
काठमाडौं । छोटा फिल्म प्रवर्द्धन गर्न पूर्वी नेपालका विभिन्न ठाउँमा ‘घुम्ती किम्फ’ आयोजना हुने भएको छ । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)ले पूर्वी नेपालका ६ ठाउँमा कार्यक्रम गर्न लागेको हो ।
इटहरीमा पुस २८ देखि २९, इलामको इलाम बजार र फिक्कलमा माघ २ देखि ३, झापाको दमक र सुरुङ्गामा माघ ५ देखि ६ र धरानमा माघ ८ देखि ९ सम्म घुम्ती किम्फ आयोजना हुन लागेको जनाइएको छ । त्यस क्रममा फिल्म प्रदर्शनदेखि प्यानल छलफल सत्रको आयोजना गरिएको छ ।
‘अहिलेलाई पूर्व र पछाडि पश्चिमका जिल्लामा घुम्ती आयोजना हुनेछ,’ आयोजक किम्फ फाउण्डेसनकी अध्यक्ष रम्यता लिम्बूले भनिन् । किम्फको आगामी संस्करण भने काठमाडौंमा २८ मेदेखि १ जुनसम्म आयोजना हुँदैछ । अहिले यसका लागि फिल्मको आवेदन आह्वान भइरहेको छ ।
काठमाडौंमा हुने किम्फमा यसपटक पहिलोपटक दक्षिण एसियाली डकुमेन्ट्री प्रोजेक्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री ल्याबको आयोजना हुनेछ । ल्याबका लागि चर्चित दक्षिण एसियाली वृत्तचित्र निर्माता रिन्तु थोमस, अरुण भट्टराई र अनाम अब्बास मेन्टरको रुपमा काठमाडौं आउँदैछन् ।
प्रतिक्रिया 4