
१९ पुस, काठमाडौं । पर्साको ठोरीमा रहेको अमृतधारा छोटी भन्सारले भारतीय सवारीसाधनलाई नेपाल प्रवेशमा दिने अस्थायी पास बन्द गरेको छ ।
अमृतधारा छोटी भन्सार कार्यालयका अनुसार भन्सार विभागले दिएको अस्थायी पासको अनुमति अवधि सकिएपछि भारतीय सवारीसाधनलाई नेपाल प्रवेशका लागि दिइने अस्थायी पास बन्द गरिएको हो ।
भन्सार विभागले १९ वैशाखमा उक्त छोटी भन्सारलाई २०२४ डिसेम्बर अर्थात् १६ पुससम्मका लागि भारतीय सवारीसाधनलाई नेपाल प्रवेश गर्नका लागि अस्थायी पासको अनुमति दिएको थियो ।
विभागले अनुमति नवीकरण नगरेका कारण सवारीसाधनलाई दिइने अस्थायी पास हालका लागि बन्द भएको छोटी भन्सार कार्यालयले जनाएको छ ।
अस्थायी पैठारीका लागि समय थप्न परिपत्र गरिए पनि विभागबाट कुनै जानकारी नआएको छोटी भन्सारले जनाएको छ ।
१९ वैशाखदेखि १६ पुससम्म सवारीसाधनको अस्थायी पासबाट छोटी भन्सारले १० लाख १९ हजार रुपैयाँ राजस्व संकलन गरेको छोटी भन्सारले जनाएको छ ।
छोटी भन्सारबाट सवारीसाधनको अस्थायी पास बाहेक अन्य कारोबार भने यथावत नै रहेको छ ।
भारतीय गाडीहरूको भन्सार काट्न छाडेको खबर पाएपछि ठोरी गाउँपालिकाले सम्बन्धित निकायसँग नवीकरणको प्रक्रिया अघि बढाएको ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले जानकारी दिए ।
छोटी भन्सारबाट भारतीय सवारीसाधनको भन्सार नहुने भएपछि ठोरी नाका भएर नेपाल घुम्न आउने भारतीय पर्यटकहरू निराश भएर फर्किनु परेको ठोरी बजार व्यवस्थापन समितिका अध्यक्ष बलराम सापकोटाले बताए ।
प्रतिक्रिया 4