभाव जमाउँदा एकाधबाहेक केही ब्याण्ड सुस्ताए । पछिल्लो समय विदेशमा बस्ने नेपालीहरुको संख्यामा वृद्धि भएसँगै नेपाली संगीत पनि विभिन्न देशमा सयर गरिरहेको छ । एकहिसाबले नेपाली संगीतको अन्तर्राष्ट्रियकरण भइरहेको छ ।
अहिले नेपालदेखि डायस्पोराको माहोल सङ्गीतमय छ । क्रिसमस, अंग्रेजी नयाँ वर्षसँगै विभिन्न ठाउँमा संगीतकर्मीहरुले प्रस्तुति दिइरहेका छन् । यस्तोमा अन्य जनराका कलाकारसँगै सांगीतिक ब्याण्डहरु उपस्थिति लोभलाग्दो देखिन्छ ।
ब्याण्डहरुले पनि आफ्नो एकपछि अर्को प्रस्तुतिबारे सामाजिक सञ्जालमार्फत जानकारी दिइरहेका छन् । ब्याण्डहरुको सक्रियता र व्यस्तता उनीहरुले सार्वजनिक गरेका पोस्टहरुबाट पनि थाहा पाउन सकिन्छ । सन् २०२५ मा विभिन्न ब्याण्ड आफ्नो साङ्गीतिक प्रस्तुतिका अन्तर्राष्ट्रिय साङ्गीतिक टुर गर्ने तयारीमा छन् ।
डायस्पोरा कन्सर्टको सूची हेर्दा लोकप्रिय लोकरक ब्याण्ड नेपथ्य सन् २०२५ को मार्चमा अस्ट्रेलियामा प्रस्तुत हुँदैछ । द अग्लिज ब्याण्डले जुलाई २५ मा अमेरिकामा प्रस्तुति दिने तयारी गरिरहेको छ । मुक्ति एण्ड रिभाइभलले नेपाली नयाँ वर्षलाई लक्षित परेर अप्रिल र मेमा अमेरिकामा प्रस्तुति दिनेछ । द स्याडोज ब्याण्डले फेब्रुअरी र मार्चमा अमेरिकामा र कन्दरा ब्याण्डले जनवरी ४ मा बेलायतमा प्रस्तुति दिने तय भइसकेको छ । यसबाहेक अन्य पनि केही ब्याण्डले यस वर्ष अन्तर्राष्ट्रिय टुर गर्दैछन् ।

संगीतको आयाम फराकिलो हुँदै जाँदा सरकारी निकायले पनि प्रवर्द्धनका लागि केही कार्य गरिरहेका छन् । मङ्सिरमा महानगर दिवसको अवसर पारेर काठमाडौं महानगरपालिकाले टुँडिखेलमा वृहत साङ्गीतिक कन्सर्ट आयोजना गरेको थियो । उक्त कन्सर्टमा १९ जना सङ्गीतकर्मीले प्रस्तुति दिए । पुस १२ देखि २६ गतेसम्म चितवनको भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष’ गरिरहेको छ, जहाँ १२ जना सङ्गीतकर्मीको प्रस्तुति रहेको छ ।
यतिबेला सांगीतिक ब्याण्डहरुको पुनरागमन धमाधम भइरहेको छ । लामो समय सुस्ताएको कुनैबेलाको लोकप्रिय लोकपप ब्याण्ड कन्दरा सन् २०२४ मा जुर्मुराएर उठ्यो । यो ब्याण्डले स्वदेशदेखि विदेशसम्म कन्सर्ट गर्यो । हालै काठमाडौंमा पहिलोपटक कन्सर्ट गरेको यो पोखरेली ब्याण्ड यस वर्ष अन्तर्राष्ट्रिय टुरमा निस्किंदैछ ।

चर्चित रक ब्याण्ड ‘आस्था’का भोकलिस्ट नरेन लिम्बू अहिले देशदेखि विदेशसम्मै नेपाली सङ्गीतको माग बढ्दो रहेको बताउँछन् ।
‘धेरै देशमा नेपालीको बसोबास छ । जसकारण नेपाली विदेशिएसँगै नेपाली सङ्गीतको माग अन्तर्राष्ट्रिय रूपमा बढेको हो,’ अनलाइनखबरसँग उनी भन्छन्, ‘यस्तो बेलामा ब्याण्डहरुको कमब्याक हुनु सुखद् हो । अहिले सरकारले पनि कुनै विशेष अवसरमा जनतालाई मनोरञ्जन प्रदान गराउन खोजिरहेको छ । जुन नेपाली गीतसङ्गीतको लागि राम्रो कुरा हो ।’
सुस्ताएका ब्याण्डहरुको पुनरागमनमा श्रोता-दर्शकको चाहना प्रमुख रहेको नरेन बताउँछन् । ‘एउटा सङ्गीतकर्मीले आर्थिक रूपमा र दर्शकको साथ रह्यो भने नै नयाँ सिर्जना गर्दै जाने हो,’ उनी भन्छन् ।
नेपाल आइडल सिजन २ का विजेता समेत रहेका गायक रवि विदेशमा नेपाली कन्सर्ट कल्चर बढ्नु सुखद् रहेको बताउँछन् । ‘विदेशमा नेपाली कलाकारको माग बढ्नुमा नेपालीहरुको बसोबास बढेका कारण हो । जसले गर्दा अन्तर्राष्ट्रिय रूपमा नेपाली कलाकारको माग बढिरहेको छ,’ उनी भन्छन् ।
‘अहिले विभिन्न ब्याण्डहरुले कमब्याक गर्नुमा दर्शकहरूको फेरि पुराना गीत-सङ्गीतलाई माया गर्नु पनि हो । टिकटक जस्ता सामाजिक सञ्जालले पनि पछिल्लो समय यसमा धेरै मद्दत गरेको छ,’ रवि भन्छन्, ‘ब्याण्डहरुको स्थापना र पुनरागमन हुनु नेपाली साङ्गीतिक क्षेत्रको लागि धेरै खुसीको कुरा हो ।’
हालै काठमाडौं महानगरले गरेको सांगीतिक कार्यक्रम र त्यसअघि असोज ३ मा गरिएको ‘नेसनल डे कन्सर्ट’ले सरकारी निकायको पनि नेपाली संगीत क्षेत्रमा ध्यान जान थालेको संकेत गर्छ ।

नेपथ्य ब्याण्डको व्यवस्थापक नेपालयका किरणकृष्ण श्रेष्ठ कन्सर्ट कल्चर बढ्नुमा समयानुसार गीत-सङ्गीतमा प्राविधिक गुणस्तर र दर्शक-श्रोताको क्रयशक्ति पनि बढ्दै जानु रहेको बताउँछन् ।
‘नेपाली सङ्गीतको डायस्पोरामा माग बढ्नुमा विदेशमा नेपालीको उपस्थिति बाक्लो हुँदै गएकाले हुनसक्छ । नेपाली कलाकार विदेश जानु र विदेशी कलाकार पनि नेपालमा आउनु दुवै राम्रा कुरा हुन्,’ उनी भन्छन् ।
उनले अगाडि भने, ‘डायस्पोरामा नेपाली कार्यक्रम बढ्दै जाँदा यसको गुणस्तरमा भने सधैं ख्याल राख्नुपर्छ । हरेक कलाकारले आफ्नो सङ्गीत गुणस्तरका साथै निरन्तरतामा पनि ध्यान दिन जरुरी छ ।’

त्यसका लागि चार ‘पी’को सूत्र ख्याल राख्न उनी सुझाउँछन् । ‘पपुल्यारिटी, पर्फमेन्स, प्रोडक्सन र पार्टीसिपेसन,’ उनी भन्छन्, ‘यी चार कुराको व्यवस्थापन सही तरिकाले मिल्यो भने दर्शक-श्रोताबीच कलाकारको माग बढ्दै जाने हो ।’
ब्याण्डहरुको पुनरागमन हुनु खुसीको कुरा हो । तर आफूलाई निरन्तरता दिन नयाँ सिर्जना गर्नु जरुरी हुने श्रेष्ठ बताउँछन् । ‘अहिले ब्याण्डहरुको कमब्याकसँगै नयाँ ब्याण्डहरु पनि स्थापना भइरहेका छन् । आफूलाई स्थापित गरिरहन दर्शकको माग र समयअनुसारको सिर्जना गर्न भने जरुरी हुन्छ । तर भाइरलको होडमा भने लाग्नुहुँदैन,’ उनी भन्छन्,’ सरकारले पनि चलिरहेका कलाकार भन्दा ओझेल परेका कलाकारहरुलाई बाहिर ल्याउन पहल गर्नुपर्छ ।’
प्रतिक्रिया 4