२० पुस, काठमाडौं । रश्मीकुमारी घिसिङको ह्याट्रिकमा विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा महिला राष्ट्रिय लिगको सुपर लिगमा बागमती युथ क्लबलाई शनिवार ५-१ ले पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफका लागि रश्मीले ह्याट्रिक गर्दा गीता राना र अनिता केसीले एक-एक गोल गरे । बागमतीका लागि पुष्पाकुमारी खड्काले गोल फर्काइन् ।
जितपछि एपीएफले ३ अंक जोडेको छ । बागमतीको भने यो लगातार दोस्रो हार हो । बागमती पहिलो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी एफसीसँग २-० ले पराजित भएको थियो ।
खेलको छैटौं मिनेटमै रश्मीले गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी थिइन्। १२औं मिनेटमा रश्मीले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारिन् । बागमतीका पुष्पाले १७औं मिनेटमा गोल गर्दै गोल अन्तर कम पारेकी थिइन् ।
तर त्यसपछि एपीएफले तीन गोल थप्यो । २७औं मिनेटमा गीता रानाले गोल गर्दै एपीएफलाई ३-१ को अग्रता दिलाइन् ।
दोस्रो हाफमा एपीएफले दुई गोल थप्यो । रश्मीले ५९औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । त्यसपछि ७०औं मिनेटमा अनिता केसीले गोल गर्दै एपीएफलाई ५-१ को सहज जित दिलाइन् ।
तस्बिर : एन्फा
प्रतिक्रिया 4