
काठमाडौं । माघ ११ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘केटी हराएको सूचना’को नयाँ गीत ‘सपनीमा’ सार्वजनिक भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरियो ।
यो गीतमा खास के छ भने वरिष्ठ गीतकार करुण थापाले दुई दशकपछि फिल्मको गीत लेखनमा पुनरागमन गरेका छन् । गीतमा इन्दिरा जोशी र करण परियारको स्वर छ भने संगीत करुण थापाकै छ ।
एकस्टिक नेपालको स्टुडियोमा रेकर्ड गरिएको गीतमा फणिन्द्र राईको एरेन्ज छ । गीतमा प्रमुख कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ फिचर्ड छन् । नाजिरले परिकल्पना गरेको घर र परिवारबाट सुरुवात भएको गीतमा नाजिर र सृष्टिलाई रोमान्टिक भावमा देखाइएको छ ।
नृत्य निर्देशक रामजी लामिछानेले सृष्टि र नाजिरलाई डान्सिङ शैलीमा प्रस्तुत गरेका छन् । इन्दिराले फिल्मले तराईको पात्रलाई नायकको रुपमा स्थापित गराएको भन्दै राम्रो कथावस्तुको फिल्ममा स्वर दिन पाएकोमा खुसी व्यक्त गरिन् । करणले फिल्ममा पार्श्व गायनको सपना यो फिल्मले पूरा गरेको बताए ।
फिल्म निर्देशक दीपेन्द्र गौचन र आफू पुरानो साथी भएको र उनकै अनुरोधमा आफूले गीत लेखेको थापाले बताए । करुणले लेखेका गीत ‘आगो लाग्यो दिलैमा’ र ‘बादल वर्षा बिजुली’ लोकप्रिय गीत मानिन्छन् ।
निर्देशक गौचनले संगीतप्रति लगाव पुरानै रहेकाले कथा सुहाउँदो गीत तयार पारिएको बताए । फिल्मलाई गौचन र नकिम उद्दिनको ब्यानर ट्राइ सिटी पिक्चर्सले निर्माण गरेको हो ।
फिल्ममा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रीना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ ।
प्रतिक्रिया 4