
१९ पुस, काठमाडौं । पाल्पाको तानसेन नगरपालिकामा वेयरहाउस फाइनान्सिङले गर्दा अदुवा किसानहरू लाभान्वित भएका छन् ।
शुक्रबार तानसेन नगरपालिका र कारितास नेपालको संयुक्त लगानीमा निर्माण भएको वेयर हाउसबारे राजधानीमा एक अन्तरक्रिया कार्यक्रम गरेर जानकारी दिइएको हो ।
वेयरहाउस फाइनान्सिङ एक वित्तीय प्रणाली हो जहाँ भण्डारणकर्ताले वेयर हाउसमा राखिएको कृषि सामग्रीलाई धितो (सम्पत्ति) को रूपमा प्रयोग गरेर वित्तीय संस्थाहरूबाट ऋण सुविधा प्राप्त गर्दछन् ।
तानसेन नगरपालिका र कारितासले बनाएको वेयरहासउमा स्थानीय मिलनसार सामाजिक उद्यमी महिला सहकारी मार्फत अदुवा किसानलाई अदुवा नै धितो राखेर रकम दिन थालिएको हो ।
‘पाल्पा अदुवाको पकेट क्षेत्र नै हो, तर यहाँ उत्पादन हुने अदुवाले सिजनल भाउ नपाउँदा किसानहरू मर्कामा थिए, त्यसकारण अहिले वेयरहाउसको कारण किसानले स्टोरेज गर्न पाउँछन् । जुन बेमौसी समयमा निकालेर बेच्दा राम्रो बजार मूल्य पाउने गरेका छन्,’ तानसेन नगरपालिकाका मेयर सन्तोष लाल श्रेष्ठले भने ।
उपप्रमुख प्रतिक्षा सिन्जालीका अनुसार अहिले तानसेन नगरपालिका र आसपासका साना अदुवा किसानहरू लाभान्वित भएको बताइन् ।
अदुवा किसान यज्ञ बस्याल पनि आफूले वेयर हाउसमा भण्डारण गरेर २ महिनापछि अदुवा बेच्दा दोब्बर नाफा भएको सुनाए ।
‘मैले बारीबाट अदुवा निकाल्दा भाउ ९०/९५ रुपैयाँ प्रतिकेजी थियो, त्यो बेला मैले अदुवालाई वेयरहाउसम राखें । त्यसका लागि अदुवा नै धितो राखेर केही पैसा सहकारीबाट लिँए । त्यसको सवा दुई महिना पनि १८० रुपैयाँभन्दा बढीमा बेच्न सफल भए । सहकारीबाट लिएको ऋण पनि तिरेँ,’ बस्यालले सुनाए ।
उनले जस्तै नगरपालिका र कारितास नामक संस्थाले निर्माण गरेको वेयरहाउसमा अदुवा भण्डारण गर्न प्रतिकेजी २ रुपैयाँ लाग्ने गरेको छ ।
उत्पादन हुने बेलामा भण्डारण गर्दा किसानलाई जीविकोर्पाजनका लागि मिलनसार सामाजिक उद्यमी महिला सहकारीले ऋण प्रदान गर्ने गर्दछ ।
‘सहकारीले वेयरहाउसमा स्टोरेज गरेको अदुवालाई धितो मानेर कसरी ऋण दिनसक्छ भनेर कार्यविधि बनाएका छौं । उक्त कार्यविधि अनुसार अदुवा बिक्री नभइन्जलेका लागि ऋण दिन्छौं । त्यसपछि बिक्री भएपनि किसानले सहकारीलाई ऋण फिर्ता गर्छन् । यसका लागि स्थानीय सरकार र सहकारीका सदस्यहरुले पनि निगरानी गर्छन्,’ सहकारीकी अध्यक्ष कमला भण्डारीले भनिन् ।
नीतिगत आवश्यकताबारे छलफल
अन्तर्क्रिया कार्यक्रममा वेयरहाउस फाइनान्सिङकुकानूनी व्यवस्था नहुँदा सञ्चालनको समस्याबारे छलफल भएको थियो । नगरपालिकाले सहकारी मार्फत ऋण प्रवाह गरे पनि दिगो रूपमा संघीय सरकारले नीतिगत व्यवस्था नगर्दा नेपालमा वेयर हाउस फाइनान्सिङको अवधारणाले निकास नपाएको सरोकारवाहरूले बताएका थिए ।
कृषि तथा पशुपन्छि विकास मन्त्रालयकी सह–सचिव सवनम शिवाकोटीले सरकारले कानुनी व्यवस्थाका लागि आन्तरिक रूपमा काम गरिरहेको बताएकी थिइन् ।
प्रतिक्रिया 4