१९ पुस, काठमाडौं । खराब फर्मबाट गुज्रिरहेका नियमित कप्तान रोहितकुमार शर्मालाई टिमबाट बाहिर राखेर अष्ट्रेलियाविरुद्धको पाँचौँ तथा अन्तिम टेष्ट म्याच थालेको भारत पहिलो दिन सामान्य स्कोरमै अलआउट भएको छ ।
अघिल्ला टेष्ट म्याचजस्तै सिड्नी टेष्टमा पनि भारत ब्याटिङ निकै कमजोर देखियो । पहिलो दिन अलआउट भएको खेलमा भारतले जम्मा एक सय ८५ रन मात्र बनाउन सक्यो ।
अस्ट्रेलियाली बलरमध्ये स्कट बोलान्ड, मिचेल स्टार्क र प्याट कमिन्सको घातक बलिङसामू कुनै पनि भारतीय ब्याट्सम्यान लामो समयसम्म खडा हुन सकेनन् ।
भारतीय ब्याटिङ लाइनअप धरासायी बनाउने क्रममा बोलान्डले ४, स्टार्कले ३ र कमिन्सले २ विकेट लिए । भारतका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले सर्वाधिक ४० रन बनाए । ९८ बलको सामना गरेका उनी एक छक्का र तीन चौका प्रहार गरे ।
रवीन्द्र जडेजाले २६, जसप्रित बुमराहले २२, सुभमन गिलले २० तथा विराट कोहलीले १७ रन बनाए । चौथो टेष्टमा शतक प्रहार गरेका नितिशकुमार रेड्डी गोल्डेन डकआउट भए । ओपनर यशस्वी जैसवाल १०, केएल राहुल ४ रन मात्र बनाउन सके ।
भारतलाई अलआउट गरिसकेपछि आफ्नो इनिङ्स सुरु गरेको अष्ट्रेलियाले पनि राम्रो सुरुवात गर्न सकेन । जम्मा नौ रन बनाउँदा एक विकेट गुमाइसकेको छ ।
पाँच टेष्टको शृंखलामा अष्ट्रेलिया २– १ ले अघि छ । यस्तोमा शृंखलाबराबरी गर्न भारतले यो टेष्ट जित्नैपर्ने दबाब छ ।
प्रतिक्रिया 4